विकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य वाधक : मुख्यमन्त्री शाही
सारांश
- सुर्खेत, २ साउन ।
- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको विकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य वाधक रहेको बताएका छन् ।
- भ्रष्टाचार र अनियमितता गर्ने उद्देश्यले योजना निर्माण हुने परम्परा रहेको बताउदै योजना निर्माण र कार्यान्वयनमा जनताको हस्तक्षेप आवश्यक रहेको उनको भनाई छ ।
सुर्खेत, २ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको विकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य वाधक रहेको बताएका छन् । भ्रष्टाचार र अनियमितता गर्ने उद्देश्यले योजना निर्माण हुने परम्परा रहेको बताउदै योजना निर्माण र कार्यान्वयनमा जनताको हस्तक्षेप आवश्यक रहेको उनको भनाई छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिकाको सुवाघाटमा सिमान्तकृत, आदिवासी जनजाति तथा पिछडा समुदायका लागि सौर्य विद्युत प्रणाली हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारणका लागि कर्णाली प्रदेश सरकारले शून्य सहनशीलताको नीति अवलम्वन गरेको बताए ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका कोही नागरिक भूमिहीन भएर बस्नु नपर्ने बताए । सबै किसिमका भूमि समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले शक्तिशाली भूमि आयोग निर्माण गर्ने निर्णय गरेको पनि मुख्यमन्त्री शाहीले जानकारी दिए । “सिमान्तकृत, अल्पसंख्यक, पिछडा वर्गको आफनै आवास निर्माणका लागि सरकारले आवश्यक बजेट सहित मुख्यमन्त्री एकीकृत वस्ती विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।” मुख्यमन्त्री शाहीले भने, “अब तपाईहरु सबैको आफनै घर हुन्छ । कोही पनि बगर र जोखिमपूर्ण क्षेत्रमा टहरा हालेर बस्नुपर्दैन ।”
कार्यक्रममा लोपोन्मुख, सिमान्तकृत समाज उत्थान केन्द्रका अध्यक्ष लालबहादुर राजीले सिमान्तकृत, अल्पसंख्यक, पिछडा समुदायको जिवनस्तरमा परिवर्तन ल्याउन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य विद्युत प्रणाली वितरण गरिएको बताए । लोपोन्मुख, सिमान्तकृत समाज उत्थान केन्दद्वारा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री खडकबहादुर खत्री, प्रदेश सभा सदस्य ठम्मर विष्ट र गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन लगायतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया