विप्लवकाे केन्द्रमा प्रहरीकाे मार्चपास ! प्रकाण्डको घरैमा पुग्याे प्रहरी
सारांश
- कालिकोट, २४ भदाै ।
- कालिकोटस्थित माल्कोटको जंगल भित्रको खुला चौर नेकपाको केन्द्रीयस्तरका ठुला कार्यक्रम हुने मुख्य ठाउँ हो ।
- त्यस ठाउँलाई विप्लव नेतृत्वको नेकपाले आफ्नो राजधानी पनि भन्ने गरेको छ ।
कालिकोट, २४ भदाै । कालिकोटस्थित माल्कोटको जंगल भित्रको खुला चौर नेकपाको केन्द्रीयस्तरका ठुला कार्यक्रम हुने मुख्य ठाउँ हो । त्यस ठाउँलाई विप्लव नेतृत्वको नेकपाले आफ्नो राजधानी पनि भन्ने गरेको छ । त्यही ठाउँमा जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्मासहितको टोलीले आइतवार मार्चपास गरेको छ ।
यसभन्दा अघि निर्वाचनको समयमा समेत त्यहाँ प्रहरीको कुनै पनि टोली जान सकेका थिएनन् । पहिलो पटक डीएसपी बिनोद शर्माको टोलीले त्यही चौरमा मार्चपास गरी सदरमुकाम फर्किएको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी शर्माले आफूहरुले नहरिनाथ गाउँपालिकास्थित कुमालगाउँ इलाका प्रहरी कार्यालयकाो निरीक्षणका साथै प्रकाण्डको घरैमा पुगेर बहिनी र बुवालाई भेटेको बताए ।
उनले त्यस क्रममा सुरक्षा चुनौतीबारे पनि अध्ययन गरी फर्किएको बताए ।
‘प्रकाण्डको गाँउ पुगेर वडाअध्यक्ष तुलराज बिकको घरमा बास बसियो । विप्लवको केन्द्रका रुपमा परिचित उक्त ठाउँमा मार्चपास पनि गरियो’, शर्माले भने ।
१२ जना प्रहरीसहित माल्कोट गएका डीएसपी शर्माले त्यहाँका ९९ प्रतिशत जनता विप्लवको पार्टीमा आवद्ध रहेको भेटिएको बताए । ‘गाउँ नै विप्लवमय रहेछ । नेकपाको केन्द्रीय महाधिवेशन नै माल्कोटमा भएको बुझियो’, उनले भने, ‘नेकपाले जंगलभित्रको त्यो चौरमा सानो घर र स्टेज पनि बनाएका रहेछन् । त्यहीँ ठुला ठुला कार्यक्रम हुने रहेछन् ।’ शर्माले अर्कातिर ठूलै सहिद स्मृति भवन निर्माणको सुरुवात गरेको पाइएको पनि बताए । ‘अहिले त्यो भवनको जग हालेका छन् । एक दिन माल्कोटमा बसेर लालु हुँदै सदरमुकाम आएका छौँ’, शर्माले भने ।
गाँउ गाँउमा राता मान्छे
नेकपाले पार्टी प्रवक्ता पक्राउविरुद्ध केन्द्रदेखि गाउँसम्म कार्यक्रम गरिरहेको छ । गाउँलेहरुलाई रातो झण्डा र रातै पोशाकमा उतारेर विप्लवले विरोध गरिरहहेको हो । नेकपा कालिकोटले केन्द्रीय समितिको निर्देशन अनुसार जिल्लाव्यापी संगठन सदृढ तथा बिस्तार अभियान चलाएको छ । नेकपाका जिल्ला सेक्रेटरी मनीला ऐडी ‘रणदीप’ले पार्टीको संगठन विस्तार अभियान तीब्र गतिमा भइरहेको बताए । उनले भने, ‘गाँउ गाँउमा संगठन निर्माणको काम भइरहेको छ ।’
गाँउमा विप्लवको संगठन बढ्नुका साथै ‘द्वन्द्वकालमा देखिएको रातो पोशाक’ लगाएका मान्छे भेला हुँदा स्थानीय नागरिक त्रसित भएका छन् । फेरि पनि हिंसात्मक आन्दोलनको चपेटामा पर्ने डरले गाउँमा त्रासको वातावरण सिर्जना भएको छ । जिल्लाका कतिपय स्थानिय तहका प्रमुखहरुले समेत नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउको सामाजिक विरोध गरिरहेका छन् ।
प्रतिक्रिया