विश्वकपमा छनोटमा अर्जेन्टिनाको झिनो सम्भावना

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २१, २०७४
|
|
१७ पटक हेरिएको
Shares
विश्वकपमा छनोटमा अर्जेन्टिनाको झिनो सम्भावना

सारांश

  • रियो दी जेनेरियो ।
  • दुईपटकको विजेता अर्जेन्टिनाको आगामी विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।
  • दक्षिण अमेरिकी क्षेत्रको शुक्रबार बिहान खेलिएको छनोट खेलमा पेरुसँग घरेलु मैदानमै गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिनाको विश्वकप यात्रा कमजोर बनेको हो ।

रियो दी जेनेरियो । दुईपटकको विजेता अर्जेन्टिनाको आगामी विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ । दक्षिण अमेरिकी क्षेत्रको शुक्रबार बिहान खेलिएको छनोट खेलमा पेरुसँग घरेलु मैदानमै गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिनाको विश्वकप यात्रा कमजोर बनेको हो । छनोट चरणमा सहभागी १० वटै टोलीले अब एक÷एक खेलमात्र खेल्न बाँकी रहँदा अर्जेन्टिनाले अन्तिम खेलमा आफ्नो जितसँग अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्ने स्थिति उत्पन्न भएको छ ।

दक्षिण अमेरिकी क्षेत्रको छनोटमा सहभागी १० वटा टोलीले एकअर्कासँग होम एन्ड अवेका आधारमा राउन्ड रोविन लिग खेल्नुपर्नेछ । त्यसपछि तालिकाको पहिलोदेखि चौथो स्थानसम्म आउने टोली सीधै सन् २०१८ मा रुसमा आयोजना हुने विश्वकपमा छनोट हुनेछन् । तालिकाको पाँचौं स्थानमा आउने टोलीले भने विश्वकपमा छनोट हुन अन्तरमहादेशीय प्ले अफ खेल्नुपर्ने प्रावधान छ ।

दक्षिण अमेरिकी क्षेत्रबाट ब्राजिल भने यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । सहभागी सबै टोलीले अब एक÷एक खेलमात्र खेल्न बाँकी रहँदा ३८ अंकसहित ब्राजिल पहिलो, २८ अंकसहित उरुग्वे दोस्रो, २६ अंकसहित चिली तेस्रो र समान अंक भएको कोलम्बिया चौथो स्थानमा छन् । २५ अंकसहित पेरु पाँचौं र समान अंक बटुलेको अर्जेन्टिना छैटौं स्थानमा आसीन छन् । २४ अंकसहित पाराग्वे सातौं स्थानमा छ ।

आठौं स्थानमा आसीन इक्वेडर (२० अंक), नवौं स्थानमा आसीन बोलिभिया (१४ अंक) र १०औं स्थानमा आसीन भेनेजुएला (नौ अंक) को भने विश्वकपमा छनोट हुने सम्भावना समाप्त भइसकेको छ । अक्टोबर १० मा हुने अन्तिम चरणको खेलमा ब्राजिलले चिली, अर्जेन्टिनाले इक्वेडर, पाराग्वेले भेनेजुएला, पेरुले कोलम्बिया र उरुग्वेले बोलिभियाको सामना गर्नेछन् ।

सन् १९७८ र सन् १९८६ को विश्वकप विजेता अर्जेन्टिना यसअघि सन् १९७० को विश्वकपमा छनोट हुन सकेको थिएन । विश्वकपमा छनोट हुने सम्भावनालाई कायम राख्न अर्जेन्टिनाले आफ्नो अन्तिम खेल जित्नैपर्ने हुन्छ । कम्तीमा तालिकाको पाँचौं स्थानसम्म आउन सके अर्जेन्टिनाले विश्वकपमा छनोटका लागि न्युजिल्यान्डसँग प्ले अफ खेल्ने अवसर पाउनेछ ।

अर्जेन्टिनाका प्रशिक्षक जोर्गे साम्पाओलीले अर्जेन्टिनाको विश्वकप यात्रा असहज रहे पनि असम्भव भने नभएको बताए । ‘यति बेला हामी निकै अप्ठ्यारो स्थितिमा छौं तर विश्वकपमा छनोट हुने हाम्रो सबै ढोका भने अझै पनि बन्द भइसकेको छैन’, उनले भने । आफ्नो सन्न्यास फिर्ता लिएर राष्ट्रिय टोलीमा फर्किएका बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीका लागि पनि रुस विश्वकप गतिलो अवसर हो । उनले हालसम्म राष्ट्रिय टोलीको तर्फबाट कुनै पनि ठूलो प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् ।
त्यसैले पनि मेसीले यसपटक अर्जेन्टिनालाई विश्वकपमा छनोट गराउन ठूलै प्रयास गर्दै आएका छन् । पेरुविरुद्घको खेलका क्रममा दोस्रो हाफमा मेसीले गरेको एउटा सशक्त प्रहार पोस्टमा लागेको थियो । सन् २०१४ को विश्वकपमा पनि मेसीको टोली अन्तिम समयमा आएर उपाधिबाट चुकेको थियो । त्यति बेला फाइनलमा जर्मनीले अर्जेन्टिनलाई हराएको थियो ।

दक्षिण अमेरिकी क्षेत्रको अन्य छनोट खेलमा बोलिभियाले ब्राजिललाई आफ्नो मैदानमा गोलरहित बराबरीमा रोक्यो भने भेनेजुएलाले पनि घरेलु मैदानमै बलियो प्रतिद्वन्द्वी उरुग्वेलाई गोलरहित बराबरीमै रोक्यो । चिलीले भने घरेलु मैदानमा इक्वेडरलाई २-१ गोलले पराजित गर्‍यो । पाराग्वेले पनि कोलम्बियालाई उसैको मैदानमा २-१ गोलले पाखा लगायो । चिलीका लागि एडुआर्डो भार्गस र एलेक्सिस सान्चेजले एक÷एक गोल गरे । अर्को विजयी टोली पाराग्वेका लागि भने ओस्कर कार्डोजो र एन्टोनियो सानाब्रियाले एक÷एक गोल गरेका थिए । राडामेल फाल्काओले एक गोल गरे पनि उनको टोली कोलम्बियाले हार टार्न सकेन ।

अन्तिम चरणको खेल
(आगामी बुधबार बिहान)
(१) ब्राजिलविरुद्घ चिली
(२) इक्वेडरविरुद्घ अर्जेन्टिना
(३) पाराग्वेविरुद्घ भेनेजुएला
(४) पेरुविरुद्घ कोलम्बिया
(५) उरुग्वेविरुद्घ बोलिभिया

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?