विश्वकप फुटबल २०१८: मेस्सीले कप्तानको आर्मब्याण्ड उतार्दै गर्दा उदायका १९ वर्षीय युवा स्टार

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८: मेस्सीले कप्तानको आर्मब्याण्ड उतार्दै गर्दा उदायका १९ वर्षीय युवा स्टार

सारांश

  • जब लियोनल मेस्सी र केलियन एमबाप्पेले शनिबार राति कजानमा भएको खेलपछि अंकमाल गरे, त्यो हेर्न लायक दृश्य थियो ।
  • सास नै रोकेर हेर्नु पर्ने जस्तो भएको विश्वकप अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सले अर्जेन्टिनामाथि ४–३ को जित निकाल्यो ।
  • मैदानबाट बाहिरिने बेलामा मेस्सी र एमबाप्पेले अँगालो हाले ।

जब लियोनल मेस्सी र केलियन एमबाप्पेले शनिबार राति कजानमा भएको खेलपछि अंकमाल गरे, त्यो हेर्न लायक दृश्य थियो ।

सास नै रोकेर हेर्नु पर्ने जस्तो भएको विश्वकप अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सले अर्जेन्टिनामाथि ४–३ को जित निकाल्यो । मैदानबाट बाहिरिने बेलामा मेस्सी र एमबाप्पेले अँगालो हाले । त्यो क्षण एक खेलाडीबाट अर्कोमा उत्कृष्टताको प्रसार वा सञ्चार जस्तो देखिन्थ्यो ।कजान एरिनामा उपस्थित भएका सबै विश्वकपमा विशेष खेलको साक्षी बनेकोमा दंग पर्दै बाहिरिएका थिए । यो वर्षौँसम्म सम्झिने नकआउट चरणको खेल बनेको छ ।

यो खेलमा एक यस्ता खेलाडी विशेष रुपमा उदाय जसले आफूलाई अबको उत्कृष्ट खेलाडीको रुपमा स्थापित गर्ने संकेत दिए । ती हुन्, फ्रान्सका १९ वर्षे केलियन एमबाप्पे ।

उनले अर्जेन्टिनासँगको खेलमा दुई सुन्दर गोल गरे भने उनकै कारण फ्रान्सले पेनाल्टी पाएको थियो र त्यसमा एन्टोनी ग्रिजम्यानले गोल गरे । एमबाप्पेको उत्कृष्टतामा डिडिएर डेसच्याम्पको प्रतिभाशाली टिम फ्रान्स क्वाटरफाइनलमा पुगेको छ ।

यो खेलले फ्रान्समा विश्वकपको उपाधिसम्म पुग्ने क्षमता छ भन्ने प्रष्ट पारेको छ । २० वर्षपछि फेरि उसले उपाधि उचाल्ने बलियो सम्भावना देखिएको छ ।

एमबाप्पे, जोसँग सबथोक छ


घरेलु मैदानमा भएको विश्वकपमा सन् १९९८ मा फ्रान्सले पहिलो पटक विश्वकपको उपाधि उचाल्दा एमबाप्पे जन्मेका पनि थिएनन् । त्यो बेला इंग्ल्याण्डका माइकल ओवेनले अन्तिम १६ को खेलमा अर्जेन्टिना विरुद्ध सुन्दर गोल गरेर चर्चा बटुलेका थिए । त्यो ठ्याक्कै २० वर्षअघिको घटना हो, सन् १९९८ जुन ३० ।

एमबाप्पेले यसपटक अर्जेन्टिना विरुद्ध नै गोल गरेर चर्चा मात्रै होइन आफूलाई प्रमाणित नै गरेको छन् कलिलै उमेरमा ।सन् १९९८ को डिसेम्बर २० मा जन्मिएका एमबाप्पे अहिले मोनाकोबाट पेरिस सेन्ट–जर्मेन, पिएसजीमा लोनमा छन् । उनी यो सिजन १८० मिलियन युरोमा अनुबन्धित हुने तयारीमा छन् । त्यसपछि उनी विश्वको सबैभन्दा महँगो खेलाडीको सूचिमा नेइमार भन्दा पछि दोस्रो स्थानमा रहने छन्।

एमबाप्पेको लय बरदानमा आएको मात्रै होइन, उनको कला, तीब्र सोच्न सक्ने क्षमता, दुई स्पष्ट गोला, कुल हेड, बहादुरी, विश्वास र बललाई जहाँबाट पनि नियाल्न सक्ने आँखाका कारण उनी गोल गर्न सक्ने खेलाडी हुन् ।

इंग्ल्याण्डका पूर्व कप्तान एलन शिएररले भने, ‘सेन्टर फरवाडबाट खेल्ने खेलाडीबाट भएको यो उत्कृष्ट प्रदर्शन हो । १९ वर्षको उमेर यस्तो प्रदर्शन गर्नु त्यो पनि मेस्सी जस्ता खेलाडी रहेको टिमसँगको खेलमा, वास्तवमा यो उत्कृष्ट हो ।’पेरिस नजिकैका एमबाप्पले गएको वर्ष मात्रै राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उनले सन् २०१६–१७ को सिजनमा मोनाकोका लागि ४४ खेलमा २६ गोल गरे । त्यसपछि उनको चर्चा सबैतिर हुन थाल्यो ।

कजानमा उनले गरेको दुई उत्कृष्ट गोलले उनको अनुलनीय क्षमता विश्व सामु देखियो भने अर्जेन्टिनालाई छायामा पार्‍यो ।

सन् १९५८ यता विश्वकपको एक खेलमा दुई गोल गर्ने एमबाप्पे पहिलो किशोर खेलाडी बनेका छन् । सन् १९५८ मा १७ वर्षका पेलेले फाइनलमा स्वीडेन विरुद्ध दुई गोल गरेका थिए ।

एमबाप्पेको तुलना पेलेसँग हुन थालेको छ । यसबारे उनले भनेका छन्, ‘पेले जस्ता महान खेलाडीसँग तुलना गरिँदा खुशी लागेको छ तर उनी अर्कै वर्ग र स्तरका खेलाडी हुन् ।’कजानमा मेस्सीले जब कप्तानको आर्मब्याण्ड उतार्दै थिए, त्यो बेला उनी निराश र थकित देखिन्थे । उनी मैदान तर्फ एक नजर पनि फर्केर नहेरी टनेल हुँदै ड्रेसिङ्ग रुम तर्फ गए ।

त्यसअघि एमबाप्पेसँग अंगालो हालेका थिए । त्यो सायद मेस्सीले आफ्नो उत्कृष्ट एमबाप्पेमा देखेको क्षण थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?