विश्वकप फुटबल २०१८: रगतपछिको हाँसाे र बुइ चढेका मेस्सी
सारांश
- आशले डोर्याएको हुन्छ सायद जीवन ।
- त्यसैले भन्ने गरिन्छ, सास रहुन्जेल आश भइरहन्छ ।
- रुसमा जारी विश्वकप फुटबलमा अर्जेन्टिना समूह चरणको अन्तिम खेलमा यस्तै आशको यात्रामा थियो त्राससहित ।
आशले डोर्याएको हुन्छ सायद जीवन । त्यसैले भन्ने गरिन्छ, सास रहुन्जेल आश भइरहन्छ ।
रुसमा जारी विश्वकप फुटबलमा अर्जेन्टिना समूह चरणको अन्तिम खेलमा यस्तै आशको यात्रामा थियो त्राससहित । बराबरी अनि हार त्यसमाथि समूहमा रहेका अरु टिमको भन्दा खराब गोल अन्तर, सबैले अर्जेन्टिनाको आशमा भय मडारिएको थियो, विश्वकपमा समूह चरणबाटै बाहिरिने पो हो कि भन्ने ।
तर मंगलबार रातिको खेलमा आशलाई भय होइन अर्को सपनाको बाटो बनाउने माध्यमको रुपमा आयो । अर्जेन्टिनाले मुस्किल घडीमा कठिन तर अत्यावश्यक र महत्वपूर्ण जित निकाल्यो ।
अफ्रिकी देश नाइजेरियालाई २–१ ले हराएको अर्जेन्टिनाले पुग्दैन कि भन्ने डरलाई चिरेर अन्तिम १६ मा स्थान बनायो ।
मेस्सी जस्तै उनको गोल
दुई पटकको विश्व विजेता अर्जेन्टिना खेलको समय साँघुरिँदै जाँदा घर फर्किने भयो यत्तिकै भन्ने पल्ला भारी देखिएको थियो । तर धेरैले त्यति ख्याल नगरेका वा नजरमा नपरेका ‘अनलाइकली हिरो’ बनेर उदाय मार्कस रोजो ।
उनले खेल १–१ को बराबरी भएको र अन्तिम १६ को यात्राका लागि जित अत्यावश्यक रहेको अवस्थामा अर्जेन्टिनाका लागि विजयी गोल गरे ८६ औँ मिनेटमा ।
त्यसअघि खेलको १४ औँ मिनेटमा स्टार स्ट्राइर लियोनल मेस्सीले निकै सुन्दर गोल गरेका थिए । उनको गोलबाट अर्जेन्टिनाले अग्रता लियो । मेस्सीले यो विश्वकपमा पहिलो गोल गरे । त्यसलाई निकै भावुक भएर सेलिब्रेट गरे ।
मेस्सीको गोलबाट अग्रता लिएको अर्जेन्टिनाका लागि दोस्रो हाफको सुरु तिरको समय खराब बनेर आयो । दोस्रो हाफमा थप ‘इनटेन्स’ बनेको खेलमा जाभिएर मास्चेरानोको गल्तीका कारण नाइजेरियाले पेनाल्टी पायो ।
५१ औँ मिनेटमा भिक्टर मोसिसले नाइजेरियाका लागि बराबरी गोल फर्काए र अघिल्लो चरण प्रवेशको सम्भावना आफ्नो पक्षमा ल्याए ।
रगतपछिको हाँसाे र बुइ चढेका मेस्सी
मोसिसको गोलपछि फेरि समस्यामा आएको अर्जेन्टिनाका लागि खेलमा स्पष्ट जित आवश्यक थियो । र यो कुरा टिमका सबै खेलाडीलाई राम्रोसँग थाहा थियो, यस्तै समर्थकलाई पनि ।
आफ्नो गल्तीका कारण टिमले गोल खाएको पीडा त मास्चेरानोमा थियो । त्यसमाथि अर्को पीडा उनको आँखाको कुना पट्टिको भागबाट रगत बगिरहेको थियो । गालाभरि रगत थियो तर उनले खेल्न छोडेनन् ।
निर्धारित ९० मिनेटको समय सकिन मात्रै चार मिनेट बाँकी थियो, रंगशालाभरि अर्जेन्टिनाका फ्यानको हुटिङ्ग विशाल ध्वनीमा गुञ्जियो । मार्कस रोजोले सुन्दर गोल गरे । उनी दौडिए ।
उनको पछि पछि दौडिए कप्तान मेस्सी अनि भेट्टाए र पछिबाट रोजोको बुइ चढे र त्यो अत्यावश्यक जितका लागि अत्यावश्यक गोलको निकै भव्य सेलिब्रेसन गरे ।
गुमिसकेको विश्वकप यात्रामा अर्जेन्टिना फर्कियो । मेस्सी फर्किए अनि टिमका सबै खेलाडी र विश्वभर रहेका आकाशे निलो र सेतो रंग मिसिएको जर्सीका फ्यानहरु पनि ।
ठूलो राहत
टिमलाई यो विश्वकपमा ल्याउनका लागि मेस्सीको भूमिका सबैभन्दा महत्वपूर्ण छ । दक्षिण अमेरिकी क्षेत्रको छनौटको अन्तिम खेलमा इक्वेडरसँगको खेलमा उनले गरेको ह्याट्रिककै कारण अर्जेन्टिनाले रुस यात्रा तय गरेको हो ।
तर सुरुमा विश्वकप सुरु भएदेखि मेस्सीको दिन खराब चल्यो । आइसल्याण्डसँगको पहिलो खेलमा उनी पेनाल्टीमा चुके र अरु गोलका राम्रा अवसरहरुमा पनि ।
दोस्रो खेलमा क्रोएसियासँग ३–० को हारमा पनि उनले केही गर्न नसकेको आरोप लाग्यो । प्रशिक्षक जर्ज साम्पाओलीले मेस्सीको गल्ती नरहेको भन्दै आफूले माफी मागे । धेरै कथा बने, धेरै कुराहरु गरिए ।
तर समूहचरणको अन्तिम खेलमा उनी आफ्नो उत्कृष्ट लयमा देखिए । सुन्दर गोल गरे । तर उनको गोलमात्रै जितका लागि निर्णायक बन्न सकेन । उनलाई साथ दिने सारथी बनेर आएर रोजो ।
दोस्रो हाफमा मैदान छिर्ने बेला मेस्सीले भनेका केही कुराको राम्रो असर सायद रोजोमा थियो । उनले गोल गरे ।
खेलपछि मेस्सीले रोजोको गोल र टिमको जित सबैका लागि ठूलो राहतको कुरा रहेको बताएका छन् । अप्ठ्यारोमा रहेका बेला यो जितले आफूहरुलाई अर्को सपना देख्न सक्ने बनाएको मेस्सीको भनाईको आशय थियो ।

Shree Ram
1gol four misse