विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी
सारांश
- बीबीसी।
- विश्वभरि दश लाखभन्दा बढि कोरोनाभाइरसका घटना पुष्टि भएको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ।
- भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहँदा यस तथ्याङ्कलाई एउटा क्रूर सीमा नाघेको रूपमा चित्रण गरिएको छ।
बीबीसी। विश्वभरि दश लाखभन्दा बढि कोरोनाभाइरसका घटना पुष्टि भएको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ।
भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहँदा यस तथ्याङ्कलाई एउटा क्रूर सीमा नाघेको रूपमा चित्रण गरिएको छ।
त्यो भाइरसका कारण अहिलेसम्म ५१ हजारभन्दा बढि मानिसको मृत्यु भएको छ भने दुई लाख आठ हजारभन्दा बढि सङ्क्रमित निको भएर घर फर्केका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको यस तथ्याङ्कभन्दा पनि उच्च सङ्ख्यामा सङ्क्रमितहरू रहेको हुनसक्ने ठानिएको छ।
सङ्क्रमितको सङ्ख्या पहिलो एक लाख पुष्टि हुन झण्डै डेढ महिना लागेको थियो।
तर गत एक सातामै सङ्क्रमितको सङ्ख्या दोबर भएर त्यो दश लाख पुग्यो।
कोरोनाभाइरसबाट जोगिन दुई मिटर दूरी कसरी राख्ने?
अमेरिकामा सबैभन्दा धेरै सङ्क्रमित पाइएका छन् भने मृत्युको सङ्ख्या इटलीमा उच्च छ।
झण्डै एक चौथाइ सङ्क्रमण अमेरिकामा पुष्टि भएका छन् भने युरोपमा आधाजसो सङ्क्रमित छन्।
पछिल्लो अवस्था के छ?
बिहीवार स्पेनमा २४ घण्टाभित्रै ९५० जना मानिसहरूले ज्यान गुमाएका थिए।
उक्त सङ्ख्या एकै दिनमा कुनै पनि देशमा भएको सङ्क्रमितको अहिलेसम्मकै उच्च मृत्यु हो।
अहिले त्यहाँ पुष्टि भएका सङ्क्रमितहरू एक लाख १२ हजारभन्दा धेरै पुगेका छन्।
अधिकारीहरूले भाइरस अहिले उच्च विन्दूतर्फ पुग्न लागेको बताउँदै त्यो केही दिनपछि कम हुँदै जाने अपेक्षा गरेका छन्।
कोभिड-१९ रोग तीन महिनाअघि मध्य चीनबाट फैलन सुरु भएको थियो।
मृत्यु हुनेको सङ्ख्याका आधारमा इटलीपछि दोस्रो स्थानमा रहेको स्पेनमा झण्डै ९ लाख मानिसहरुले आफ्नो जागिर समेत गुमाएका छन्।
अमेरिकामा बिहीवार बताइए अनुसार त्यहाँको इतिहासमै अहिलेसम्मको उच्च ६६ लाख मानिसहरूले बेरोजगारी सुविधाको लागि दाबी दर्ता गरेका छन्।
रूसमा यसअघिको म्याद थप्दै राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई एप्रिल अन्त्यसम्म कामबाट पर रहन भनेका छन्।
ब्रिटेनका स्वास्थ्यमन्त्री म्याट ह्यानककले एप्रिल अन्त्यसम्म एक लाखको जाँच गर्ने लक्ष्य राखिएको जनाएका छन्।
भारतको आर्थिक केन्द्र मुम्बइमा रहेको एउटा विशाल झुपडीबस्ती धरभीमा कोरोनाभाइरसको पहिलो घटना पुष्टि भएको छ।
एसियाकै सबैभन्दा ठूलो मानिने धरभी झुपडीबस्तीमा दश लाखभन्दा धेरैको सङ्ख्यामा साँघुरो परिवेशबिच मानिसहरू बस्नेगरेका छन्।
प्रतिक्रिया