शर्मिला र डा.केसी

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
३७ पटक हेरिएको
Shares
शर्मिला र डा.केसी

सारांश

  • हाम्रो अनन्य छिमेकी राष्ट्र भारतबाट हामी मनग्य देखासिकि गरिरहेका छौं ।
  • राजनीति, शिक्षा, स्वास्थ, मानवअधिकार, व्यापार, आन्दोलनका तौरतरिकादेखि सामाजिक साँस्कृतिक आदान प्रदानसम्म सर्वत्र प्रभावहरु देखिन्छन् ।
  • नेपालमा शिक्षाको विकास नहुदा कलकत्ताबाट एसएलसी गरिएको ऐतिहासिक विरासत बोकेको शिक्षा प्रणालीदेखि उपचार गर्न दिल्लीमा पुग्नेसम्मको परम्परा छिमेकी मैत्री नै छ ।

हाम्रो अनन्य छिमेकी राष्ट्र भारतबाट हामी मनग्य देखासिकि गरिरहेका छौं । राजनीति, शिक्षा, स्वास्थ, मानवअधिकार, व्यापार, आन्दोलनका तौरतरिकादेखि सामाजिक साँस्कृतिक आदान प्रदानसम्म सर्वत्र प्रभावहरु देखिन्छन् । नेपालमा शिक्षाको विकास नहुदा कलकत्ताबाट एसएलसी गरिएको ऐतिहासिक विरासत बोकेको शिक्षा प्रणालीदेखि उपचार गर्न दिल्लीमा पुग्नेसम्मको परम्परा छिमेकी मैत्री नै छ । राजनीतिक कोर्षमा त भारत चिनेजानेको नेपाली मानक हो ।

भारतको दिल्लीमा चमत्कारिक रुपमा उदयभएका अरविन्द केजरिवालसँग घोषित वा अघोषित तुलना गरि विशेष ‘शक्ति’ निर्माण गर्ने घोषणा गर्दै ’केजरिवाल’ बन्ने सपनासहित पार्टी खोल्ने डाक्टर साहेवदेखि पत्रकारसम्म देखि भोगी आएकै छौं । तर अहिले यो लेख अलि फरक प्रसंगमा भारतमै भएको ’भोक हडताल अभियान’ र त्यसकै ’कपि’ को झलक दिने नेपाली ईपिसोडसँग सम्वन्धित छ ।

भारतको मणिपुरमा सन् १९७२ मार्च १४ मा जन्मेकी ४६ वर्षीया नागरिक अधिकारकर्मी, महिला अधिकारकर्मी एवम् मानव अधिकारकमर्मी इरोम चानु शर्मिला (आईरन लेडि) ले गरेको चर्चित भोक हडतालको प्रसंग हामी नेपालीहरूको लागि पनि स्मरणीय छ । इरोम शर्मिलाले आफ्नो २८ बर्षे उर्जाशिल उमेरमा ‘सशस्त्र बल विशेषाधिकार अधिनियम’ ले भारतको सशस्त्र बललाई असिमित अधिकार दिएको र यसले नागरिक अधिकारलाई कुण्ठित गर्ने हुनाले खारेजीको माग सहित भोक हडताल सुरु गरेकि थिईन । १६ बर्षसम्म लगातार जारि रहेको उनको भोक हडताल उनी ४४ बर्ष पुग्दा अन्त्य भयो । तर त्यो सशस्त्र बल अधिनियम खारेजी भएन ।

शर्मिलाले कैयन रेकर्ड बनाईन । गिरफ्तारी र जेल मुक्तिको श्रृंखलामा विश्व रेकर्ड नै कायम भयो । उनको जीवन रक्षाका लागि ’फोर्स फिडिब’को कुरा आयो । उनलाई ‘नोजल ड्रप्स’ का माध्यमबाट खाना दिने फैसला सदर भयो । नोजल ड्रप्समै शर्मिलाको डेढ दशक जीवन थपियो र उनको हडताल लम्वियो । उनको पक्षमा भारतीय मिडिया मात्रै हैन संसारमै चर्चित सिएनएन बीबीसी जस्ता हेविवेट मिडियादेखि सामाजिक संजालहरु रङ्गिय ।
हरेक जसो राजनीतिक पार्टीका नेताहरूले शर्मिलाको हडतालमा आफ्नो साथ रहेको ओठेभक्ति देखाए । अन्ततः जनीतिक पार्टी खोलेर चुनावमा जाने निर्णयसहित सन २०१६ मा भोक हडतालको अन्त्य र मणिपुर बिधानसभा चुनावमा उम्मेदवारी घोषणा एकसाथ गरेर चुनावमा होमिए कि उनले (विजेताले १८ हजार बढि मत पाउँदा) केवल ९० भोटमात्र पाईन ।

राजनीति सबै सामाजिक प्रणालीको मुख्य केन्द्र हो र अरु सबै प्रणालीहरु राजनीतिका सह-प्रणाली वा उप–प्रणाली हुन भन्ने तथ्यलाई आत्मसाथ गर्ने हो भने शर्मिलाको भोकहडताल ’इश्यु’ अत्यन्तै झिनामसिनाभित्र पर्दछ । भोकहडताल बाटै भारतीय स्वतन्त्रता संग्राममा महात्मा गान्धी ‘बापु’ले सफलता प्राप्त गरेका थिए भन्दैमा सबै परिस्थितिमा भोक हडतालनै अचुक अश्त्र बन्न सक्दैन । बन्चरोले रुख ढाल्छ भनेर दारि खौरन बन्चरो प्रयोगगर्नु हुँदैन ।

यो तथ्य शर्मिलाको भोकहडताल परिघटनाबाट पुष्टि भएको छ । वास्तवमा नत शर्मिलालाइ चर्चामा ल्याउने र उचाल्नेहरुले उनलाई मनबाटै सहयोग गरेका थिए न त उनले उठाएको मुद्दा नै ’खास’ थियो । उनको मुद्दा ’मुरि डुवेको बेला चिम्टि को चिन्ता गर्नु’जस्तै भन्दा पनि हुन्छ । सबै प्रणालीको मुख्य श्रोत रहेको राजनीतिक प्रणाली र त्यसका मुद्दालाई वेवास्ता र अनदेखा गरेर ससाना ईश्युमा मुढेवल गर्नुको औचित्य हुँदैन र यस्तो कामले सार्वजनिक चर्चा, सस्तो लोकप्रियता र आत्मयातना बाहेक केही दिन सक्दो रहेन्छ भन्ने ब्यवाहारतस् देखियो ।

नेपालमा पनि आमहडताल प्रति अलि बढिनै आकर्षण र चर्चा हुने गर्छ । विगत केही वर्षदेखि डा गोविन्द केसीले प्रयोग गरेको भोक हडतालहरुको शृंङ्खला पनि धेरैहदसम्म शर्मिलाको हडतालसंग मिल्दोजुल्दो छन । वास्तवमा डाक्टर साहेवको मुद्दा पनि समग्रताको मापदण्डअनुसार हेर्दा आंशिक छ । स्वास्थ्य क्षेत्र त्यो पनि चिकित्सा अध्ययन गर्ने कलेजमा र ‘चिकित्सा क्षेत्र सुधार’मा सिमित भोक हडताल अति प्रयोग र पुनरावृत आन्दोलन बनिरहेको छ । उनका मागहरु जायज भएर पनि भोकहडतालको अस्त्र भड्किलो छ । शर्मिलाको ‘सशस्त्र बल अधिनियम’ खारेजी र केसीको ‘चिकित्सा क्षेत्र सुधार’ मुद्दाको ’डेप्थमा सिमिलारिटी’ छ ।

हिजो भारतमा शर्मिलालाई जे जस्ता प्रवृत्तिले हडतालका लागि हौसाउथे ती भन्दा फरक प्रवृत्तिहरु केसिका पछि पनि छैनन । केसि हडताल बस्नासाथ माईतिघरमा भाषणगर्न आउने गगन थापा केसिका वास्तविक अभियन्ता होलान ? आशंका छ । मौकामा चौका हान्न आएका हुन भन्ने आक्षेप व्यापक सुनिएको छ । समयक्रममा ’केसिको अभियानले सर्वेाच्च अदालतलाई सडकबाट नाजायज दवाव र गलत चुनौती दिएको’ ठान्ने डा. रामशरण महत र डा. केसि चुनाबमा प्रतिष्पर्धि भएर उठेभने ’केसि अदालतको अवहेलना कर्ता हुन भने म पनि उनैसँग छु मलाई पनि गिरफ्तार गर’ भनेर केसि उचाल्ने गगनले अवश्य रामशरणलाई नै साथ दिनेछन । अनि शर्मिलाले पाएको ९०
भोटकै पुनरावृत्ति केसिमा पनि नहोला र ?

गगनमात्र हैन केजरिवाल बन्ने सपना बुनेका डाक्टर र पत्रकारको पनि असलियत त्यहि हो भन्ने आम गाईगुई छ । केसिको आन्दोलन प्रतिको ऐक्यबद्धता भन्दापनि ’शक्ति निर्माण’ को लालशाले मौका छोप्न चर्काे प्रहशन मा सरिक भएका हुन भनेर आरोप गर्नेहरु प्रशस्तै भेटिन्छन् ।

डा. गोविन्द केसीको आमहडताललाई अदालत सँगको रिस फेर्ने मात्रै हैन केपी ओलीसँग बदला लिन अस्त्रको रुपमा प्रयोग गर्नेहरु पनि मिसिएको प्रतीत हुन्छ । अर्थात धमिलो पानीमा माछा मार्न चाहनेहरुको आआफ्नै दाउ देखिन्छन् । केसीको सत्याग्रह यीसबै लोभीपापी तत्वहरुबाट जोगिन मुस्किल छ शर्मिलाको सत्याग्रह जोगिन नसके जस्तै । आंशिक सवालको जायज माग बोकेर हडतालमा उत्रेका केहि अवसरवादीहरुको दाउपेचबाट जोगिएर सफलतामा पुगुन । यो आम मानिसहरुको चाहना र शुभकामना हो ।

राजनीतिक अस्थिरता र आर्थिक पराधिनताको दुश्चक्रमा रहेको वर्तमान नेपालमा ठुला ठुला ईश्युहरु छन । वैज्ञानिक शिक्षाको अभावमा विद्यार्थी पलायन, प्रतिभा पलायन, मानवश्रम निर्यात, बेरोजगारि, भ्रष्टाचार, डनतन्त्र, कमिशनतन्त्र, कुशासन, राष्ट्रियता माथी अतिक्रमण, गरीबी, महङ्गी, अन्याय, अत्याचार, साँस्कृतिक अतिक्रमण, अशिक्षा, स्वास्थ्यमा खेलवाड, सुचनामा गुमराह आदि आदि ।

यी सबैको एकीकृत ईश्यु छाडेर केवल स्वास्थ्य क्षेत्र त्यो पनि ’चिकित्सा शिक्षा सुधार’ को मुद्दामा भोक हडतालको जारि शृबखलाले शर्मिलाकै पदचिन्ह पछ्याउनबाट जोगिएला र ? जोगिन कठिन छ । त्यसैले मुल सब्लो बनाउने दिशामा लाग्ने कि ! राजनिती नै देशका विभिन्न समस्या र समाधानको नेतृत्व हो । राजनीतिक नेतृत्वमा यो चेत खुलाउन पो मुखरित हुनेकि हजुर ?! नत्र कतिवटा कुलो सब्लो बनाउन फिल्टर जडान गरेर सकिएला र ?

त्यसैले पानीको मुल सब्लो बनाउने अभियानमा लाग्दै स(साना ईश्युमा रुमलिन छाडनुनै आम सचेत नागरिकको दायित्व र कर्तव्य हो । देश र समाज सुधारमा प्रेरित वलिदानि र त्यागको भावनाको महान सोंचलाई भङ्गालोहरुमा रलमलिएर ईरोन शर्मिला बन्न बाट जोगिन सबै सचेत बनौं । केसिलाई हौस्याउने, उचाल्ने तत्वहरु र हौसिने उचालिने आत्मकेन्द्रित
प्रवृत्तिहरुबाट जोगाऔं । धन्यवाद ।

विनोदखण्ड तिमिल्सेना

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?