शेरधन र अष्ठलक्ष्मीः एमालेभित्रै ‘डेञ्जर जोन’मा !
सारांश
- काठमाडौं, माघ १७ ।
- एमालेको भागमा परेका प्रदेश नम्बर १, ३ र ४ का मुख्यमन्त्रीहरुको उम्मदेवारी शीर्षतहैबाट सहमतिमा टुंग्याउन नेतृत्वमाथि दबाव परेको छ ।
- चुनाव गराउँदा पार्टीमा सन्तुलन बिग्रने भन्दै केही पोलिटब्यूरो सदस्यले नेताहरुलाई माथिबाटै सहमति गर्न दबाव दिएका हुन् ।
काठमाडौं, माघ १७ । एमालेको भागमा परेका प्रदेश नम्बर १, ३ र ४ का मुख्यमन्त्रीहरुको उम्मदेवारी शीर्षतहैबाट सहमतिमा टुंग्याउन नेतृत्वमाथि दबाव परेको छ । चुनाव गराउँदा पार्टीमा सन्तुलन बिग्रने भन्दै केही पोलिटब्यूरो सदस्यले नेताहरुलाई माथिबाटै सहमति गर्न दबाव दिएका हुन् ।
मुख्यमन्त्रीको उम्मेद्वार छान्न एमालेभित्रै चुनाव भए प्रदेश १ का शेरधन राई र प्रदेश ३ की अष्टलक्ष्मी शाक्य दुबै जना डेञ्जर जोनमा पर्न सक्ने देखिएको छ । प्रदेश ४ मा पनि पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ दुबैको स्थिति स्पष्ट छैन ।
एमालेले आन्तरिक चुनावबाट मुख्यमन्त्रीको उम्मदेवार छान्ने निचोड निकाले पनि कतिपय नेताले चुनावको साटो सहमति जुटाउन नेतृत्वलाई आग्रह गरेका छन् ।
मंगलबार स्थायी कमिटी बैठकमै पार्टी उपाध्यक्ष तथा ३ नम्बर प्रदेशबाट मुख्यमन्त्री दाबेदार अष्टलक्ष्मी शाक्यका साथै प्रदेश ४ को मुख्यमन्त्री दाबेदार किरण गुरुङलगायतले माथिबाटै मिलाउनु पार्टीको हितमा हुने बताएका थिए ।
एमाले एकताबद्ध छ भन्ने सन्देश दिनका लागि पनि अहिले प्रदेशसभा सांसदहरुलाई गुटमा विभाजित हुने वातावरण सिर्जना नगर्न शाक्यले आग्रह गरेकी थिइन् ।
तर, उपाध्यक्ष शाक्यको प्रस्तावमा झलनाथ खनाल, माधव नेपाललगायतका नेताले सकारात्मक नभएपछि बैठकले सकेसम्म सहमतिमा नेता चुन्ने र सहमति नभए निर्वाचन गराउने निर्णय लिएको हो ।
प्रदेश १ का मुख्यमन्त्रीका दाबेदार भीम आचार्यले खनाल र नेपाललाई चुनावको पक्षमा उभिन दबाव दिएको आशंका एमाले नेताहरुको छ । अनलाइनखबर
प्रतिक्रिया