सत्ताधारी दलका केन्द्रीय नेताहरु प्रहरीको फन्दामा, एमाले–माओवादी केन्द्र तैं चूप मै चूप
सारांश
- काठमाडौं, ८ बैशाख ।
- नेकपा एमालेका युवा नेता दुर्गा तिवारी लगायतको हत्या र अपराधका मुख्य योजनाकार कहलिएका गुण्डानाइके मनोज पुनलाई सघाएको आरोपमा एमाले र माओवादी केन्द्रका विभिन्न संगठनका केन्द्रीय तहका नेताहरु पक्राउ परेका छन् ।
- पार्टी एकता प्रक्रियामा अगाडि बढेका सत्ताधारी यी दुई दलसमर्थित भातृसंगठनका केन्द्रीय नेताहरु प्रहरीको फन्दामा परे पनि एमाले–माओवादी केन्द्र भने तैं चूप, मै चूपको अवस्थामा छन् ।
काठमाडौं, ८ बैशाख । नेकपा एमालेका युवा नेता दुर्गा तिवारी लगायतको हत्या र अपराधका मुख्य योजनाकार कहलिएका गुण्डानाइके मनोज पुनलाई सघाएको आरोपमा एमाले र माओवादी केन्द्रका विभिन्न संगठनका केन्द्रीय तहका नेताहरु पक्राउ परेका छन् । पार्टी एकता प्रक्रियामा अगाडि बढेका सत्ताधारी यी दुई दलसमर्थित भातृसंगठनका केन्द्रीय नेताहरु प्रहरीको फन्दामा परे पनि एमाले–माओवादी केन्द्र भने तैं चूप, मै चूपको अवस्थामा छन् ।
आफ्ना केन्द्रीय नेताहरु पक्राउ परे पनि उनीहरु अहिलेसम्म प्रतिक्रियाविहीन देखिएका छन् । आफ्ना पार्टी तथा संगठनका जिम्मेवार व्यक्ति पक्राउ परेको अवस्थामा पनि सत्ताधारी दुई दलको बोली फुट्न सकेको छैन र उनीहरु किंकर्तव्यविमूढ बनेका छन् । न उनीहरुलाई निष्काशन गरिएको छ, न त पक्राउको विरोध नै गरेका छन् । उनीहरुले पक्राउ परेको विषयमा पार्टीभित्र आन्तरिक छानबिन वा छलफलको विषय समेत नबनेको बताइएको छ ।
दुबै पार्टीका नेताहरु उनीहरुको विषयमा बोल्दा ठिक कि नबोल्दा ठिक भन्ने दोधारमा देखिएका छन् । सामान्य घटनामा समेत विज्ञप्ति निकाल्न हतारिने यी पार्टीहरुले यति गम्भीर विषयमा मुख समेत खोलेका छैनन् । सधै तत्काल आफ्ना धारणा सार्वजनिक गर्ने एमालेका एक नेता पनि यस बिषयमा बोल्न हिच्किचाएको देखिएका छन् ।
मदिरा उद्यमी पक्राउ भएको विषयमा पनि सम्बन्धित व्यवसायी संस्थाले पनि मुख खोल्न सकेका छैनन् । पछिल्लोपटक गुण्डानाइके मनोजलाई सघाएको भन्दै प्रहरीले माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, एमालेसमर्थित युवा संघका केन्द्रीय सदस्य सुजु मल्लसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया