सम्पत्ति बेच्दै चीनका कुनै बेलाका सर्वाधिक धनी व्यक्ति, यस्तो रहेछ कारण
सारांश
- चिनियाँ अर्बपति वांग जियानलिनले आफ्नो देश बाहिरको सम्पत्ति बेचेर चीन भित्रै लगानीको अवसर खोज्ने भएका छन् ।
- कुनै समय संसार भरी आफ्नो व्यवसाय फैलाइरहेका वांग कुनै समय चीनका सर्वाधिक धनी व्यक्ति थिए ।
- सीएनएनले लेखेको समाचार अनुसार वांगले चीन सरकारको दबाब र अन्तर्राष्ट्रिय व्यापारमा हात हाल्दा लागेको ऋणका कारण यस्तो निर्णय लिनु परेको बुझिएको छ ।
चिनियाँ अर्बपति वांग जियानलिनले आफ्नो देश बाहिरको सम्पत्ति बेचेर चीन भित्रै लगानीको अवसर खोज्ने भएका छन् । कुनै समय संसार भरी आफ्नो व्यवसाय फैलाइरहेका वांग कुनै समय चीनका सर्वाधिक धनी व्यक्ति थिए ।
सीएनएनले लेखेको समाचार अनुसार वांगले चीन सरकारको दबाब र अन्तर्राष्ट्रिय व्यापारमा हात हाल्दा लागेको ऋणका कारण यस्तो निर्णय लिनु परेको बुझिएको छ ।
पछिल्लो मंगलवार वांगको रियल एस्टेट र मनोरंजन उपक्रम ‘डालियन वांडा ग्रुप’ले आफ्ना अस्ट्रेलियास्थित केही परियोजनाहरू बेच्न तैयार रहेको जनाएको थियो । अहिले वांग संसार भरी छरिएर रहेको आफ्नो सम्पत्ति बेचेर रकम संकलन गर्दैछन् ।
पछिल्लो हप्ता मात्रै वांडा ग्रुपले लण्डनस्थित लक्जरी होटल परियोजना ‘नाइन एल्म्स’मा रहेको आफ्नो स्वामित्व पाँच करोड डलरमा बेच्ने भनेको थियो । यी सम्पत्ति बिक्रीका घोषणाहरू चीन सरकारले अत्यधिक ऋण लिएर विदेशमा आक्रामक लगानी रोक्न गरेको कडाई पछि भएका हुन् ।
पछिल्लो अगस्ट महिनामा अधिकारीहरूले चिनियाँ कम्पनीहरूको रियल एस्टेट, होटल, मनोरंजन र खेलमा अन्तर्राष्ट्रिय लगानीलाई सीमित तुल्याउने भनेका थिए ।
विज्ञहरूले भनेका छन् चिनियाँ सरकारले विदेशमा लगानीको बाढी नै जान थालेपछि यसले देशको अर्थव्यवस्थामा अस्थिरता ल्याउनसक्ने विषयमा अभिव्यक्त चासोलाई संबोधन गर्न यसो गरेको हो । अधिकारीहरूले आफुहरू चिनियाँ लगानीकर्ताहरूको बढी जोखिम युक्त क्षेत्रमा लगानी नहोस भन्ने चाहिरहेको पनि बताएका छन् ।
वांगको कम्पनी वांडा ग्रुपले लस एंजेल्स, सिकागो, इस्तानबुल जस्ता सहरहरूमा हाइ प्रोफाइल रियल एस्टेटमा ठुलो लगानी गरेको छ त्यस्तै उसको लगानी स्पेनिस फुटबल क्लब एटलेटिको म्याड्रिड र ‘जुरासिक पार्क’ जस्ता सिनेमा बनाउने प्रसिद्ध हलिउड स्टुडिओ ‘लेजेंडरी एंटरटेनमेंट’मा पनि रहेको छ ।
पूर्व सैनिक रहेका वांगले ८० को दशकको अन्त्यतिर व्यापार थालेका थिए । वांडा ग्रुपको वार्षिक समीक्षा बैठकमा बोल्दै वांगले भनेका छन् कम्पनीका ९३ प्रतिशत परियोजनाहरू चीनमै छन् विदेशस्थित परियोजनाहरूको बिक्रीबाट कम्पनी ऋण तिर्न सक्षम हुनेछ ।
सत्तासीन कम्युनिस्ट पार्टीलाई खुसी पारेर व्यापारमा सफल हुन सकिने विचार राख्ने यी अर्बपतिले चीनमै पनि सम्पत्ति बेचेको खुल्न आएको छ । उनले आफ्नो भाषणका दौरान एक दर्जन भन्दा बढी पटक ‘सम्पत्ति हलुको पार्ने’ रणनीति बारे कुरा गरेका थिए जसबाट व्यावसायिक कर्जाबाट मुक्त हुन सकिने उनको तर्क थियो ।
ताजा समाचारहरूमा जनाइए अनुसार पछिल्लो समय सेयर बजारमा उनको कम्पनीका सेयरहरूमा उत्साह देखिन सकिएको छैन ।
प्रतिक्रिया