सुस्ताएकै हाे त ओलीको सुशासन ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०७५
|
|
३७ पटक हेरिएको
Shares
सुस्ताएकै हाे त ओलीको सुशासन ?

सारांश

  • काठमाडौं, १२ असार ।
  • ‘सुखी नेपाली, समृद्ध नेपाल’ प्रधानमन्त्री केपी शर्मा ओलीको यो सपना साकार पार्न चिनियाँ राष्ट्रपति सी जिनपिङदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म आतुर छन् ।
  • नेपालमा पहिलो पटक कम्युनिष्टहरुको बहुमतको सरकार बनेको छ ।

काठमाडौं, १२ असार । ‘सुखी नेपाली, समृद्ध नेपाल’ प्रधानमन्त्री केपी शर्मा ओलीको यो सपना साकार पार्न चिनियाँ राष्ट्रपति सी जिनपिङदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म आतुर छन् । नेपालमा पहिलो पटक कम्युनिष्टहरुको बहुमतको सरकार बनेको छ । राजनीतिक स्थिरताबिना सुशासन र समृद्धि हासिल सम्भव छैन । विगतमा ठूला ठूला राजनीतिक परिवर्तन भएर पनि राजनीतिक स्थिरता नहुँदा भ्रष्टाचारले जरा गाढ्यो । अब त्यो जरा उखेल्ने जिम्मेवारी प्रधानमन्त्री ओलीको काँधमा आएको छ । तर, भ्रष्टाचार न्यूनीकरण गर्ने कदम ओलीले उठाएको अनुभूति जनताले गरेका छैनन् ।

हिजोआज पनि हरेक ठाउँमा सेवाग्राही भ्रष्टाचारको मारमा परेका छन् । जननिर्वाचित स्थानीय निकायमा सबैभन्दा बढी जनतालाई दुःख दिने काम भइरहेको छ । यसले स्थानीय सरकारको शाख गिर्दो छ ।प्रधानमन्त्री ओलीका कुनै पनि भाषणमा समृद्धिका कुरा छुट्दैनन् । तर, सिंहदरबारका कुनै पनि मन्त्रालयमा समृद्धिको संकेत भेट्टाउन गाह्रो छ ।

ओली सिंहदरबार टेकेको चार महिना नाघिसक्दा पनि उनले देशको शासन संयन्त्रमा कुनै तात्विक सुधार ल्याउन सकेका छैनन् । देशका हरेक निकायमा भ्रष्टाचार उस्तै छ, कुशासन यस्तै छ । सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा कुशासनको चक्रब्यूहमा हराउँदै गएको छ, जनतामा सरकारप्रतिको अविश्वास बढ्न थालेको छ । विगता देउवा सरकार टिकाउन दिनरात खटेका मुख्यसचिव लोकदर्शन रेग्मीलाई ओलीले काखी च्याप्नु लज्जाजनक अवस्था हो भनेर कर्मचारीहरुले टिप्पणी गरेका छन् ।

नेपालको इतिहासमा यति बलियो सरकार कहिल्यै बनेको थिएन । साथै देशमा विकास मुहार फेर्न यति राम्रो सुन्दर अवसर पनि सायदै प्राप्त होला । तर, ओली सरकारले त्यो अवसर गुमाउँदै गएको छ । सरकारले भनेको समृद्धिको पूर्वसर्त सुशासन हो । सुशासन ल्याउन शासन प्रणालीमा सुधार गर्न सक्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिला देशको कर्मचारीतन्त्रमा सुधार ल्याउन सक्नुपर्छ । सरकारका योजना कार्यान्वायन गर्ने भनेको कर्मचारीले नै हो ।  ओली सरकारले देशको स्थायी सरकार मानिने कर्मचारीतन्त्रमा थोरै मात्र पनि सुधार ल्याउन सकेका  छै्रन । सकेको भए त्यसको सुरुवात मुख्यसचिवबाट गर्थे होलान् ।

राजनीतिक नेतृत्व कडा रुपमा प्रस्तुत नभई कर्मचारीतन्त्रमा सुधार सम्भव छैन ।  कर्मचारीतन्त्रमा सुधारका लागि सरकारले ठोस पहल पनि गरेको देखिन्न । कर्मचारीतन्त्रमा सुधार ल्याउन राम्रा कर्मचारीलाई प्रोत्साहन तथा गलत कर्मचारीलाई कारबाहीको सिष्टम लागू गर्नुपर्छ । योग्यताका आधारमा नभई आफु निकटताको आधारमा कर्मचारीलाई खटनपटन गर्ने गलत संस्कृति उस्तै छ । क्षमता भएर पनि नेतालाई खुशी बनाउन नसक्ने सयौं कर्मचारी अहिले पनि पीडित छन् । कर्मचारीतन्त्रमा बदनामहरुको हालिमुहाली छ । राजनीतिक हस्तक्षेप उस्तै छ । बालुवाटार धाउने र ओली निकट सल्लाहकारको चाकडी गर्नेहरुको फूर्ति बढ्दो छ ।

नेतृत्वविहीन अख्तियार
राज्यमा सुशासनका लागि ठूलो भूमिका खेल्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो । जुन निकाय पाँच महिनादेखि नेतृत्वबिहीन छ । आयोगमा प्रमुख आयुक्त नियुक्त हुन नसक्दा आयोग सक्रिय हुन सकेको छैन । ठूला मुद्दाहरुको अनुसन्धान थन्किएको छ । ५÷१० हजार घुससहित पक्राउ पर्ने कर्मचारी र नक्कली सर्टिफिकेटधारीमाथि कारबाही बाहेक आयोगले उल्लेख्य काम गर्न सकेको छैन । अकूत सम्पत्तिमा आयोगबाट प्रभावकारी छानबिन हुन नसकेको वर्षाै भइसकेको छ । अकूत सम्पत्तिका सयौं उजुरीहरु तामेलीमा राख्ने काम भइरहेको छ । जसले भ्रष्टाचारलाई प्रश्रय दिएको छ ।
सरकारले कतै नियतबश अख्तियारलाई कमजोर बनाउन खोजेको त होइन भन्ने प्रश्न समेत उठ्न थालिसकेको छ । आयोगलाई कमजोर बनाउनु भनेको कुशासन बढाउनु हो । अर्थात् सरकारलाई नै असफल बनाउनु हो । यो विषय उनका सल्लाहकारले प्रधानमन्त्रीलाई बुझाउन सकेका छैनन् ।

तुलनात्मक रुपमा सरकारमा राम्रा भनेर चिनिएका नेताहरु छन् । तर, सत्तामा पुगेपछि फेरिने रोग यो मन्त्रिमण्डलमा पनि देखिएको छ । मन्त्रीहरुले साना तिना काम गरेर ठूलो प्रचार गरिरहेका छन् । आफैं छापा हान्न जाने तथा यसो गर्छु र उसो गर्छु भनेर चर्का भाषणमै मन्त्रीहरु रमाइरहेका छन् । उनीहरुको मुख्य जिम्मेवारी सिष्टमको सुधार हो । तर, त्यसका लागि कुनै पनि मन्त्री गम्भीर देखिएका छैनन् । प्रधानमन्त्रीले मन्त्रीहरुलाई परिणामुखी कामप्रति प्रोत्साहित गर्न भने पनि मन्त्रीहरु प्रचारमै रमाइरहेका छन् ।

प्रहरीमा पनि उस्तै
प्रहरी प्रशासनमा पनि ओली सरकार चुकेको छ । देशमा कानुन कार्यान्वयन गरेर सुशासनको आधार बनाउने निकाय भनेको नेपाल प्रहरी हो । तर, नयाँ सरकार बनेपछि प्रहरी झन् कमजोर बन्न पुगेको छ । राजनीतिक हस्तक्षेप र कमजोर नेतृत्वका कारण प्रहरीमा नेता निकट भ्रष्ट प्रहरी अधिकारीहरुको हालिमुहाली चलेको छ । जसकारण प्रहरीका राम्रा अधिकृतहरु निराश भएका छन् । जसको असर शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा पर्ने छ ।

न्यायालय क्षेत्रको बिकृति उस्तै छ । राज्यमा सबैभन्दा धेरै घुस चल्ने निकायका रुपमा अदालत बदनाम छ । सेटिङमा मुद्दाको फैसला गर्दा पनि न्यायाधीशमाथि छानबिन नहुने र छानबिन भएपनि कारबाही नहुने प्रवृत्ति न्यायालयमा संस्थागत हुँदै गएको छ । यसको जड भागबण्डाका आधारमा न्यायाधीशको नियुक्त हुुनु हो । जब न्यायाधीश नियुक्तिमा नै चलखेल हुन्छ भने चलखेलका आधारमा नियुक्ति पाएका न्यायाधीशले निष्पक्ष रुपमा फैसला गर्लान् भन्ने अपेक्षा राख्न गाह्रो हुन्छ । अर्काेतर्फ न्यायालय साढे तीन महिनादेखि निमित्तको भरमा चलेको छ । न्यायालयलाई बलियो नेतृत्व दिन नसक्नु र चलखेलका आधारमा फैसला गर्ने न्यायाधीशमाथि कारबाही नहुँदा न्यायलयमा भ्रष्टाचार झन् मौलाउँदै गएको छ ।

प्रधानमन्त्री कार्यालयलाई चुस्त बनाउने भनिएको छ । तर, व्यवहारमा भने केही हुन सकेको छ ।  तर, मन्त्रीहरुले नपत्याएका सचिवहरुलाई थन्काउने कार्यालयका रुपमा प्रधानमन्त्री कार्यालय बनेको छ । त्यहाँ कार्यरत सचिवहरु पनि काम गर्न भन्दा मन्त्रालयमा सरुवा हुने दाउमा हुन्छन् ।  ‘प्रधानमन्त्री नै कहिलेकाहीँ मात्र सिंहदरबार आउनुहुन्छ, के भइरहेको छ, उहाँलाई कुनै चासो छैन’, सबै रिपोर्ट सल्लाहकार विष्णु रिमाललाई दिइरहेका छौं । प्रधानमन्त्री कार्यालयका एक सचिव भन्छन्, ‘यस्तो तरिकाले प्रधानमन्त्री कार्यालय कसरी शक्तिशाली हुनसक्छ ?’

सरकारलाई बलियो बनाउन भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ । तीनै वटा विभाग निकै शक्तिशाली भएपनि अहिले निकम्मा जस्तो देखिएका छन् । प्रधानमन्त्री ओलीले आफू मातहत ल्याएका यी निकायलाई परिचालित गर्न सकेका छैनन् ।

खोई सम्पत्ति शुद्धीकरण ?
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सयौं उजुरीहरु थन्किएका छन् । विभागले वर्षमा जम्मा ५÷७ वटा मात्र मुद्दा चलाउने गरेको छ ।  राजश्व अनुसन्धान विभाग व्यापारीहरुलाई चोख्याउने विभाग बनेको छ । प्रधानमन्त्री कार्यालय मातहत ल्याएपछि विभागको कार्यशैलीमा केही परिवर्तन आएको छैन । कर छल्ने साना व्यापारीविरुद्ध समेत कारबाही हुन सकेको छैन । प्रहरीले पक्राउ गरेर बुझाएका केही व्यक्तिमाथिको अनुसन्धानमा विभाग केन्द्रित छ ।

सरकारको महत्वपूर्ण सफलताका रुपमा यातायात क्षेत्रको सिन्डिकेटको अन्त्य भनिएको छ । तर, जनतामा प्रभाव हुने गरी त्यसको असर केही देखिएको छैन । बरु सरकार बिस्तारै व्यवसायीको दबाबमा झुक्दै गएको छ । कम्पनी दर्ता नगरी समितिहरुमार्फत नै यातायात चलाउने तयारी भइरहेको छ । ठेकदार, एनजिओहरुलाई कारबाही गर्ने भनेर तर्साइएको मात्र छ, कारबाही हुन सकेको छैन । सिष्टममा सुधार नगरेसम्म सरकारले भनेको समृद्धिको सपना साकार हुन सम्भव छैन । तर, कतैपनि सिष्टमा सुधारको प्रयास भएको छैन । जसले सरकारको समृद्धि सपना ओझेलमा पर्दै गएको छ ।

जुन जुन देशले छिटो प्रगति गरेका छन्, सुशासन र सिष्टमबाट त्यसको सुरुवात गरेका छन् । नेपालमा पनि समृद्धिका लागि सायद सुन्दर अवसर कहिल्यै प्राप्त हुने छैन । तर, पनि सरकारले सुशासनमा ‘सु’ पनि सुरु गर्न नसकेको चर्चा सिंहरदबारमा छ ।

अलपत्र सुशासन
दुई तिहाइसहितको बलियो सरकारले पनि देशमा सुशासन सुरु गर्न नसक्नु भनेको वर्तमान सरकार असफल हुनु मात्र होइन देश नै असफल हुनु हो । समृद्धिको सपना देखाउन जति सहज छ त्यसलाई व्यवहारमा उतार्नु निकै गाह्रो छ । सपना र यथार्थबीचको भिन्नता छिट्टै बुझेर प्रधानमन्त्री ओलीले आफ्नो कार्यशैलीमा सुधार ल्याउनु जरुरी छ ।

भन्न त प्रधानमन्त्री ओली दिनको १८ घण्टा खट्छन् भन्छन् । त्यसअनुरुपका परिणाम स्वयं प्रधानमन्त्री ओलीले पनि देखाउन सकेका छैनन् । दिनको १८ घण्टामा १४-१५ घण्टा त उनको समय प्रमुख सल्लाहकार विष्णु रिमाल र विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले गफ गरेर बिताउने गरेको बालुवाटार स्रोत बताउँछ । यतिसम्मकि प्रधानमन्त्रीको चीन भ्रमणमा को–को गए ? तिनको हैसियत के थियो भन्ने कुरा समेत प्रधानमन्त्री ओलीलाई थाहा छैन ।

मुख्य सल्लाहकार विष्णु रिमालले तोकेकै व्यक्तिलाई चीन भ्रमणमा सामेल गर्दा यस्तो स्थिति उत्पन्न भएको हो । १४, १५ घण्टा प्रधानमन्त्रीलाई रिमाल र भट्टराईले घेर्ने हुँदा सरुवा, बढुवादेखि सबै काम यी दुईले बालुवाटारबाटै गर्दै आएको आरोप ओली निकटहरुको छ ।

(दृष्टि साप्ताहिक बाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार गरी कमाउँछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिनेछ : अध्यक्ष लिङदेन
भ्रष्टाचार गरी कमाउँछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिनेछ : अध्यक्ष लिङदेन
राप्रपा राष्ट्रिय अध्यक्षमा डा लोहनी
राप्रपा राष्ट्रिय अध्यक्षमा डा लोहनी
रसियन युवतीलाइ महिला सांसदको सुझाव: विदेशी पुरुषसँग यौन सम्बन्ध नगर्नु
रसियन युवतीलाइ महिला सांसदको सुझाव: विदेशी पुरुषसँग यौन सम्बन्ध नगर्नु
विप्लवकाे राप्ती बन्दले रोल्पाको जनजीवन प्रभावित
विप्लवकाे राप्ती बन्दले रोल्पाको जनजीवन प्रभावित
सगरमाथा चढेको भनेर झुटो दाबी गर्ने भारतीय दम्पती बर्खास्त
सगरमाथा चढेको भनेर झुटो दाबी गर्ने भारतीय दम्पती बर्खास्त
गाईजात्रामा हाँस्य कलाकार : हाम्रो पनि चाहना हो, नेताहरुलाई ब्यङ्ग्य गर्न नपरोस्
गाईजात्रामा हाँस्य कलाकार : हाम्रो पनि चाहना हो, नेताहरुलाई ब्यङ्ग्य गर्न नपरोस्
युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री  बस्नेत
युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री बस्नेत
घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
मकवानपुरमा ३६ हजार भूमिहीन सुकुम्वासी
मकवानपुरमा ३६ हजार भूमिहीन सुकुम्वासी
पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !
पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !