स्थलगत रिर्पोटिङ: के लाप्चीका नागरिक नेपाली होइनन् र ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
स्थलगत रिर्पोटिङ: के लाप्चीका नागरिक नेपाली होइनन् र ?

सारांश

  • सुभक महतो लाप्चीबाट फर्केपछि (दोलखा) ।
  • केही दिनअघि हामी उत्तरी सीमाको यथार्थ बुझ्न चीनसँगको सीमावर्ती क्षेत्र पुगेका थियौं ।
  • त्यहाँको सीमानामा पिल्लर गायव भएको र हाम्रो देशको सरकारको कुनै उपस्थिति नभएको यथार्थ हामीले देखाइसकेका छौं ।

सुभक महतो
लाप्चीबाट फर्केपछि (दोलखा) । केही दिनअघि हामी उत्तरी सीमाको यथार्थ बुझ्न चीनसँगको सीमावर्ती क्षेत्र पुगेका थियौं । त्यहाँको सीमानामा पिल्लर गायव भएको र हाम्रो देशको सरकारको कुनै उपस्थिति नभएको यथार्थ हामीले देखाइसकेका छौं । र, यो श्रृंखलामा हामी त्यहाँसम्मको यात्राका क्रममा देखिएको अर्को कथा लिएर उपस्थित भएका छौं । दोलखाको सुदुर उत्तरमा पर्ने सीमावर्ती बस्तीसम्म पुग्न कति कठिन छ ।

लाप्चीको यात्रा…
हो, यो दोलखाको लामाबगर ।
यतिबेला बिहानको ७ बजेको थियो । लाप्चीका लागि लामाबगरबाट हाम्रो यात्रा सुरू भयो । यही ठाउँमा माथिल्लो तामाकोशी जलविद्युत आजोजना निर्माणधीन छ । त्यही भएर यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका बेस क्याम्प नै छन् ।
माथिल्लो तामोकोशी जलविद्युत् आयोजनाको केही दृश्य क्यामरामा कैद गर्दै हामी अघि बढ्दै थियौं । बाटोमा एकजना भरिया भेट्यौं, जसलाई हामीले उनको गन्तव्यबारे सोध्यौं, जवाफ आयो लाप्ची । हामीलाई पनि लाप्ची जानुपर्ने भएकाले उनीसँग केही कुरा गर्न थाल्यौं । उनले भने, ‘यहाँबाट दुई दिन लाग्छ लाप्ची पुग्न ।’
अब हामी आइपुग्यौं तामाकोशीको ड्याम साइड ।

ड्याम साइडमा यति बेला बाँध निर्माणको अन्तिम चरणको काम भैरहेको छ । यही बाँधको मुनिबाट हामी माथिल्लो भागतर्फ अघि बढ्न थाल्यौं । यहाँ बाँध निर्माण सम्पन्न भएपछि लाप्ची जाने र आउने यो बाटो बन्द हुनेछ ।

र, हामी पनि तामाकोशी भएरै अघि बढ्न लाग्यौं । छेवैमा सुसाइरहेको यो तामाकोशी नदी ।
यही तामाकोशीको किनारैकिनार दुई दिनको पैदल दुरीमा पर्छ लाप्ची गाउँ । जुन यतिबेला बिगु गाउँपालिका वडा नम्बर १ मा पर्छ ।

लामाबगरबाट करिब ४० किलोमिटर पूर्वमा पर्छ लाप्ची । लाप्चीबाट करिब दुई-तीन घण्टाको पैदल दुरीमा नेपाल चीनको सीमवर्ती क्षेत्र । हामीलाई पिल्लर नम्बर ५७ मा पुग्नु थियो । र, त्यहाँको स्थलगत रिपोर्टिङ गर्नु थियो । जुन कुरा हामीले यस अघिको श्रृंखलामा तपाईं दर्शकलाई देखाइसकेका छौं र आज हामी लामाबगरदेखि लाप्चीसम्मको बाटोमा रहेको सास्तीको कथा देखाउँदैछौं ।

यही तामाकोशीको किनारैकिनार हामी अघि बढ्दै गयौं । केही घण्टा हिडेपछि बाटोमा लाप्ची तर्फ गइरहेका भरियाहरू भेटिए । उनीहरूसँगै हामी पनि बाटाका दृश्यहरू आफ्नो क्यामेरामा कैद गर्दै अघि बढ्न थाल्यौं ।

हामी जतिजति माथि उक्लिँदै थियौं, बाटो उति नै खतरापूर्ण थियो । त्यही हामी भरियाहरूको साथ खोजिरहेका थियौं र उनीहरूसँगै बिस्तारै उक्लँदै थियौं ।
यहाँसम्म आइपुग्दा तल्लो भागसम्मको बाटो ठिकै थियो । तर, यो ठाउँबाट नै जोखिमपूर्ण बाटो सुरू भयो । हेर्दै आङ सिरिङ्ग !

काठबाट बनाइएको यो बाटो भन्दा करिब पाँचसय मिटर तल गहिरोमा बगिरहेको छ तामाकोशी । थोरै असावधानीका कारण पनि ज्यान जान सक्ने यो बाटो भएर ओहोरदोहोर गर्दा हामी डरले काँपिरहेका छौं ।

हामी जतिजति माथि तर्फ लाग्दै थियौं बाटो त्यति नै जोखिमपूर्ण त छँदै थियो । दायाँबायाँका दृश्यहरू भने थप मनमोहक थिए । निरन्तर उकालो हिडिरहेकाले गर्मी पनि भइरहेको थियो, । हुन त हामीलाई मनमोहक दृश्यले दुःख भुलाइरहेको थियो । बाटो माथिबाट जतिबेला पनि ढुंगा खस्न सक्ने खतरा थियो ।

बाटोमा कतै मानव बस्ती छैन । त्यही भएर हामी यात्राका क्रममा जेजे कुराको आवश्यकता पर्न सक्छ ती सब बोकेरै हिड्नुको विकल्प छैन । हामी त्यसै ग-यौं । आफैंले बोकेको सातु, सामल खाँदै अघि बढ्यौं ।

साँझ पर्नुअघि हामी लुम्लाङ पुग्नु थियो । जसका लागि अगाडिका बाटा झनै जोखिमपूर्ण भएकाले हतारो थियो । तर, हेर्दै डरलाग्दो बाटोमा यात्राको गति वढाउनु निकै कष्टकर थियो । सानो काठको टेको लगाएर बनाइएका ती पुलहरू जतिबेला पनि भत्किन सक्छन् । त्यसको डर उत्तिकै थियो हामीलाई ।

साँझ पर्न लागेको थियो, हाम्रा आँखाले बास बस्ने ठाउँ खोजिरहेका थिए । र बिचमै एउटा चौरीको गोठ देखियो । गोठमा चौरी भने थिएनन् । हामीलाई यसलाई छाडेर अघि बढ्यौं र केही घण्टाको हिडाइपछि लुम्लाङ आइपुग्यौं ।

“कस्तो बिडम्वना ! यही देशका नागरिक आफ्नै भूमिमा साथमा नागरिकता लिएर, मनभरि देशको माया संगालेर अनागरिकको बनेर जिउन वाध्य छन् । हुन त नागरिकका लागि सोच्ने फुर्सद नै पाउँदैनन् यो देशका शासकहरू । जो जो सत्तामा पुग्छन्, उनीहरूलाई शासनमा रहुन्जेल आफ्नै स्वार्थ ठूलो बनिदिन्छ । त्यसमाथि लाप्चीका नागरिकलाई भूगोलले पनि ठगेको छ । हामी त्यहाँका जनप्रतिनिधि, सरकारी निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छौं, कि, उनीहरूको दैनिकी बदल्न तत्काल पहल थालियोस् ।”

हो, यसभन्दा माथि गएर बास बस्ने ठाउँ छैन र रातिमा लामो यात्रा गर्न संभव छैन । त्यसैले यहीं बास बस्यौं हामी ।

कुनै पनि देशको नागरिक भए बापत उसले त्यो देशबाट केही आधारभूत सेवा सुविधा, पहिचान पाएको हुन्छ । वास्तवमा उसको संरक्षक हुन्छ राज्य । तर, हाम्रो देशमा त्यस्ता कयौं ठाउँहरू छन्, जहाँ मानिसले नागरिक हुनुको अनुभूतिसम्म गर्न पाएका छैनन् ।

दोस्रो दिन…
यो लुम्लाङ ।
यहाँ पुस, माघ र फागुन सहित तीन महिना बस्छन् लाप्चीका नागरिक । यही वर्षको तीन महिनाको लागि यो बस्ती ।

र, यही तीन महिना मात्रै लाप्चीका नागरिकको बाँकी देशसँग सम्पर्क हुन्छ । अनि त्यसपछिको ९ महिना देशसँग सम्पर्क विच्छेद हुन्छ । रिपोर्टिङका लागि हामी लाप्चीतर्फ अघि बढ्दैछौं । हाम्रो यात्राको दोस्रो दिन अर्थात भोलिपल्ट लुम्लाङबाट अघि बढ्दैछौं हामी ।

पहिलो दिनको तुलनामा हाम्रो दोस्रो दिनको यात्रा झनै जोखिम छ । उच्च हिमाली भाग, लेक लाग्नसक्ने संभावना, जंगली जनावरको डर लगायत अनेक खतरा छन् । त्यही भएर हिजोभन्दा आज अलिक छिट्छिटो हिड्नुपर्ने छ । हिजोको तुलनामा आज थकाई पनि लागिसकेको थियो हामीलाई । हामी मनमोहक प्रकृतिसंग साक्षात्कार गर्दै अघि बढ्दै थियौं । त्यतिकैमा १५ वर्षिया पेम्वा तामाङ भेट्यौं । उनी गएको दुई वर्षदेखि लामाबगरबाट लाम्चीसम्म खाद्यान पु¥याउँछन् । अर्थात भारी बोक्छन् । अहिले उनले २० किलो सामान बोकेका छन् । त्यस बापत पेम्वाले प्रतिकिलो ७५ रूपैयाँ पाउँदा रहेछन् ।

उनी अझै भन्दै थिए, ‘हाम्रो लागि पढाईलेखाइ धेरै टाढाको विषय हो । भारी बोक्दैनौं भने कसरी पैसा आउछ र ? घरमा बुवा आमालाई पाल्ने जिम्मेवारी मेरै काँधमा छ ।’
यिनी चाँहि ३० वर्षिय चेतन तामाङ । भारी बोक्न कहिले सुरू गरे उनी आफैंलाई यकिन छैन । तर उनी भन्दै थिए, ‘जहिलेदेखि बुझ्न थालें त्यति बेलादेखि भरिया छु । यहाँको बाटो धेरै जोखिमपूर्ण छ, भारी लिएर जान्छु, फर्केर आउँदिन कि जस्तो लाग्छ । तर, अहिलेसम्म बाँचिरहेछु भगवानको कृपाले । म एकपटकमा ५० किलोसम्म बोक्छु ।’

भारी बोकेर यो बाटोको यात्रा गर्नु कम जोखिमपूर्ण छैन । केही वर्षअघि आफूसँग भारी बोकेर हिंड्ने साथी माथिबाट ढुंगा लागेर तामाकोशीमा पुगेको र अझैसम्म लास नभेटिएको तीतो यथार्थ सुनाउँदै थिए उनी । हामीलाई विचार पु¥याएर हिंड्न सुझाव दिंदै थिए चेतन ।

हो, यस्तै डरलाग्दो छ यहाँको बाटो । यात्राका क्रममा लाप्चीबाट लुम्लाङतर्फ फर्किदै गरेका केही स्थानीय पनि भेट्यौं हामी । उनीहरू भन्दै थिए, निर्वाचनको बेला हरेकपटक नेताहरू बाटो बनाउने कुरा गर्छन् । तर, चुनाव जितेपछि कोही फर्केर आउँदैनन् ।

यसरी हामी लाप्चीतर्फ अघि बढ्दै गर्दा चिसो बढ्दै थियो । छेउछाउमा पानी जमेको थियो ।
लाप्चीका नागरिक आफैले तामाकोशी नदी माथि यसरी काठ राखेर पुल बनाएका छन् । तर, यो कुनै दिर्घकालीन पुल होइन । नदीमा पानीको बहाव बढेसंगै पुल तामाकोशीले बनाइदिन्छ । त्यसपछि यो ठाउँ देशसँगै अलग हुन्छ ।

हो, यसरी तीन ठाउँमा काठे पुल र ९ स्थानमा टेको लगाएर वरिपरि गर्ने डाइभर्सन बनाएका छन्, स्थानीय । जुन मात्र तीन चार महिनाका लागि हो । र त्यही बाटो छिचोलेर हामी गन्तव्य नजिक आइपुग्यौं । यही बीच हामीले लाप्चीमा रहेका गुम्बामा तपस्याका लागि हिडेका केही विदेशी पर्यटकसँग भेट्यौं । उनीहरू आफ्नो रमाइलो, डरलाग्दो अनुभव सुनाउँदै थिए हामीलाई ।
यति बेलासम्म साँझको ६ बज्नै लागेको थियो र हामी आइपुग्यौं दुई दिन पूरा हिडेर लाप्ची ।
हो, उनीहरू यस्तो अवस्थाबाट गुज्रिएका छन् कि, त्यसको बारेमा शहर र सुविधामा रहेकाहरू कल्पनासम्म गर्न सक्दैनन् । हुन त उनीहरू हाम्रो सीमानाको साक्षी र रक्षक बनेर बसिरहेका छन् । तर, राज्यले सीमा रक्षा त परको कुरा उनीहरूको आधारभूत आवश्यकतामा समेत ध्यान दिन सकिरहेको छैन ।

औसत मानिसले कल्पनासम्म गर्न सक्दैनन् त्यहाँको पीडा । यस्तो गाउँ जहाँका नागरिक अहिले निकै वर्ष पहिलेको जस्तो जीवन गुजार्दैछन् । न गाउँसम्म पुग्ने कुनै भौतिक पूर्वाधार छ, न विकासको कुनै आधार । न संचारको कुनै प्रविधि या माध्यम नै ।
ध्यान जाओस्

यही मुलुक भित्र पर्ने एउटा भूभाग । दोलखा जिल्लाको उत्तरी गाउँ लाप्ची । यस्तो ठाउँ, जुन आफ्नै देशसँगको सम्पर्कमा वर्षको ६ महिना भन्दा बढी समय हुँदैन । यो कुनै समान्य कुरा होइन एउटा मुलुकको लागि ।

लाप्चीका नागरिकलाई राज्यको सेवा सुविधामा जोड्नका लागि केके काम भइरहेको छ ? निर्वाचनको बेला सुविधा दिने बाचा गरेका राजनीतिक दलले के गरिरहेका छन् ? यस्तै÷यस्तै प्रश्नको जवाफ खोज्न हामी सुरूमा सिंगटीमा रहेको बिगु गाउँपालिका कार्यालय पुग्यौं । त्यहाँ गाउँपालिकाका उपाध्यक्ष संजीव ओलीलाई भेट्यौं । उनले हामीसँग दुखेसो पोख्दै भने, ‘मन मेरो पनि दुखेको छ ।’ यत्ति भने, ‘लाप्चीका नागरिक नेपाली नै हुन्, त्यो विभेद अन्त गर्ने प्रयासमा छौं हामी ।’

बिगु गाउँपालिकाका उपाध्यक्षको यस्तो जवाफ आएपछि हामी त्यही सयस्या लिएर जिल्ला प्रशासन कार्यालय चरिकोट पुगेर भेट्यौं, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई । उनी त्यहाँ राज्यले केही सुविधा पुर्याउन नसकेको स्वीकार गर्दै त्यहाँको बस्ती व्यवस्थापन नगर्दासम्म केही गर्न नसक्ने प्रतिक्रिया दिए ।

हो, सरकारले यहाँका बारेमा पनि सोच्नैपर्छ । कम्तिमा तत्काल सडक पु¥याउन नसके गोरेटो बाटो भने पनि बनाउनुपर्छ । त्यति मात्रै नभएर सरकारले सञ्चार, शिक्षा, स्वास्थ्य चौकी लगायत नागरिकले पाउने आधारभूत आवश्यकताका कुरा दिन सक्नुपर्छ ।

कस्तो बिडम्वना ! यही देशका नागरिक आफ्नै भूमिमा साथमा नागरिकता लिएर, मनभरि देशको माया संगालेर अनागरिकको बनेर जिउन वाध्य छन् । हुन त नागरिकका लागि सोच्ने फुर्सद नै पाउँदैनन् यो देशका शासकहरू । जो जो सत्तामा पुग्छन्, उनीहरूलाई शासनमा रहुन्जेल आफ्नै स्वार्थ ठूलो बनिदिन्छ । त्यसमाथि लाप्चीका नागरिकलाई भूगोलले पनि ठगेको छ । हामी त्यहाँका जनप्रतिनिधि, सरकारी निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छौं, कि, उनीहरूको दैनिकी बदल्न तत्काल पहल थालियोस् ।

(https://valorhealthcare.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?