हटाइए अतिक्रमित संरचना

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०८०
|
|
३२ पटक हेरिएको
Shares
हटाइए अतिक्रमित संरचना

सारांश

  • चितवन ।
  • भरतपुर महानगरपालिका वडा नं १० स्थित चितवन माविको जमिन अतिक्रमण गरी बनाइएका संरचना आज बिहान भत्काइएको छ ।
  • वडाध्यक्ष परमेश्वर खनालको उपस्थितिमा ३५ टहरा भत्काइएको हो ।

चितवन । भरतपुर महानगरपालिका वडा नं १० स्थित चितवन माविको जमिन अतिक्रमण गरी बनाइएका संरचना आज बिहान भत्काइएको छ । वडाध्यक्ष परमेश्वर खनालको उपस्थितिमा ३५ टहरा भत्काइएको हो ।

उहाँका अनुसार गत दशैँयता यहाँ अस्थायी निर्माण गरी व्यापार– व्यवसाय गरिँदै आएको थियो । पटक पटक सूचना जारी गरी हट्न आग्रह गर्दासमेत अटेर गरेपछि डोजर लगाएर संरचना भत्काइएको उनले जानकारी दिए । वडाध्यक्ष खनालले भन्नुभयो, “ऐन कानुनको कार्यान्वयन गर्नुपर्ने बाध्यता हो । यसलाई सबैले पालना गरेर सहयोग गर्नुपर्छ ।”

यसैगरी हाकिमचोकबाट क्यान्सर अस्पतालतर्फ जाने बाटोको दुवैतर्फ अतिक्रमित १२ संरचना भत्काउन ३५ दिने सूचना जारी गरिएको छ । सूचनाको मिति सकिँदासमेत कसैले नभत्काएकाले आज सात दिनको सूचना जारी गरी अटेर गरेमा भत्काइने उनले जानकारी दिए । उनले भने, “अन्य क्षेत्रमा पनि अतिक्रमण भएका संरचनालाई भत्काइने छ ।”

वडा नं १० भित्रका विद्यालय, अस्पताल, फलफूल पसल, सुपरमार्केट, मासु पसललगायतमा अनुगमनलाई तीव्रता दिइएको छ । वडाध्यक्ष खनालका नेतृत्वमा अनुगमनका क्रममा भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रिएको सामग्री भेटिएको, वैष्णव मिष्ठान्न भण्डारमा एउटै तेल पटकपटक प्रयोग गरिएको पाइएको उनले जानकारी दिए ।

यसैगरी चार मासु पसलमा अनुगमन गर्दा दीपेन्द्र चोकको सन्तोष मासु पसलको फ्रिजमा कुहिएको मासु भेटिएको, वीरेन्द्र क्याम्पस गेट अगाडिको जुस पसलमा आँप पकाउन अखाद्य वस्तु प्रयोग गरिएको पाइएको उनले जानकारी दिए । अन्यलाई सचेत गराइएको छ भने जुस पसल बन्द गराइएको छ ।

यस्तै चितवन मावि र भरतपुर माविमा गरिएको अनुगमनमा शिक्षक ढिला कक्षामा जाँदा विद्यार्थी हल्ला गरेको पाइएपछि समयमा विद्यालय नआउने र ढिलो कक्षामा जाने शिक्षकलाई कारबाही गर्न भनिएको छ ।

केही दिनअघि वडाध्यक्ष खनालको नेतृत्वमा गएको टोलीले भरतपुर अस्पतालको अनुगमन गरी गुनासा सम्बोधन गर्न अस्पताल विकास समिति र प्रशासनलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?