१११ मेगावाटको रसुवागढी परीक्षणको चरणमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०८०
|
|
१७ पटक हेरिएको
Shares
१११ मेगावाटको रसुवागढी परीक्षणको चरणमा

सारांश

  • रसुवा।
  • रसुवामा निर्माण सम्पन्न भएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले शुक्रबारबाट संरचनामा पानी भरेर परीक्षण सुरु गरेको छ।
  • आयोजनाको बाँधस्थलको सफल परीक्षण पश्चात् बालुवा थिग्राउने, पोखरी, सुरुङ, पेनस्टक तथा अन्य उपकरणको प्राविधिक परीक्षण चरणवद्ध रूपमा गर्ने कार्यतालिका रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले बताए।

रसुवा। रसुवामा निर्माण सम्पन्न भएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले शुक्रबारबाट संरचनामा पानी भरेर परीक्षण सुरु गरेको छ।

आयोजनाको बाँधस्थलको सफल परीक्षण पश्चात् बालुवा थिग्राउने, पोखरी, सुरुङ, पेनस्टक तथा अन्य उपकरणको प्राविधिक परीक्षण चरणवद्ध रूपमा गर्ने कार्यतालिका रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले बताए।

कम्पनीले सम्पूर्ण संरचनाको चरणबद्ध रूपमा प्राविधिक परीक्षण गरेपछि व्यापारिक उत्पादनको चरणमा प्रवेश गर्ने उनको भनाइ छ। परीक्षण अवधिभर नदीको पानी छेक्ने र छोड्ने कार्य गरिरहनुपर्ने भएकोले नदीको आसपास कार्यहरू नगर्न कम्पनीले आग्रह गरेको छ।

कम्पनीले सूचना जारी गरी बाँधस्थलको तल्लो तटीय क्षेत्रअन्तर्गत नदीको किनारामा पर्ने स्थानहरूमा पानीको सतह घटबढ भइरहने जानकारी दिएको छ।

आयोजनाको इलेक्ट्रोमेकानिकलको भारतीय कम्पनी भोइथ हाइड्रोले गरेको हो। सिभिल तथा हाइड्रो मेकानिकलको काम चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक ग्रुप, चाइनाले गरेको छ।

आयोजनाबाट यसअघि नै विद्युत् उत्पादन सुरु गर्ने तालिका भएपनि २०७२ सालको विनासकारी भूकम्प, नाकाबन्दी, वर्षायाममा आयोजना क्षेत्रमा आएको बाढी, पहुँचमार्गमा निरन्तर गएको पहिरो, विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले गर्दा उत्पादन तालिका लम्बिँदै गएको कम्पनीले जनाएको छ।

कम्पनीको नयाँ तालिकाअनुसार आयोजनाबाट २०८० चैतभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । यो अवधिभित्र निर्माण सम्पन्न गर्न ब्याज बाहेक १८ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने समयमा कूल १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँमा लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?