५ रुपैयाँमा खाना, १ रुपैयाँमा बास
सारांश
- सडक बालबालिकालाई लक्ष्य गरी निःशुल्क सामूहिक खानाको व्यवस्था गर्दै आएका युवाले समस्या परेकालाई एक रुपियाँमै बासको व्यवस्था मिलाउने भएका छन् ।
- उनीहरूले बढीमा पाँच रुपियाँ दिन सक्नेका लागि पाँच रुपियाँ खानाका लागि र बस्नका निम्ति एक रुपियाँ भने उठाउने गरेका छन् ।
- “मैले सित्तैमा खाना खाएको छैन र बसेको छैन भन्ने अनुभूत होस् भनेर यो रकम लिइने गरेको हो”, यो अभियान सुरु गरेका युवामध्येका एक इलामको चुलाचुली निवासी कुमार राईले बताए, ‘हामी त्यति रकम पनि नहुनेलाई निःशुल्क खाना ख्वाउँछौँ र परेकालाई होटलमा लगेर सुताउँछौँ ।
सडक बालबालिकालाई लक्ष्य गरी निःशुल्क सामूहिक खानाको व्यवस्था गर्दै आएका युवाले समस्या परेकालाई एक रुपियाँमै बासको व्यवस्था मिलाउने भएका छन् । उनीहरूले बढीमा पाँच रुपियाँ दिन सक्नेका लागि पाँच रुपियाँ खानाका लागि र बस्नका निम्ति एक रुपियाँ भने उठाउने गरेका छन् ।
“मैले सित्तैमा खाना खाएको छैन र बसेको छैन भन्ने अनुभूत होस् भनेर यो रकम लिइने गरेको हो”, यो अभियान सुरु गरेका युवामध्येका एक इलामको चुलाचुली निवासी कुमार राईले बताए, ‘हामी त्यति रकम पनि नहुनेलाई निःशुल्क खाना ख्वाउँछौँ र परेकालाई होटलमा लगेर सुताउँछौँ ।” यसरी सङ्कलित रकम सहयोगस्वरूप क्यान्सरपीडितलाई प्रदान गरिने उनको भनाइ छ । पूर्वपश्चिम राजमार्गसँगै रहेको दमक–५ स्थित गोरखा डिपार्टमेन्ट स्टोरअगाडि स्टल बनाइएको छ । बुधबारदेखि सुरु भएको यो अभियान कम्तीमा एक महिना चल्ने जनाइएको छ । हप्तामा एक दिन शनिबार मासुभात ख्वााइने राईले बताए । शनिबार मात्रै बिहान बेलुका गरेर १५ सय जनालाई खाना पकाएर खुवाएको जानकारी उनले दिए ।
सित्तैमा भनेर कतिपयलाई यहाँ आएर खान मन भए पनि खान नआएको देखिएकाले त्यसैका लागि पाँच रुपियाँ मागिएको र यसबाट उठेको रकम दुवै मिर्गौला उपचारमा रहनुभएका इलामका शुक्रराज लिम्बूलाई प्रदान गरिने राईले बताए। लिम्बू हाल मिर्गौलाको उपचार गर्न काठमाडौँमा छन् । दाताहरूले उपलब्ध गराएको चामल, दाल, तरकारीबाट खाना खुवाउन थालिएको र केही होटलसँग समन्वय गरेर बसोबासको व्यवस्था मिलाइएको राईले बताए । यो काम देखेर स्वस्फूर्त रूपमा कसैले चामल, कसैले दाल, कसैले तरकारी र पानी ल्याई दिन थालेको र जति मानिस आए पनि खुवाउन सकिने यसको व्यवस्थापनमा जुटेका युवाले बताएका छन् । गोरखापत्र दैनिकबाट
प्रतिक्रिया