प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक भोलिलाई स-यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०८०
|
|
१९ पटक हेरिएको
Shares
प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक भोलिलाई स-यो

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयकमाथि प्रतिपक्ष दलहरूले विरोध गरेपछि प्रतिनिधिसभाको आजै दोस्रो पटक डाकिएको बैठक भोलिका लागि सरेको छ ।
  • प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयकमाथि प्रतिपक्ष दलहरूले विरोध गरेपछि प्रतिनिधिसभाको आजै दोस्रो पटक डाकिएको बैठक भोलिका लागि सरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो । बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब डेढ घण्टा ढिलो मात्र सुरु भएको थियो ।

बैठक सुरु हुनेवित्तिकै नागरिकता विधेयक प्रमाणीकरण भएको विषय उठाएर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक अवरोध गरेका थिए । प्रतिपक्षको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका थिए ।

तर प्रतिपक्षले विरोध कायमै राख्ने भएपछि आज बस्ने भनिएको बैठक संसद् भोलि सोमबार बिहान ११ बजेसम्मका लागि सरेको हो । सङ्घीय संसद् प्रनिनिधिसभाले सूचना जारी गर्दै बैठक भोलिका लागि सरेको जानकारी गराएको छ ।

नागरिकता विधेयकलाई संसदीय प्रक्रियाबाटै पारित गरिनुपर्ने एमाले, रास्वपा र राप्रपाको माग छ । आजको बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्लेनले नागरिकता विधेयक संसदमा प्रस्तुत गरेर प्रक्रियाबाटै जानुपर्ने धारणा राखेका थिए ।

राष्ट्रियसभाको बैठकमा पनि प्रतिपक्षले यो विषय उठाएपछि आजको बैठक स्थगित भएको छ ।

(mclaneedgers.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?