बुद्धको मूर्ति चोरेको आरोपमा वडाध्यक्ष पक्राउ
सारांश
- काठमाडौं ।
- हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धको मूर्ति चोरेको आरोपमा पक्राउ परेका छन् ।
- उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरेको आरोपमा पक्रेको हो ।
काठमाडौं । हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धको मूर्ति चोरेको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरेको आरोपमा पक्रेको हो ।
शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंको बौद्धबाटै पक्राउ गरेको हो ।
गुरुङ गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा स्वतन्त्रबाट बिजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए ।
शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्घ मूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका–१ का ४१ वर्षीय झ्याम्पाछुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे–फोक्सुण्डो गाउँपालिकाका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई विशेष अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको बौद्धबाटै पक्राउ गरेको थियो ।
वडाध्यक्षको पक्राउ सम्बन्धमा जिप्रका डोल्पाका प्रहरीका अनुसार मूर्ति चोरीको आरोपमा उनी पक्राउ परेको र अनुसन्धानको क्रममा अरु पनि पक्राउ पर्नसक्ने बताए । प्राचीन मूर्ति चोरीको आरोपमा यसअघि नै चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । राहापगुम्बाबाट ४२ थान प्राचीन बौद्ध मूर्ति आठ वर्षअघि नै चोरी भएको गत असोजमा मात्रै स्थानीयवासीले थाहा पाएका थिए ।
प्रतिक्रिया