बिपीपुत्र शशांक कोइराला कांग्रेसका भावी सभापति !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २६, २०८१
|
|
२४ पटक हेरिएको
Shares
बिपीपुत्र शशांक कोइराला कांग्रेसका भावी सभापति !

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसको १४औं महाधिवेशनमा तत्कालीन महामन्त्री डा.
  • शशांक कोइरालाले खुला केन्द्रीय सदस्यमा सर्वाधिक लोकप्रिय मत हासिल गरे।

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा तत्कालीन महामन्त्री डा.शशांक कोइरालाले खुला केन्द्रीय सदस्यमा सर्वाधिक लोकप्रिय मत हासिल गरे।

सभापतिको दाबेदार भए पनि अन्तिम समयमा केन्द्रीय सदस्यमा मात्रै उम्मेदवार बनेका उनले सभापतिमा कसलाई समर्थन गर्ने भन्नेबारे औपचारिक संकेत गरेका थिएनन्।

शशांक ‘मौन’ बसेकै कारण सभापतिमा शेरबहादुर देउवाको निरन्तरता हुन सकेको विश्लेषण कांग्रेस वृत्तमा हुँदै आएको छ। गत संसदीय निर्वाचनपछि कांग्रेस संसदीय दलको निर्वाचनमा शशांकले दलको नेतामा देउवालाई नै मत दिए। त्यतिबेला उनले संसदीय दलको नेतामा डा.शेखर कोइराला उम्मेदवार बने आफूले मत दिने बताएका थिए।

शेखरले महामन्त्री गगन थापालाई दलको नेतामा उम्मेदवार बनाएपछि भने शशांकले देउवालाई मत दिए। दाजु शेखर उम्मेदवार भए संसदीय दलमा सघाउने बताएका शशांक अब भने आफैँ कांग्रेस सभापतिको उम्मेदवार बन्ने संकेत गरेका छन्।

निवर्तमान महामन्त्री शशांकले सोमबार कांग्रेसको बागमती प्रदेश कार्यसमितिले आयोजना गरेको कार्यक्रममा आफू अब सभापतिको चुनाव लड्ने विचारमा रहेको बताए।

बिपी कोइरालाको छोरा भएका कारण पार्टीभित्र र बाहिर सबैले आफूलाई माया गरेको भन्दै शशांकले अब सभापतिको तयारी गर्ने संकेत गरेका हुन्। ‘म बिपीको छोरा भएकाले पनि सबैले सहयोग गर्नुहुन्छ। संसदीय चुनाव पनि धेरैपटक जितिसकेँ।

अब सभापति लड्ने विचार गर्दै छु’, शशांकको भनाइ छ। कांग्रेसको १५औं महाधिवेशन कोइराला परिवारको विरासत जोगाउने अन्तिम अवसरका रूपमा रहने निश्चित छ।

केन्द्रीय राजनीतिमा सक्रिय शशांकभन्दा अगाडि नै दाजु शेखरले आफू सभापतिको स्वाभाविक दाबेदार रहेको बताइसकेका छन्। शेखरको उम्मेदवारीलाई नेतृ सुजाता कोइरालाले समर्थनसमेत गरिसकेकी छन्। यस्तो अवस्थामा शेखर र शशांक दुवै उम्मेदवार बन्ने सम्भावना पनि यथावत रहेको छ।

सार्वजनिक मञ्चहरूमा कोइराला परिवारका नेताहरूले आगामी निर्वाचनमा आफूहरू एकताबद्ध हुने उद्घोष गर्ने गरेका छन्। गत महाधिवेशनमा भने दाजु शेखर सभापतिको उम्मेदवार रहँदा शशांक ‘मौन’ बसेर सदस्यको उम्मेदवार बने भने सुजाता प्रकाशमान सिंहको टिमबाट उपसभापतिको प्रत्यासी रहिन्।

कांग्रेस महाधिवेशनका लागि कम्तीमा डेढ वर्ष बाँकी छँदै भावी नेतृत्वको बहस सुरु भइसकेको छ। सभापति देउवा विधानअनुसार सभापतिको प्रत्यासी बन्न नमिल्ने भएकाले कांग्रेसका नेतृत्व हस्तान्तरण हुने निश्चित छ। यद्यपि, देउवाले कसलाई समर्थन गर्ने हुन् अझै खुलिसकेको छैन।

धेरैले श्रीमती आरजु देउवालाई नै सभापतिको उम्मेदवार बनाउने सम्भावना देखेका छन्। कतिपयले भने विगतदेखिकै सुमधुर सम्बन्धका कारण देउवाको समर्थन शशांकलाई हुनसक्ने पनि उल्लेख गर्छन्। देउवाको निर्णयले कांग्रेस महाधिवेशनमा प्रभाव पर्ने भने निश्चित छ।

अहिले कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का पनि सभापतिको दाबेदार हुन्। विगतमा सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि यो दौडबाट अलग छैनन्। यस्तो अवस्थामा बिपीपुत्र शशांकले पनि आफूलाई उम्मेदवारको रूपमा अघि सार्दा कांग्रेस वृत्तमा नयाँ समीकरण बन्ने र पुराना समीकरणहरू भत्कने सम्भावना देखिन्छ।

‘शशांक कोइरालाको छुट्टै गुट छैन तर सबै गुटका नेताले उहाँलाई माया गर्नुहुन्छ। सबै गुटका साझा बन्नसक्ने खुबी भएका कारण शशांकदाको उम्मेदवारीले विशेष अर्थ राख्नेछ’, शशांकनिकट नेताको भनाइ छ। विगतमा महामन्त्री हुँदा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र सभापति देउवासँग मिलेको आरोप शशांकलाई लाग्ने गरेको थियो। अब भने विगतका आरोपको अर्थ नहुने शशांकका समर्थकहरूको दाबी छ।

सभापतिमा उम्मेदवार बन्नेबारे सार्वजनिक अभिव्यक्ति दिए पनि कोइराला परिवारबाट एकैजना उम्मेदवार बन्नुपर्ने भनी पार्टीभित्र सुरु हुने दबाबलाई शशांक र शेखर दुवैले झेल्नुपर्ने हुन्छ। ‘हिजोजस्तो कोइराला परिवार तीनतिर हुने हो भने कांग्रेसमा उहाँहरूको भविष्य सकिन्छ। अन्तिमसम्म कोइरालाहरू मिलेर जाने सम्भावना टुंगिसकेको छैन’, दुवै कोइरालासँग संगतमा रहेका एक नेताको भनाइ  ।

सभापति देउवाको दोस्रो कार्यकाल विधानतः २०८२ मंसिरमा सकिन्छ। विधानले एक वर्ष विशेष परिस्थितिमा कार्यकाल थप्ने अधिकार दिएको छ।

संविधानले राजनीतिक दलहरूको आवधिक निर्वाचन बढीमा साढे पाँच वर्षसम्म हुनसक्ने व्यवस्था गरेको छ। यही संवैधानिक प्रावधान देखाएर २०८४ वैशाखसम्म आफ्नो कार्यकाल लम्ब्याउने सभापति देउवाको सोच छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?