पोखरामा सक्रिय अन्तर्राष्ट्रिय चोरी गिरोह पक्राउ, चार विदेशीसहित ९ जना नियन्त्रणमा

Asmita-Newsdesk Asmita-Newsdesk
|
मंगलबार, श्रावण ५, २०८३
|
|
७ पटक हेरिएको
Shares
पोखरामा सक्रिय अन्तर्राष्ट्रिय चोरी गिरोह पक्राउ, चार विदेशीसहित ९ जना नियन्त्रणमा

सारांश

  • कास्की प्रहरीले पर्यटकीय नगरी पोखरामा लामो समयदेखि श्रृङ्खलाबद्ध रूपमा ठूला चोरीका घटनामा संलग्न एक  संगठित गिरोहलाई पर्दाफास गर्दै चार विदेशीसहित ९ जनालाई पक्राउ गरेको छ ।
  • जिल्लाको शान्ति सुरक्षालाई चुनौती दिँदै योजनाबद्ध रूपमा क्रियाशील यस अन्तर्राष्ट्रिय गिरोहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले हालै विशेष अपरेसन सञ्चालन गरी नियन्त्रणमा लिन सफल भएको हो ।
  • पक्राउ पर्ने विदेशीहरूमा भारत उत्तर प्रदेशका राहुल निसाद, महाराष्ट्रका सोमनाथ हनुमन्त जाधव तथा चीनका वेन जी र वाङ लिया इन रहेका छन् ।

कास्की प्रहरीले पर्यटकीय नगरी पोखरामा लामो समयदेखि श्रृङ्खलाबद्ध रूपमा ठूला चोरीका घटनामा संलग्न एक  संगठित गिरोहलाई पर्दाफास गर्दै चार विदेशीसहित ९ जनालाई पक्राउ गरेको छ । जिल्लाको शान्ति सुरक्षालाई चुनौती दिँदै योजनाबद्ध रूपमा क्रियाशील यस अन्तर्राष्ट्रिय गिरोहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले हालै विशेष अपरेसन सञ्चालन गरी नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ पर्ने विदेशीहरूमा भारत उत्तर प्रदेशका राहुल निसाद, महाराष्ट्रका सोमनाथ हनुमन्त जाधव तथा चीनका वेन जी र वाङ लिया इन रहेका छन् । उनीहरूलाई नेपाली नागरिकहरू राजकुमार बिक, खिमबहादुर क्षेत्री, अशोक पोखरेल, केशव पाइजा मगर र अनिल बिकले घर देखाउन तथा चोरीका सामान किनबेच गर्न सघाएका थिए । चिनियाँ नागरिकहरूले  ‘रेकी’ (निगरानी) गर्ने, भारतीयहरूले प्रत्यक्ष चोरी गर्ने र नेपालीहरूले सहयोगीको भूमिका निभाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

 यस गिरोहले २०८३ असार महिनामा मात्रै पोखराका हेमराज गिरी, शिवप्रसाद बराल, गिरिधारी श्रेष्ठ, मोहसिन खतामी र हिरामणी लामिछानेको घरबाट लाखौँको धनमाल लुटेको पुष्टि भएको छ । प्रहरीले उनीहरूको साथबाट करिब १५ तोला सुनका ढिक्का, २ लाख ८१ हजार २२० रुपैयाँ नगद, ल्यापटप र ९ थान मोबाइलसहितका सामग्री बरामद गरेको छ ।

पक्राउ परेका सबैमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी वडा प्रहरी कार्यालय बैदाममार्फत विस्तृत अनुसन्धान अघि बढाइएको छ । यसैबीच, कास्की प्रहरीले असार ३२ गते रूपा गाउँपालिकाबाट पोखरा आउँदै गरेको सार्वजनिक बसमा यात्रु अनिता श्रेष्ठको पर्स र सुनको हार चोरी गर्ने रौतहटका गुरुप्रसाद बजगाईं, रविन खड्का र झापाका टेकबहादुर भुजेलको अर्को गिरोहलाई समेत नियन्त्रणमा लिएको छ ।

स्थानीय अपराधीहरू भन्दा बाहिरी जिल्ला र विदेशी नागरिकहरूको संगठित संलग्नता बढ्नुले क्षेत्रमा सुरक्षा संवेदनशीलता थपेको प्रहरी अधिकारीहरूको विश्लेषण छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?