सल्यानको कालिमाटी गाउँपालिकाको कुनै वडामा छैन बिजुली
सारांश
- सल्यान, १७ पुस ।
- सल्यानको कालिमाटी गाउँपालिकामा कुनै पनि वडालाई बिजुली बत्तीले छोएको छैन ।
- बिजुली बत्ती नभएपछि अरु काम त परैको कुरा, सिंगो गाउँपालिकाबासी अन्धकारमा बस्न बाध्य भएका छन् ।
सल्यान, १७ पुस । सल्यानको कालिमाटी गाउँपालिकामा कुनै पनि वडालाई बिजुली बत्तीले छोएको छैन । बिजुली बत्ती नभएपछि अरु काम त परैको कुरा, सिंगो गाउँपालिकाबासी अन्धकारमा बस्न बाध्य भएका छन् ।
सातवटा वडा रहेको कालिमाटीमा बिजुली वत्तीको पहुँच नपुग्दा स्थानीयहरु धेरै कुरामा पछाडि परेका छन् । विद्युत अभावमा गाउँपालिकाका कामकारवाहीहरु झनै प्रभावित देखिएका छन् ।
स्थानीय सरकारको रुपमा रहेको गाउँपालिका कार्यालयले नागरिकलाई सेवा प्रवाह गर्दा विद्युत अभावमा प्रभावकारी हुन नसकेको पाइएको छ भने दैनिक कार्य सम्पादनमा समेत बाधा पुग्ने गरेको छ । कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बिजुली बत्ती नहुँदा उत्पन्न हुने समस्या आफूहरुले झेल्नुपरिरहेको बताए ।
उनले भने “बिजुली नहुँदा कार्यालयमा सञ्चालन हुने हरेक काममा समस्या उत्पन्न हुने गरेको छ । विद्युत अभावकै कारण हाम्रो गाउँपालिका टेलिफोन, इन्टरनेट तथा बैंक सेवाबाट वञ्चित हुनुपरेको छ ।” कतिपयले वैकल्पिक उर्जाको रुपमा सोलार जोडेको भएपनि अझै स्थानीयहरु टुकी बालेर अँध्यारो हटाउनुपर्ने बाध्यतामा रहेको गाउँपालिकाका उपाध्यक्ष सहनशीलता ओलीले बताइन् ।
“गाउँपालिकाबासीलाई कुटान, पिसानदेखि मोबाइल चार्ज गर्न समेत समस्या छ”, ओलीले भनिन्, “गाउँपालिकाको कार्यालयमा पनि कर्मचारीहरुले बिजुली अभावमा काम गर्न कठिनाई हुने गरेको सुनाइरहन्छन् ।”
Yogesh Oli
kaholaa sdki rale khachh hujur