अमेरिकी उपराष्ट्रपति जेरुसेलम पुग्नासाथ दिएको विवादास्पद बयान चर्चामा
सारांश
- अमेरिकी उपराष्ट्रपति माइक पेन्स पूर्वीय क्षेत्र भ्रमणका क्रममा आज जेरुसेलम पुगेको रोयटर्सले बताएको छ ।
- तर जेरुसेलम पुगलगत्तै पेन्सले ‘इजरायलको राजधानी आएकोमा धेरै हर्षित भएको’ भन्ने बयान दिएपछि पुनः विवाद उत्पन्न भएको छ ।
- ट्रम्पसँगको विवादका कारण पहिले देखि नै रुष्ट भइरहेका प्यालेस्टाइन वासीहरु उनको सो बयानपछि झन आक्रोशित बनेको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्स पूर्वीय क्षेत्र भ्रमणका क्रममा आज जेरुसेलम पुगेको रोयटर्सले बताएको छ । तर जेरुसेलम पुगलगत्तै पेन्सले ‘इजरायलको राजधानी आएकोमा धेरै हर्षित भएको’ भन्ने बयान दिएपछि पुनः विवाद उत्पन्न भएको छ । ट्रम्पसँगको विवादका कारण पहिले देखि नै रुष्ट भइरहेका प्यालेस्टाइन वासीहरु उनको सो बयानपछि झन आक्रोशित बनेको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् ।
गत महिना मात्र राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार वार्ताको प्रस्ताव गर्दा पनि प्यालेस्टाइनले अस्वीकार गरिरहेपछि अमेरिकाले प्यालेस्टाइनलाई प्रदान गर्दै आएको आर्थिक सहयोगमा कटौति गर्ने निर्णय सुनाएका थिए । यसैकारण अमेरिका र प्यालेस्टाइनबीच विवाद चर्किरहेकाले उपराष्ट्रपति पेन्स जेरुसेलमसम्म पुगेपनि प्यालेस्टाइनमा भने प्रवेश नगर्ने बताएका छन् ।
भ्रमणका क्रममा शनिबार इजिप्ट पुगेका पेन्सले प्यालेस्टाइन सहमत भएमा दु्ई देशबीचको सबै समस्या सजिलै समाधान गर्न सकिने बताएका थिए । त्यस्तै पेन्सको भनाइसँग सहमत इजरायलका प्रधानमन्त्री नेतानयाहुले पनि उनको बयानमा सहमति जनाउदै अत्याधिक खुसी व्यक्त गरेका हुन् ।
विश्वभर ट्रम्पको फैसलाको कडा आलोचना भएको भएपनि उनको निर्णयले दुई देशबीच निश्चित रुपमा शान्ति स्थापना गराउन सक्ने रहेको पेन्सले बताए । उनले भने, ‘अहिलेको वार्ता र छलफलपछि लामो समयदेखिको विवाद अन्त्य भइ दुवै क्षेत्रमा शान्ति कायम हुन्छ भन्नेमा म आशावादी छु । ’ उता प्यालेस्टाइन सरकारले भने धेरै अघि नै पेन्ससँग कुनै भेटवार्ता नगर्ने घोषणा गरिसकेकाले उनी प्यालेस्टाइन नपुगी फर्किने बताइएको छ ।
प्रतिक्रिया