सफल भैँसीपालक महिला उद्यमी वकी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
४० पटक हेरिएको
Shares
सफल भैँसीपालक महिला उद्यमी वकी

सारांश

  • दाङ, २३ माघ, तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४१ वर्षीया वकी डाँगी व्यावसायिकरूपमा भँैसीपालन गरेर छोटो समयमा एक सफल उद्यमीका रूपमा आफूलाई चिनाउन सफल हुनुभएको छ ।
  • विगत पाँच वर्षदेखि सो पेसा अङ्गालेकी डाँगी अहिले घरपरिवारका दुई सदस्यसहित भँैसीपालनमा संलग्न हुनुहुन्छ ।
  • साथै उहाँले स्थानीय अन्य दुई जनालाई आंशिकरूपमा रोजगारी पनि दिनुभएको छ ।

दाङ, २३ माघ, तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४१ वर्षीया वकी डाँगी व्यावसायिकरूपमा भँैसीपालन गरेर छोटो समयमा एक सफल उद्यमीका रूपमा आफूलाई चिनाउन सफल हुनुभएको छ ।

विगत पाँच वर्षदेखि सो पेसा अङ्गालेकी डाँगी अहिले घरपरिवारका दुई सदस्यसहित भँैसीपालनमा संलग्न हुनुहुन्छ । साथै उहाँले स्थानीय अन्य दुई जनालाई आंशिकरूपमा रोजगारी पनि दिनुभएको छ ।

डाँगी आफ्नो यो पशुपालन पेशाबाट सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वार्षिक करीब रु सात लाख बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।” उहाँको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि शुरु हुन्छ । प्राय भैँसीका पाडापाडीको स्याहार सुसारमा उहाँ धेरै व्यस्त देखिनुहुन्छ ।

परम्परागतरूपमा खेतीपाती गर्दै आएकी डाँगीले विसं २०७० मा शुभ भैँसी फार्म दर्ता गरी व्यावसायिकरूपमा भैँसीपालनको शुरुआत गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “शुरुमा रु एक लाखमा एक उन्नत जातको भँैसी खरीद गरी भैँसीपालन गरेकी हूँ, अहिले फार्ममा साना ठूला गरी १४ वटा भैँसी छन् ।”

अहिले उहाँका फार्ममा सातवटा दुहुना भैँसी छन् । ती भैँसीले दैनिक रूपमा दिने ६० देखि ७० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्नुहुन्छ । केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरीद गरी लिनेगरेको उहाँले बताउनुभयो ।

डाँगीको भैँसी फार्ममा दूध खरीद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौरा निवासी ४३ वर्षीया राधा पाण्डेले आफ्नै घर आँगनमा शुद्ध दूध खान पाइने भएकोले किन्न आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसअघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुशीलागेको छ ।” डाँगीको फार्ममा अहिले सम्म रु २५ लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी हुने गरेको छ ।

आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि रु सात लाख बचत गर्न सफल भएका डाँगीले बताउनुभयो । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरण्नलगायत अन्य सामग्री खरीद गर्दा लागत खर्च बढेको डाँगीले बताउनुभयो ।

“अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन”, डाँगीले भन्नुभयो । कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले उहाँको भँैसी फार्ममा विभिन्न ठाउँबाट भँैसी हेर्न, जानकारी लिन तथा भँैसी खरीदका लागि समेत मानिस आउने गरेका छन् ।

“पढेलेखेका सबैले पैसा कमाउनका लागि जागिर खानै पर्छ या विदेश जानैपर्छ भन्ने छैन”, उहाँको सुझाव छ । पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्छ भन्नुहुन्छ उहाँ । तर त्यसका लागि राज्यले नारामा मात्र सीमित नभई व्यावहारिकरूपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उहाँको धारणा छ । त्यस्तै उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्न सकेमा किसानमा अझै ठूलो हौसला मिल्ने उहाँको अनुभव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?