देउवाले ज्योतिषकै सल्लाहमा आजै बालुवाटार छोड्दै
सारांश
- शिखरन्यूज संवाददाता, काठमाडौं, ४ फागुन – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटार छोड्दैछन् ।
- हिजो बिहीबार देशवासीका नाममा सम्बोधन सहित प्रधानमन्त्री पदबाट राजीनामा दिएका देउवाले आज सरकारीनिवास बालुवाटार छोडेर बूढानीलकण्ठस्थित आफ्नो घरमा जाँदैछन् ।
- देउवाले ज्योतिषको सल्लाहमा शुक्रबार सरकारी निवास छोड्न लागेको श्रोतले बताएको छ ।
शिखरन्यूज संवाददाता, काठमाडौं, ४ फागुन – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटार छोड्दैछन् । हिजो बिहीबार देशवासीका नाममा सम्बोधन सहित प्रधानमन्त्री पदबाट राजीनामा दिएका देउवाले आज सरकारीनिवास बालुवाटार छोडेर बूढानीलकण्ठस्थित आफ्नो घरमा जाँदैछन् ।
देउवाले ज्योतिषको सल्लाहमा शुक्रबार सरकारी निवास छोड्न लागेको श्रोतले बताएको छ । उनले हरेक काममा ज्योतिषको परामर्श लिने गरेका छन् । कांग्रेस सभापति रहेका देउवाले आठ महिना अघि बालुवाटार आउँदा पनि ज्योतिषले भनेकै समय साइत पारेर पसेका थिए ।
नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको सपथपछि उनले सरकारी निवास छोड्न लागेका हुन् । ‘आज बालुवाटार छोडेर उहाँ बूढानीलकण्ठस्थित निजी निवासमा जानुहुन्छ,’ देउवाका प्रेस संयोजक गोविन्द परियारले भने ।
देउवाले हिजो सरकारले गरेका कामको बेलिविस्तार सहित १५ मिनेट लिखित सम्बोधन गरेका थिए । उनले आफ्नो नेतृत्वको सरकार सफल भएको दाबी गरेका थिए । उनले संघीयता कार्यान्वयनका लागि नयाँ ऐन, प्रशासनिक पुनर्संरचनाअनुरूप जनशक्तिको व्यवस्था र अन्य प्राविधिक तयारीलाई तीव्रता दिएको बताएका थिए ।
निर्वाचन आचारसंहिताका कारण सोचेजति विकास निर्माणको काम गर्न नसकेको बताएका थिए । बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने, काठमाडौं–तराई–मधेस द्रुतमार्ग सेनालाई जिम्मा दिएर कार्य सञ्चालन गर्ने, मेलम्ची खानेपानी आयोजनाको कार्य अन्तिम चरणमा पुर्यानउने काम भएको देउवाको सम्बोधनमा उल्लेख छ ।
गृहमन्त्रालयबाट बाँडिने आर्थिक जथाभावी बाँडेको भन्दै उनी आलोचित भएका थिए । ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर ७० वर्षबाट घटाई ६५ वर्ष बनाएका थिए । साथै क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीलगायत जटिल प्रकृतिका दीर्घरोगीलाई आजीवन पाँच हजार जीवन निर्वाह भत्ता दिने, मुलुकी ऐनलाई समयसापेक्ष बनाउने, पुनर्निर्माण अभियानलाई गति दिने काम भएको वक्तव्यमा उल्लेख छ ।
प्रतिक्रिया