घरमै गाडी पुगेपछि उपमहानगरका प्रमुख र वडाध्यक्षहरुलाई फूलमाला
सारांश
- घोराही, २६ चैत्र ।
- घरमै गाडी पुग्ने गरी सडक बनेपछि स्थानीयवासीले नगर प्रमुखसहित वडा अध्यक्षहरु र सदस्यहरुलाई फूलमालाले स्वागत गरेका छन् ।
- घोराही उपमहानगरपालिका– ४ को लक्ष्मीपुर हुँदै तारकेनी सवारीकोट जसपुर जोड्ने सडक निर्माण भएपछि स्थानीयवासीहरुले जनप्रतिनिधहरुलाई फूलमालाले स्वागत गरेका हुन् ।
घोराही, २६ चैत्र । घरमै गाडी पुग्ने गरी सडक बनेपछि स्थानीयवासीले नगर प्रमुखसहित वडा अध्यक्षहरु र सदस्यहरुलाई फूलमालाले स्वागत गरेका छन् । घोराही उपमहानगरपालिका– ४ को लक्ष्मीपुर हुँदै तारकेनी सवारीकोट जसपुर जोड्ने सडक निर्माण भएपछि स्थानीयवासीहरुले जनप्रतिनिधहरुलाई फूलमालाले स्वागत गरेका हुन् ।
वडा कार्यालयको चालु आर्थिक बर्षको बजेट २४ लाख रुपैयाँ र स्थानीयहरुको श्रमदानबाट लक्ष्मीपुरको शिव मन्दिरदेखि तारकेनी, सवारीकोट, जसपुरसम्म मोटरबाटो निर्माण भएको हो । उक्त मोटरबाटोको सोमवार उपमहागरपालिकाका प्रमुख नरुलाल चौधरीले रिवन काटेर उद्घाटन गरेका छन् । लक्ष्मीपुर तारकेनी सवारीकोट गोरक्ष मार्ग निर्माण उपभोक्ता निर्माण समितिका अध्यक्ष रविलाल घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले रिवन काटेर उद्घाटन गरेका हुन् ।
वडा कार्यालयको २४ लाख २० हजार ४ सय ७० रुपैयाँ बजेट विनियोजन भएकोमा कूल २६ लाख २ सय १८ रुपैयाँ खर्च भएको निर्माण समितिका अध्यक्ष घर्तीले जानकारी दिए । सडक निर्माणमा घोराही सिमेन्ट उद्योगले ३ लाख ५० हजार रुपैयाँ बराबरको स्काभेटर काममा लगाएर सहयोग गरेको समितिले जनाएको छ । कूल २९ लाख ५० हजार २ सय १८ रुपैयाँको लागतमा उक्त सडक निर्माण भएको अध्यक्ष घर्तीको भनाई रहेको छ ।
कार्यक्रममा नगर प्रमुख चौधरीले विकासको आधार नै सडक भएको बताए । उनले कुनै पनि विकासका लागि सडक नै पहिलो आवश्यकता भएको भन्दै गाउँगाउँमा सडक सञ्जाल पुगेमात्रै विकासले गति लिने बताए । उपमहानगरभित्रै पनि विकट र पछाडी परेको वस्तीहरु रहेको र ती वस्तीहरुमा आधारभूत आवश्यकताहरुलाई पूरा गर्न उपमहानगर प्रतिवद्ध रहेको समेत जानकारी दिए । वडा सदस्य लिला गोतामेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सदस्य भीमबहादुर कवर योगीले गरेका थिए ।
प्रतिक्रिया