नेपालीहरु यसरी धनी बन्दैछन् …
सारांश
- काठमाडौं – पहिलोपटक नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार अमेरिकी डलर भन्दा बढी पुगेको छ ।
- गत वर्षको तुलनामा यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी एक सय ३८ अमेरिकी डलरले वृद्धि भएको हो।
- मुलुकको कुल ग्राहस्थ उत्पादन ३० खर्ब रुपैयाँमाथि पुगेपछि प्रतिव्यक्ति आम्दानी पनि त्यसै अनुसार बढेको हो ।
काठमाडौं – पहिलोपटक नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार अमेरिकी डलर भन्दा बढी पुगेको छ । गत वर्षको तुलनामा यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी एक सय ३८ अमेरिकी डलरले वृद्धि भएको हो।
मुलुकको कुल ग्राहस्थ उत्पादन ३० खर्ब रुपैयाँमाथि पुगेपछि प्रतिव्यक्ति आम्दानी पनि त्यसै अनुसार बढेको हो । कुल ग्राहस्थ उत्पादनको स्थिर मूल्य वृद्धिदर आधारभूत मूल्यमा ५.८९ प्रतिशत हुने अनुमान गरिएको छ।
भारतीय नाकाबन्दी र त्यसअघिको विनाशकारी भूकम्पका कारण प्रतिव्यक्ति आम्दानी वृद्धि हुन नसक्ने अनुमान गरिएको बेला केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको विवरणमा प्रतिव्यक्ति आम्दानी वृद्धि भएको देखाइएको छ।प्रतिव्यक्ति आम्दानी वृद्धिलाई विज्ञले देशको अर्थतन्त्र सकारात्मक र उत्साहपूर्वक दिशामा अघि बढेको विश्लेषण गरेका छन् ।
विभागका अनुसार यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार चार अमेरिकी डलर ( बुधबारको सटही रेट अनुसार एक लाख पाँच हजार रुपैयाँ) पुगेको छ । अघिल्लो वर्ष प्रतिव्यक्ति आम्दानी आठ सय ६६ अमेरिकी डलर थियो ।आर्थिक वर्ष २०७४÷७५ का राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै विभागका महानिर्देशक सुमनराज अर्यालले गैरकृषि क्षेत्रको आर्थिक क्रियाकलाप वृद्धि हुँदा प्रतिव्यक्ति आम्दानी बढेको बताए । विभागले सार्वजनिक गरेको प्रतिव्यक्ति आम्दानी विवरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्सलाई जोडिएको छैन । रोजगारीमा जाने नेपाली दुई वर्ष भन्दा बढी विदेशमा बस्ने गरेकाले नौ महिनाको अध्ययनमा रेमिट्यान्सलाई नसमेटिएको विभागले जनायो।
अघिल्लो वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीले छ खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका थिए भने चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारीबाट चार खर्ब ७१ अर्ब २६ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्सलाई समेत जोड्ने हो भने प्रतिव्यक्ति आम्दानी एक हजार दुई सय अमेरिकी डलर हाराहारीमा पुग्ने अनुमान गरिएको छ । विभागका तथ्यांक अधिकृत नन्दलाल सापकोटाले प्रतिव्यक्ति आम्दानी वृद्धि हुनुमा आर्थिक गतिविधि वृद्धिको कारण मात्र नभई जनसंख्या वृद्धिदर घटेकाले पनि मद्दत पु¥याएको बताए ।
विभागले प्रतिव्यक्ति आम्दानी वृद्धि भएको जनाए पनि त्यो समग्र जनसंख्यामा हो या सीमित व्यक्तिको मात्र वृद्धि भएको हो भन्नेबारे भने एकिन छैन ।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया