१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आठ दिनपछि घटना सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आठ दिनपछि घटना सार्वजनिक

सारांश

  • काठमाडौं, ५ फागुन – सप्तरीको खड्क नगरपालिका–९ लालपट्टीकी १३ वर्षीया बालिका पार्वतीकुमारी मण्डलको बलात्कारपछि हत्या गरिएको छ ।
  • प्रहरीका अनुसार हत्यामा बालिकाको ठूलोबुबाका छोरा १८ वर्षीय राजदेव मण्डल संलग्न छन् ।
  • शुक्रबार राजविराजमा पत्रकार सम्मेलन गर्दै सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले राजदेवमाथि कारबाही अगाडि बढाइएको बताए ।

काठमाडौं, ५ फागुन – सप्तरीको खड्क नगरपालिका–९ लालपट्टीकी १३ वर्षीया बालिका पार्वतीकुमारी मण्डलको बलात्कारपछि हत्या गरिएको छ । प्रहरीका अनुसार हत्यामा बालिकाको ठूलोबुबाका छोरा १८ वर्षीय राजदेव मण्डल संलग्न छन् ।

शुक्रबार राजविराजमा पत्रकार सम्मेलन गर्दै सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले राजदेवमाथि कारबाही अगाडि बढाइएको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सप्तरीमा चालू आर्थिक वर्ष ०७४-७५ मा २७ वटा बलात्कारका घटना प्रहरीसमक्ष आएका छन् । प्रहरीका अनुसार १७ घटनाको अनुसन्धानपछि १९ अभियुक्तलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ । ती घटनामा संलग्न ३ अभियुक्त भने फरार छन् । १० वटा घटनामा भने आरोपी १० जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको एसपी सिंहले बताए ।

नाबालिका पनि बलात्कृत
छिन्नमस्ता गाउँपालिकाकी दुई वर्षीया नाबालिका बिहीबार बलात्कृत भएको प्रहरीले जनाएको छ । बिहीबार १२ वर्षीय एक बालकले नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारबाट गम्भीर बनेकी बालिकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने घटनामा संलग्न बालकलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको सप्तरीका एसपी मुकेश सिंहले बताए ।

आठ दिनपछि प्रहरीले  गर्‍यो घटना सार्वजनिक
शीतलहरका कारण टाउको दुखेपछि घरैमा सुतिरहेकी बालिकालाई राजदेवले २५ माघमा बलात्कार गरेका थिए । बालिकाकी आमा औषधि किन्न बजार गएको मौका छोपेर उनले बलात्कार गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

ब्ल्याङ्केट ओढेर सुतिरहेकी बालिकालाई राजदेवले मुख थिचेर बलात्कार गरेका थिए । बालिका चिच्याएर गुहार माग्न थालेपछि छातीमा घुँडाले थिच्दै सुरुवालको तुनाले घाँटी बेरेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

परिवारकै सदस्यहरूले सुरुमा घटना लुकाउने प्रयास गरेका थिए । ‘बालिकाको मृत्यु भयो भनेर तत्कालै अन्त्येष्टि गर्न खोज्दा मावली पक्षका एकजनाले शरीर तातै छ, उपचार गराउन लग्नुपर्छ भनेर नजिकैको बजार कल्याणपुरको मेडिकलमा लगेका रहेछन्,’ एसपी मुकेशकुमार सिंहले भने, ‘तर, मेडिकल सञ्चालकले उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि लहान लैजान सिफारिस गर्नुका साथै प्रहरीलाई पनि खबर गरेछन् ।’ बालिकालाई राति ११ बजे नै प्रहरीले अस्पताल लगे पनि उनको ज्यान जोगाउन भने सकेन । बाटोमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले बालिकाको बलात्कार भएको थाहा पाएपछि उनको शव पोस्टमार्टम गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । अनुसन्धानकै क्रममा प्रहरीले २८ माघको साँझ भारततर्फ भाग्ने योजना बनाइरहेको अवस्थामा राजदेवलाई पक्राउ गरेको थियो । पोस्टमार्टमको रिपोर्ट नआए पनि अभियुक्त मण्डलले बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?