पाँच नम्बरका मुख्यमन्त्री पोख्रेललाई भौतिक पूर्वाधार खोज्नै हम्मेहम्मे

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
पाँच नम्बरका मुख्यमन्त्री पोख्रेललाई भौतिक पूर्वाधार खोज्नै हम्मेहम्मे

सारांश

  • काठमाडौं, २८ फागुन ।
  • पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारलाई भौतिक पूर्वाधारको अभाव भएको बताएका छन् ।
  • उनले प्रदेशसभामा विश्वासको मत लिएको भोलिपल्ट पत्रकार सम्मेलन गरी भौतिक पूर्वाधारका अभावले गर्दा सरकारका दैनिक कामसमेत प्रभावित भएको बताएका हुन् ।

काठमाडौं, २८ फागुन । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारलाई भौतिक पूर्वाधारको अभाव भएको बताएका छन् । उनले प्रदेशसभामा विश्वासको मत लिएको भोलिपल्ट पत्रकार सम्मेलन गरी भौतिक पूर्वाधारका अभावले गर्दा सरकारका दैनिक कामसमेत प्रभावित भएको बताएका हुन् ।

मुख्यमन्त्री पोख्रेलले केन्द्रीय सरकारअन्र्तगत सञ्चालित सरकारी निकायहरु अझैसम्म प्रदेश र स्थानीय सरकारको मातहतमा आइनसकेको र कर्मचारी समायोजनमा पनि ढिलाइ हुँदा प्रदेश सरकारको काम प्रभावित भएको उल्लेख गरे । मुख्यमन्त्री पोख्रेलले बुटवलमा जिल्ला र क्षेत्रीय सदरमुकाम नरहेकाले प्रदेश सरकारका लागि आवश्यक भौतिक पूर्वाधार अभाव रहेको स्पष्ट पारे ।

“जिल्ला सदरमुकाम र क्षेत्रीय सदरमुकाम रहेका स्थानमा अस्थायी केन्द्र तोकिएका ठाउँमा भौतिक पूर्वाधारको समस्या छैन तर बुटवलमा दुबै नभएकाले यहाँ सरकारी भवनको पूर्वाधारको अभाव देखिएको छ”, मुख्यमन्त्री पोख्रेलले भने । उनले बुटवलको बसपार्कमा राखिएको सामाजिक विकास मन्त्रालय, हाटबजारनजिकै रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र यातायात व्यवस्था कार्यालय परिसरमा रहेको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका लागि अझै पनि उपयुक्त नभएकाले विकल्पको खोजी गरी सार्न ठाउँ खोजी भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले सकेसम्म बुटवल क्षेत्रभित्रै सरकारी भवनको खोजीमा रहेको बताउँदै विकल्पमा मणिग्राममा रहेको राममणि क्याम्पसको भवनलगायतलाई राखिएको बताए । मुख्यमन्त्री पोखरेलले श्रम कार्यालयको छ तले भवन मुख्यमन्त्री कार्यालयकै लागि अपर्याप्त भएकाले त्यहाँ रहेका तीन मन्त्रालयका लागि पनि ठाउँ खोज्नुपर्ने बाध्यता रहेको बताउँदै भने, “प्रदेश सरकार सकेसम्म बुटवलमै पूर्वाधारको खोजी गर्न कार्यदल बनाएर काम गरिरहेको छ ।”

प्रदेशको स्थायी राजधानीका विषयमा मुख्यमन्त्री पोखरेलले स्थायी राजधानीबारे चर्चा हुनु स्वभाविक भए पनि यसको अन्तिम निर्णय प्रदेशसभाले गर्ने भएकाले उचित समयमा सबैको सहमतिका आधारमा विधि र प्रक्रियाबाटै हल गरिने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ को विकास र समृद्धिको मुख्य आधार कृषिका साथै दीर्घकालीन आधार पर्यटन भएको बताए । उनले यिनै प्राथमिकताका क्षेत्र निर्धारण गरी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट बनाउने बताए । मुख्यमन्त्री पोखरेलले विकासमा सत्ता पक्ष र प्रतिपक्षमा विभाजित नहुन सबैसँग आग्रहसमेत गरे । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकास योजना र कार्यक्रम बनाई प्रदेश नं ५ लाई मुलुककै नमूना र समृद्ध प्रदेश बनाउने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?