उडिरहेको जहाजमा नेपाली यात्रुले यस्तो हर्कत गरेपछि …
सारांश
- काठमाडौं – नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो।
- चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुप-यो।
- काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण ग-यो?
काठमाडौं – नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुप-यो।
काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण ग-यो? सबैको अनुमान– प्राविधिक समस्या भएर होला। तर होइन, दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मोरङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा आकस्मिक अवतरण गराउनुपरेको थियो।
वरिष्ठ क्याप्टेन श्यामकृष्ण ढेवाजू र कोपाइलट सञ्जय बैद्यले उडाएर ल्याएको ‘९ एन–एकेडब्लू’ कलसाइनयुक्त उक्त जहाज दुबईबाट शुक्रबार बिहान ४ बजे काठमाडौंका लागि उडेको थियो।
जब जहाज पाकिस्तान र भारतबीचको सीमामाथि आइपुग्यो, तब रतेलले अरूलाई दुव्र्यवहार गर्न सुरु गरे,’ सम्बद्ध स्रोतले नागरिकसँग भन्यो, ‘नौ नम्बर सिटमा रहेका उनलाई दिइएको खाना अन्य यात्रुमाथि खन्याइदिने मात्र नभई सँगै आएको साथीलाई हातपातसमेत गरे। त्यतिले नपुगेर जहाजकी एक एयरहोस्टेसलाई घचेडेर झन्डै पछारिदिएका थिए।’
रतेलले असामान्य व्यवहार देखाएपछि अन्य यात्रुले पनि जहाजबाट हटाउनैपर्ने गुनासो गरे अनि क्याप्टेन ढेवाजू र कोपाइलट बैद्यले जहाज दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराए र सुरक्षाकर्मी बोलाएर जहाजभित्रैबाट रतेललाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइदिए।
‘रतेलले यति बबाल गरे कि उनलाई काठमाडौंसम्म ल्याउन सक्ने अवस्थै रहेन,’ चालक दलका एक सदस्यले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘उनको असामान्य व्यवहारबाट अन्य यात्रु, चालक दल र जहाजमा समेत क्षति पुग्ने निश्चित भएपछि बाध्य भएर नयाँदिल्लीमा आकस्मिक अवतरण गर्ने निर्णय ग-यौं।’
त्यही जहाजमा रहेका केही यात्रुका अनुसार रतेलले जहाज चढ्नुअघि नै दुबईमा मदिरा पिइसकेका थिए। निगमले भने यो रुटमा यात्रुलाई खानाबाहेक मदिरा दिने गरेको छैन। एयरहोस्टेसले पानी, जुस, खाना, जे दिए पनि रतेलले फ्याँक्न थालेपछि उनीसँग आएका साथीले त्यसो नगर्न भन्दा उल्टै हातपात गरेका थिए। करिब २० मिनेट असामान्य व्यवहार देखाएपछि केही यात्रुले रतेललाई भुइँमा लडाइँ थिचेर दिल्लीसम्म ल्याएका थिए।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया