भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’
सारांश
- काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमणलाई बनावटी बनाउनुभन्दा व्यवहारमै देखाउन थोरै तर महत्वपूर्ण सम्झौता गरेको दाबी गरेका छन्।
- ‘हामीले बाहिर देखाउनकै निम्ति धेरै विषयमा छलफल गरेका छैनौं,’ भारतको राजकीय भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भने, ‘तर जुन विषयमा छलफल भयो ती ऐतिहासिक छन्।
- यिनीहरूलाई कार्यान्वयनमा लैजान दुवै देश गम्भीर भएर लाग्नेछौं।
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमणलाई बनावटी बनाउनुभन्दा व्यवहारमै देखाउन थोरै तर महत्वपूर्ण सम्झौता गरेको दाबी गरेका छन्। ‘हामीले बाहिर देखाउनकै निम्ति धेरै विषयमा छलफल गरेका छैनौं,’ भारतको राजकीय भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भने, ‘तर जुन विषयमा छलफल भयो ती ऐतिहासिक छन्। यिनीहरूलाई कार्यान्वयनमा लैजान दुवै देश गम्भीर भएर लाग्नेछौं।’
प्रधानमन्त्री ओलीले भ्रमणमा तराई क्षेत्रमा हुने डुबान, पञ्चेश्वर, सुस्ता, नयाँ हवाई रुट, नेपाली ग्यास बुलेटलगायत विषयमा गम्भीर छलफल गरेको जानकारी दिए। उनले भने, ‘यी विषयमा गम्भीर छलफल भएको छ। विषयलाई उछाल्नेभन्दा वार्ताबाट छिट्टै समाधान गर्ने कुरा भएको छ।’ उनले आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको दाबी गरे। ‘भ्रमणले दुई देशबीच विश्वासको वातावरण बनेको छ’, उनले भने, ‘हामीबीच खुलस्त कुराकानी भयो। दुई देशबीच विश्वासको वातावरण बनेको छ, यसलाई आगामी दिनमा थप सुधार गर्दै जानुपर्छ।’
भ्रमणले दुई देशबीच पारस्परिक विश्वास वृद्धि गर्दै सम्बन्धलाई मित्रवत् बनाउँदै लैजाने ओलीले उल्लेख गरेका छन्। ‘कसैले बिगारेन भने दुई देशको सम्बन्ध राम्रो हुँदै जान्छ’, विमानस्थलमा उनले भने, ‘हामी बिगार्दैनौं तर कसैले बिगारे हाम्रो के लाग्छ र ? ’ उनले नेपाल–भारत सम्बन्धबारे प्रकाश पार्दै भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन होला।’
मित्रताका आधारमा नेपालले वैदेशिक सम्बन्ध अघि बढाउन चाहेको उल्लेख गर्दै ओलीले आफूले भारत भ्रमणका क्रममा यसलाई व्यावहारिक रूपमा जोड दिएको बताए। उनले भने, ‘पारस्परिक हित, एकअर्काको सार्वभौमसत्ता, स्वाभिमानको सम्मानका आधारमा सम्बन्ध हुनुपर्छ भन्ने हाम्रो नीति हो, सोहीअनुसार भारतसँग कुरा गर्यौं।’ लोकतान्त्रिक प्रक्रियामार्फत नेपाली जनताले दिएको जनमतको भारतले सम्मान गरेको ओलीले दाबी गरे।
उनले संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालको जनमतको स्वागत गरेको जनाए। ओलीले जलमार्ग, रेलमार्ग र कृषिसम्बन्धी भएका सम्झौता कार्यान्वयन गर्नेगरी दुवै देश अगाडि बढिसकेको उल्लेख गरे। प्रतिबन्धित भारतीय मुद्रा (नोटबन्दी) बारे राखिएको जिज्ञासामा भने ओलीले कुनै जवाफ दिएनन्। ओलीले दिल्ली जानुअघि संसद्मा यस विषयमा कुरा उठाउने बताएका थिए। यसअघि भारतीय विदेशसचिव विजय गोखलेले नोटबन्दीका विषयमा नेपाली पक्षले कुनै चर्चा नगरेको जानकारी दिएका थिए।
आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
प्रतिक्रिया