दुई सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
३५ पटक हेरिएको
Shares
दुई सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय !

सारांश

  • दैलेख, २१ साउन ।
  • दुल्लु नगरपालिकामा झण्डै दुई सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ ।
  • नगरपालिका– ८ पादुकास्थित पौवा दरबारमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

दैलेख, २१ साउन । दुल्लु नगरपालिकामा झण्डै दुई सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । नगरपालिका– ८ पादुकास्थित पौवा दरबारमा सङ्ग्रहालय निर्माण गरिएको हो । तत्कालीन समयमा उत्तर–दक्षिण करिडोरका रुपमा रहेको जुम्लादेखि दुल्लु हुँदै आवतजावत गर्ने बटुवालाई राति बास बस्न समस्या हुने भएपछि काजी जसपाऊ थापाले पौवा दरबार निर्माण गरेका थिए । दुल्लु राज्य अस्तित्वमा रहँदा जसपाऊ थापा काजीका रुपमा रहेका थिए । खस राज्यको ग्रीष्मकालीन राजधानी जुम्लाको सिंजा तथा हिउँदे राजधानी दैलेखको दुल्लू थियो । दुल्लु राजधानी आएका बेला काजी थापाले विसं १८७६ मा पौवा निर्माण गरेको इतिहास पाइन्छ ।

दुल्लुको पौवा रहेको भवनको अग्र भागमा अभिलेख राखिएको छ, जहाँ पौवाको धर्मशाला र मन्दिरबारे उल्लेख छ । पञ्चकोशी क्षेत्रको दर्शनका लागि दैलेख आउने अधिकांश पर्यटक अहिले दुल्लुसम्म अनिवार्य पुग्ने गरेका छन् । दुई सय ५० वर्गमिटर क्षेत्रफलमा रहेको पौवाघरमा राणाकालमा गौडी प्रशासनसमेत चलेको इतिहासविद् भूपालविक्रम शाह बताउँछन् । दुल्लु र दैलेखका ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका वस्तुको संरक्षणका लागि पौवाघरमा साँस्कृतिक संग्रहालय निर्माण गरिएको नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए । सङ्ग्रहालय थप व्यवस्थित गर्न चुनौती देखिएको छ । अझै यसलाई व्यवस्थित गर्न र संरक्षणका लागि केन्द्र सरकारसँग योजना माग गरिएको र नगरपालिकाले पनि यस वर्षदेखि रकम विनियोजन गरेर काम शुरु गरेको भण्डारीले बताए ।

नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख र कीर्तिखम्बसमेत दुल्लुमा रहेकाले यसको संरक्षणका लागि पनि पहल भएको भण्डारीले बताए। अहिले नगरपालिकाले पौवा भवनलाई थप संरक्षण र दुल्लु दैलेखमा रहेका मूर्तअमूर्त सम्पदा, विभिन्न पुराना गरगहना, ऐतिहासिक र सांस्कृतिक कुरा झल्कने २३० सामान राखेको छ । सङ्ग्रहालयमा ढुंगाको कचौरा, कटुसको पाता लगाइएको नीलो मसीबाट लेखिएको सामग्री, तत्कालीन राजाले प्रयोग गर्ने तरबार, पुराना बाजा र गहना राखिएको र यसले दुल्लु क्षेत्रको इतिहास संरक्षणमा मद्दत पुगेको दुल्लु नगरपालिकाका उपप्रमुख विष्णा थापाले बताइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले गत वर्ष सङ्ग्रहालयको संरक्षण प्रवद्र्धनका लागि रु १० लाख विनियोजन गरिएको भए पनि अपेक्षानुरुप काम हुन नसकेको बताउँदै यस वर्ष गत वर्षकै रकमबाट सङ्ग्रहालयको थप व्यवस्थापन गरिने जानकारी दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    ॐ मणी पद्मे हुं ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?