मगर जातिको इतिहास, झाँक्रि र पुख्र्यौली नाच !
सारांश
- काठमाडौँ, १८ असोज ।
- लेखक डा.
- मीन श्रीस मगरको मगर जातिको इतिहास र प्रतिभा पुनको धौलागिरी क्षेत्रको अमूर्त लोकसंस्कृतिः झाँक्रि विमोचन भएको छ ।
काठमाडौँ, १८ असोज । लेखक डा. मीन श्रीस मगरको मगर जातिको इतिहास र प्रतिभा पुनको धौलागिरी क्षेत्रको अमूर्त लोकसंस्कृतिः झाँक्रि विमोचन भएको छ । विहिबार राजधानी स्थित सर्वनाम थिएटरमा एक कार्यक्रम गर्दै दुई पुस्तक विमोचन गरिएको हो ।
लोकवार्ता परिषद नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै इतिहास विद दिनेशराज पन्तले डा. मीन श्रीस मगरको पुस्तक मगर जातिको इतिहासका बारेमा तारिफ गरेका थिए । पुस्तकमा केही तथ्यगत त्रुटि भएपनी समग्रमा पुस्तक उत्कृष्ट रहेको उनले बताए । आफूले पुस्तक मगर जातिको उत्पत्तीका बारेमा लेखेको जसमा केही मिथक पनि प्रयोग गरेको लेखक डा. मगरले बताए । कुनै पनि जात जातिको इतिहासका बारेमा लेखिएको यो पहिलो पुस्तक भएकाले केही गल्ती हुन सक्ने तर अब यसबारे विस्तृत अध्ययन गर्नका लागि बाटो खुलेको उनले बताए ।
त्यस्तै सोही कार्यक्रमबीच विमोचन भएको प्रतिभा पुन द्वारा लिखित पुस्तक धौलागिरी क्षेत्रको अमूर्त लोक संस्कृतिः झाँक्रि मा मगर र गुरुङ जातिमा हुने झाँक्रिका विषयमा लेखिएको छ । पुस्तकका बारेमा बोल्दै संस्कृति विद् डा. जगमान गुरुङले मगर र गुरुङ जातिमा हुने झाँक्रिमा साँचिकै शक्ति हुने बताए ।
सर्वनाममा विहिबार देखि नै सुनिल रञ्जितको चित्र प्रदर्शनमा राखिएको छ । चित्रकार सुनिलले मगर जातिकै लोक नृत्य पुख्र्यौली नाचलाई अमूर्त शैलीमा क्याभासमा उतारेका छन् । केही समय अघि गण्डक क्षेत्रमा जाँदा देखेको पुख्र्यौली नाचले आफू प्रभावित भई त्यसलाई चित्रको रुप दिएको सुनिलले बताए । उनले इन्द्रजात्राको उदाहरण दिँदै नेपालका संस्कृतिलाई कलामा रुपान्तरण गर्न एक जुनीले मात्र नभ्याउने बताए । उनी यस्तै लोक नृत्य र अन्य साँस्कृतिक कुराहरुलाई वृहत प्रदर्शनी मार्फत सार्वजनिक गर्न चाहेको पनि बताए । सुनिलको तारिफ गर्दै अर्का कलाकार नवीन्द्रमान राजभण्डारीले रञ्जित चित्र कोर्ने, मुर्ति रचना गर्ने, इलस्ट्रेसन बनाउने र चित्रकारी सिकाउने बताए ।
चित्र प्रदर्शनी असाेज २२ सम्म चल्नेछ ।
प्रतिक्रिया