स्वयम्भुमा नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोम, पहिलो दिनमै ५ सयको निःशुल्क स्वास्थ्य परीक्षण

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
२३ पटक हेरिएको
Shares
स्वयम्भुमा नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोम, पहिलो दिनमै ५ सयको निःशुल्क स्वास्थ्य परीक्षण

सारांश

  • काठमाडौं, २१ असोज ।
  • स्वयम्भुमा “नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोम” स्थापना भएको छ ।
  • “आयुर्वेद प्राकृतिक तथा मौलिक चिकित्सा उपचार पद्धति हो !

काठमाडौं, २१ असोज । स्वयम्भुमा “नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोम” स्थापना भएको छ । “आयुर्वेद प्राकृतिक तथा मौलिक चिकित्सा उपचार पद्धति हो ! यसको उपयोग गरौ अनि सँधै स्वस्थ रहौं” भन्ने नाराका साथ शुरु गरिएको नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमको हिजोमात्रै शुभारम्भ भएको छ भने करीव ५ सयजनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको छ ।

स्वयम्भू बुद्धपार्कस्थित भव्य समारोहबीच उद्घाटन गरिएको नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोमको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि रामेछाप जिल्लाका प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ “कुशल”ले आयुर्वेद उपचार पद्धतिको विषयमा चर्चा गरेका थिए ।

विशिष्ट अतिथि श्रेष्ठले अहिले स्थापना भएको नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमको प्रगतिको कामनासहित आयुर्वेद उपचार पद्धतिको अझैं विकास आबश्यक रहेको बताएका थिए । त्यस्तै सोही कार्यक्रममा अर्का बिशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य पार्वत गुरुङले आयुर्वेद उपचार पद्धति निकै मौलिक उपचार पद्धति भएको बताएका थिए । सांसद गुरुङले यो पद्धतिको विकास र जगेर्ना गर्नु आजको आवश्यकता रहेकोमा उल्लेख गरेका थिए ।

पूर्वमन्त्री समेत रहेका कमल चौलागाईंले आयुर्वेद उपचार पद्धतिबाट आफूले उपचार गरिरहेको बताएका थिए । उनले यो उपचार पद्धतिको जगेर्ना र प्रचार प्रसार गर्न निकै आवश्यक रहेको औंल्याएका थिए । पूर्व विद्यार्थी नेता तथा युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, नेपाल व्यापार संघका केन्द्रीय अध्यक्ष कुमार कार्की र नेपाल केरुङ व्यापार संघका केन्द्रीय अध्यक्ष मानबहादुर तामाङ लगायतले आयुर्वेद उपचार पद्धतिको विषयमा मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरिरहेकी सीताकुमारी खत्री “समिता”ले पछिल्लो समय सबैजसोले नाफामूलक व्यवसायप्रति मात्रै ध्यान दिइरहेका बेला आफूहरुले सेवामूलक व्यवसायको अवधारणा अघि सारेको बताएकी थिइन् । उनले आफ्नो संस्थाले अनाथ परिवार तथा बालबालिकाहरुलाई लक्षित गरेर व्यवसाय सञ्चालन गरेको जानकारी दिइन् । समिताले यस्ता किसिमका शिविर अब हरेक महिना गर्दै जाने र सकेसम्म दूरदराजमा यस्ता शिविर सञ्चालन गर्ने आफूहरुको योजना रहेको उल्लेख गरिन् ।

शुभारम्भ समारोहको निःशुल्क स्वास्थ्य शिविरमा करिब ५ सय जनाले उपचारको लाभ लिएको खत्रीले जानकारी दिइन् । शिविरमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । शनिबार बिहान करिब ९ बजेदेखि सुरु भएको निःशुल्क उपचार अपरान्ह ४ बजेसम्म चलेको थियो । पाइल्स, फिस्टुला, फिसर, जन्डीस, ग्याष्ट्रिक, अल्सर तथा कब्जियतको जाँच गरिएको थियो । पिनास, माइग्रेन, डराउने, मन आत्तिने, अनिद्रा, स्त्रीरोग, धातु तथा यौन रोग, मुत्ररोग, जोर्नी दुख्ने, हात खुट्टा पोल्ने, सिल्का हान्ने, बाउँडिने, नशाको समस्या, बाथ रोग तथा युरिक एसिडको पनि जाँच गरिएको थियो ।

उच्च र निम्न रक्तचाप, मधुमेह, मोटोपना घटाउने र बढाउने, सेतो दुवी, चाँया पोतो, डण्डिफोर, पेटमा हुने सेतो धर्सा लगायत विभिन्न रोगहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको सञ्चालिका ममता रानाभाटले जानकारी दिएकी थिइन् । उनका अनुसार निःशुल्क जाँचपछि कतिपय औषधि निःशुल्क वितरण तथा कतिपय औषधिमा बिशेष छुट दिइएको थियो । आयुर्वेद उपचार पद्धति आफ्नै घरआँगनमा आएकोमा स्थानीयले खुशी व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?