थवाङमा उत्साहजनक सहभागिता, जहाँ ७० सालमा भएको थियो ‘नो भोट’
सारांश
- रोल्पा, असार १४ – मतदाताको उत्साहजनक सहभागीतामा रोल्पामा मतदान भैरहेको छ ।
- अहिलेसम्म रोल्पामा ५० प्रतिशत मत खसिसकेको छ भने थवाङमा मात्रै ५५ प्रतिशत बढी मत खसेको निर्वाचन अधिकृत कमलबहादुर विष्टले जानकारी दिनुभयो ।
- दोस्रो संविधानसभा चुनावमा ‘नो भोट’ अभियान चलेको थवाङमा एउटा पनि मत खसेको थिएन ।
रोल्पा, असार १४ – मतदाताको उत्साहजनक सहभागीतामा रोल्पामा मतदान भैरहेको छ । अहिलेसम्म रोल्पामा ५० प्रतिशत मत खसिसकेको छ भने थवाङमा मात्रै ५५ प्रतिशत बढी मत खसेको निर्वाचन अधिकृत कमलबहादुर विष्टले जानकारी दिनुभयो । दोस्रो संविधानसभा चुनावमा ‘नो भोट’ अभियान चलेको थवाङमा एउटा पनि मत खसेको थिएन । २०६४ सालको संविधानसभा चुनावमा थवाङ गाविसबाट मात्रै तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ३६ सय मत खसेको थियो । प्रचण्डले काठमाडौंको कीर्तिपुरमा पनि विजयी भएकाले रोल्पाको निर्वाचन क्षेत्र २ छोडेपछि भएको उपनिर्वाचनमा माओवादी नेता सन्तोष बुढाले थवाङबाट मात्रै १८ सय मत प्राप्त गर्नुभएको थियो ।तर २०७० सालमा भएको संविधान सभा चुनावमा थवाङका बासिन्दाले भोट खसालेनन् । तर अहिले स्थानीय तहको चुनावमा थवाङका नागरिकले उत्साहजनक भाग लिएका हुन् । थवाङ, उवा र मिरुल गाविस गाभेर अहिले थवाङ गाउँपालिका बनेको छ । थवाङमा २ हजार ७ सय ३८ पुरुष र १ हजार १ सय १५ महिला गरी जम्मा मतदाता ५ हजार ८ सय ५३ जना छन् ।
निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समेत चुनावमा भाग लिएपछि थवाङ चर्चामा छ । थवाङ गाउँपालिकामा नेकपाबाट अमित घर्ती अध्यक्षको उम्मेदवार हुनुहुन्छ । तर विप्लव नेतृत्वको नेकपाले घर्ती पार्टीमा नरहेको जनाएको छ । नेकपासँग तालमेल गरेको कांग्रेसले उपाध्यक्षमा श्रीकुमारी रोकालाई उम्मेदवार बनाएको छ । एमालेबाट अध्यक्षमा हितबहादुर रोका र उपाध्यक्षमा जनरोका हुनुहुन्छ । माओवादी केन्द्रबाट अध्यक्षमा वीरबहादुर घर्ती ‘वियोग’ र उपाध्यक्षमा रामकिरणी रोकामगर उम्मेदवार हुनुहुन्छ । अप्रिय घटना हुन नदिन थवाङको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया