नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने
सारांश
- काठमाडौं ।
- संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।
- नेपाल र बंगलादेश एसियाली फुटबलमा कमजोर मानिन्छन् ।
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।
नेपाल र बंगलादेश एसियाली फुटबलमा कमजोर मानिन्छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको आर्टिफिसियल टर्फमा हुने खेलबाट कमजोरी औंल्याउने र त्यसलाई एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा सुधार गर्ने दुवै टिमले योजना बनाएका छन् ।
यु–२३ का मुख्य प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको भन्दै एसियन कप छनोट खेलका लागि मैत्रीपूर्ण खेलले सहयोग गर्ने बताए ।
छोटो अवधिमै टिम तयार पारेको उल्लेख गर्दै प्रशिक्षक शाक्यले भने, ‘बोलाइएका सबै खेलाडी पनि प्रशिक्षणमा आएनन् । लिग नहुँदा पनि समस्या भयो । विमल (घर्तीमगर), अनन्त (तामाङ) ले यू–१९ पछि पनि राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेका छन् । तर यू–१९ मा उनीहरूसँगै रहेका अरु खेलाडीले त्यस्तो अवसर पाएका छैनन् । त्यसैले खेलाडीको स्तरमा पनि फरक देखिएको छ ।’
बङ्गलादेशका अष्ट्रेलियाली कोच आन्द्रे ओर्डले नेपालविरुद्धको खेल कठिनका साथै प्रतिस्पर्धात्मक हुने बताएका छन् । सोही राष्ट्रका कप्तान सोहिल रानाले आफ्नो टोलीले सकेसम्म राम्रो खेल प्रदर्शन गर्ने बताउँदै मङ्गलबारको खेल जितेमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे ।
तीन सिनियर खेलाडी समावेश नेपाली यू–२३ टिमले शाक्यकै नेतृत्वमा गत वर्ष गुवाहटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो । त्यसमा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग उनले दोस्रो रोजाइको टिमलाई उतारेका थिए । नेपाली टिमले २–१ को हार बेहोरेको थियो । अहिले पनि दुवै टिममा तिनै खेलाडीको बाहुल्य छ ।
नेपालको तर्फबाट विमल घर्तीमगर, अनन्त तामाङ, हेमन्त थापामगर, एलन नेउपाने, कमल श्रेष्ठ, दिनेश राजबंशी, अञ्जन बिष्ट र सुनिल बललगायतका खेलाडी मैदानमा उत्रिँदै छन् ।
बङ्गलादेशविरुद्धको खेल र युएइमा हुने छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षक शाक्यले आइतबार घर्ती मगरको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए ।
प्रतिक्रिया