अति विकट ठाउँमा निशुल्क स्वास्थ्य सेवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १०, २०७५
|
|
५० पटक हेरिएको
Shares
अति विकट ठाउँमा निशुल्क स्वास्थ्य सेवा

सारांश

  • माघ १०, केके मानन्धर बजाङ जिल्लाको अति विकट ठाउँमा दुईदिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
  • काठमाडौंबाट गएको टोलीले जिल्लाका दुर्गाथली गाउँपालिका र बुंगल नगरपालिकामा स्वास्थ्य शिविर आयोजना गरेको हो ।
  • बजाङको बुंगल नगरपालिकामा अहिले पनि बिजुली बत्तीको सुविधा छैन ।
माघ १०, केके मानन्धर
बजाङ जिल्लाको अति विकट ठाउँमा दुईदिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । काठमाडौंबाट गएको टोलीले जिल्लाका दुर्गाथली गाउँपालिका र बुंगल नगरपालिकामा स्वास्थ्य शिविर आयोजना गरेको हो । बजाङको बुंगल नगरपालिकामा अहिले पनि बिजुली बत्तीको सुविधा छैन । यता दुर्गाथली गाउँपालिका सम्म कच्ची मोटर बाटो पुगे पनि विकासका अन्य भौतिक पूर्वाधार अभाव छ । 
स्थानिय तहको अनुरोधमा तारामण्डल महिला शसक्तिकरण अभियानले संयोजन गरेको कार्यक्रमलाई बासुदेव प्रसाद जोशी प्रतिष्ठान, नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुर, नेपाल शान्ति स्काउट, उपकार सेवा नेपाल तथा माता मनकामना स्क्रीन प्रिन्टले सहकार्य गरेको गरेको थियो । 
‘बजाङ जिल्लाको दुर्गाथलीमा आयोजित शिविर सम्भवतः सबभन्दा भव्य र धेरै सेवाग्राही सहभागी भएको पहिलो शिविर हो ।’ निशुल्क स्वास्थ्य शिविरका संयोजक तथा अभियानका सदस्य त्रिविक्रम सिंहले जानकारी गराए । 
हुन पनि दुर्गाथलीमा एक हजार एक सय ४५ सेवाग्राहीले स्वास्थ्य परीक्षणको लागि नाम दर्ता गराए । राष्ट्रिय जनगणना २०६८ अनुसार १२ हजार ९८० मात्र जनसंख्या भएको गाउँपालिकामा करिव ११ प्रतिशत जनसंख्याले पहिलो दिनको शिविरमा स्वास्थ्य चेकजाँच गराए । संयोजक सिंहले शिविर सौहाद्रपूर्ण तबरले सम्पन्न गराउन सहयोग गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहकार्य गर्ने विभिन्न सामाजिक संस्थाहरुलाई आभार प्रकट गरे । 
त्यस्तै, गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले गाउँपालिकाको पहिलो प्राथमिकता स्वास्थ्य सेवा भएकोले सातै वडामा वर्थिङ सेन्टर स्थापना गर्ने कामलाई अघि बढाइएको जनाए । सचेतना अभावको कारणले गाउँमा शिशु मृत्यदर बढेकोले वर्थिङ सेन्टरलाई प्राथमिकता दिइएको उहाँको भनाई थियो । भौगोलिक दृष्टिकोणले अति विकट ठाउँ भएर स्थानिय जनताको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन केन्द्रीय सरकारको सहकार्यमा एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य रहेको समेत उहाँले जनाए ।
पहिलो दिनको शिविरमा सहभागी सेवाग्राही मध्ये सबभन्दा बढी स्त्री रोगका बिरामीहरु देखिए । बालरोग, हाडजोर्नी, दन्त रोग, खकार परीक्षण, दम तथा अन्य रोगको लागि विशेषज्ञ चिकित्सकहरुको टोलीले दुर्गाथलीमा स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गरेको हो । सदरमुकाम चैनपुरदेखि करिव ४० किलोमिटरको दुरीमा रहेको दुर्गाथलीको चौधारा माध्यमिक विद्यालय प्राङ्गनमा आयोजित पहिलो दिनको शिविरमा मौलाली तथा सैनपसेलाबाट घण्टौँ हिँडेर सेवाग्राही स्वास्थ्य उपचारको लागि पुगेका थिए । 
त्यस्तै, दोस्रो दिन बुंगल नगरपालिकास्थित विजगडाको सरस्वती उच्च माविमा बुंगल विकास समाजको सहकार्यमा शिविर आयोजना भयो । बिजुली बत्ती नभएको ठाउँमा आयोजित सो शिविरमा एक हजार पाँच सय ६१ जनाले स्वास्थ्य उपचार पाए । शिविरमा विजगडादेखि देउकोट, दहबगर, खिरातरी, खोलेक आदि ठाउँबाट स्थानिय सेवाग्राहीहरुको उलेख्य सहभागिता देखिन्थ्यो । कालंगा नदि तरेर घण्टौँ हिँडेर पुगिने गाउँबाट शिविरमा सहभागी मध्ये अधिकांश महिला तथा वाल वालिकाहरु बढी देखिन्थ्यो । 
आफ्नै गाउँमा निशुल्क स्वास्थ्य चेकजाँच र औषधि पाउँदा अधिकांश मानिसहरु खुसि देखिएका थिए । त्यस मध्ये खिरातरीकी ६० वर्षिया विजयमती र खोलेककी अस्सी वर्षिया धनसरा नेपालीले पश्चिमेली भाकामा गीतै गाएर सुनाए । स्त्री रोगको उपचार गराएका उनीहरुले औषधि लिने ठाउँमा लाइन बस्दै गर्दा खुसि भएर देउडा गाएका हुन् । दुई दिन सम्म बस चढेर काठमाडौंदेखि निशुल्क उपचार गर्न बजाङ पुगेको टोलीलाई गीतैको भाकामा धन्यवाद दिँदै उनीहरु नाचेका थिए ।




प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?