अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्ने ,को को छन् दाबेदार ?
सारांश
- काठमाडौँ, २६ बैशाख ।
- नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले केन्द्रीय समिति बैठकबाट नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
- एमाले–माओवादी एकीकरणको प्रक्रियामा रहेका हुनाले दुवै पार्टी जनसंगठनलाई अधिवेशन गर्न रोक लागेको छ ।
काठमाडौँ, २६ बैशाख । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले केन्द्रीय समिति बैठकबाट नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
एमाले–माओवादी एकीकरणको प्रक्रियामा रहेका हुनाले दुवै पार्टी जनसंगठनलाई अधिवेशन गर्न रोक लागेको छ । अधिवेशन गर्न रोक लागेपछि केन्द्रीय समिति बैठकबाट नेतृत्व चयन गर्न लागिएको हो । यसअघि युवा संघको नेतृत्व पनि केन्द्रीय समिति बैठकबाट नै चयन गरिएको थियो ।
अखिल अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्य भएपछि कार्यबहाक अध्यक्षको जिम्मा महेश बर्तौलाले पाएका छन् । लामाले अब अखिलबाट विदा लिने सोच बनाएकी छन् । नेतृत्व चयनका लागि आउँदो जेठ ४ र ५ गते केन्द्रीय कमिटीको पूर्ण बैठक आह्वान गरिएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको सभाहलमा हुने बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव आरसी लामिछानेले जानकारी दिए ।
केन्द्रीय समिति बैठकको व्यवस्थापनका लागि महासचिव ऐन महरको संयोजकत्वमा जनपरिचालन समिति गठन भएको छ भने कोषाध्यक्ष झपिन्द्र खत्रीलाई आर्थिक समिति र सचिव लामिछानेलाई खाद्य समितिको नेतृत्व दिइएको छ । त्यस्तै अर्का सचिव समिक बडाललाई आवास तथा मञ्च व्यवस्थापनको जिम्मेवारी दिइएको अखिलले जनाएको छ ।
लामाले राजीनामा दिएपछि अखिलमा अध्यक्षका लागि उपाध्यक्षहरु रश्मी आचार्य, महेश बर्तौला, सुनीता बराल र शैलेस लामाले दाबी गर्ने बुझिएको छ । यस्तै महासविच महरले पनि अध्यक्षको दाबी गरिरहेका छन् । उनी अध्यक्षको बलिया दावेदार मानिएका छन् । उनले अघिल्लो पटक पनि अध्यक्षमा दाबी गरेका थिए । त्यतिबेला अर्कोपाली अध्यक्ष बनाउने आश्वासन दिएर नेताहरुले उनलाई महासचिवमा बसालेका थिए ।
महर अध्यक्ष भएमा रिक्त हुने महासचिवका लागि भने सचिवहरु समिक बडाल, सुदेश पराजुली, आरसी लामिछाने र आरती लामा दाबेदार छन् । पराजुली र लामा माधव नेपाल पक्षका हुन् भने बडाल र लामिछाने संस्थापन पक्षका हुन् ।
प्रतिक्रिया