अर्थदेखि कलाकार जोगाउने चुनौतीका बीच बालनलाई निरन्तरता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०८०
|
|
५३ पटक हेरिएको
Shares
अर्थदेखि कलाकार जोगाउने चुनौतीका बीच बालनलाई निरन्तरता

सारांश

  • गण्डकी ।
  • आधुनिकताका नाममा प्राचीन मौलिक संस्कृतिहरू हराउँदै गएको अवस्थामा पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण सांस्कृतिक समूहले भने पौराणिक संस्कृतिमा आधारित बालनलाई निरन्तरता दिँदै आएको छ ।
  • नयाँ वाद्यवादनका साथै डिस्को डान्समा नयाँ पुस्ता झुम्मिन थालेको अवस्थामा हजुरबुबादेखि नाति पुस्तासम्मका सबै व्यक्तिहरूको सक्रियतामा बालनलाई निरन्तरता दिन खोजिएको हो ।

गण्डकी । आधुनिकताका नाममा प्राचीन मौलिक संस्कृतिहरू हराउँदै गएको अवस्थामा पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण सांस्कृतिक समूहले भने पौराणिक संस्कृतिमा आधारित बालनलाई निरन्तरता दिँदै आएको छ ।

नयाँ वाद्यवादनका साथै डिस्को डान्समा नयाँ पुस्ता झुम्मिन थालेको अवस्थामा हजुरबुबादेखि नाति पुस्तासम्मका सबै व्यक्तिहरूको सक्रियतामा बालनलाई निरन्तरता दिन खोजिएको हो ।

श्रीकृष्ण जन्माष्टमी र रामनवमीजस्ता विशेष धार्मिक पर्वमा कृष्ण चरित्र, श्रीराम चरित्र आदिमा आधारित कलाकारले देखाउने बालनहरू पछिल्ला पुस्तामा हराइसकेको राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष सञ्जय ढकालले बताए । आधुनिकताका नाममा पछिल्लो समयमा प्राचीनकालदेखि सञ्चालन हुँदै आएका यस्ता मौलिक संस्कृति संरक्षणको अभावमा समाजबाटै हराउने हो कि भन्ने चिन्ता बढेको उनको भनाइ थियोे । नयाँ पुस्तामा जाग्दै आएको आधुनिक संस्कृतिप्रतिको मोहका साथै प्राचीन संस्कृतिप्रतिको बेवास्ताले यी संस्कृतिहरू सङ्कटमा पर्दै गएको अवस्थामा यस समूहले बालनलाई निरन्तरता दिँदै आएको अध्यक्ष ढकालले उल्लेख गरे।

समूहले पहिला कृष्णबालन देखाउन सुरु गरे पनि पछिल्ला समयमा भगवान् रामचन्द्रको लीलामा आधारित बालन देखाउँदै आएको छ ।

अर्थ व्यवस्थापनका साथै कलाकार जोगाउने विषयले बालनको निरन्तरताका लागि समस्या पर्ने गरेको बताउँदै उनले एउटा बालनको तयारीका लागि झन्डै रु १५ लाख आवश्यक पर्ने जानकारी गराए । “श्रीराम चरित्रमा आधारित बालन सञ्चालन गर्न करिब ४०/५० कलाकार आवश्यक पर्छ”, अध्यक्ष ढकालले भने, “एक पटकमा बालन देखाउन करिब रु चार लाखसम्मको शृङ्गारका समान आवश्यक पर्दछ भने त्यही रुपमा वाद्यवादनका सामान आवश्यक पर्दछन् ।”

पछिल्लो पुस्ताका युवा प्राचीन संस्कृतिमा आधारित अभिनय गर्न नचाहने र आर्थिक स्रोतको दीर्घकालीन व्यवस्थापनको चुनौतीसँगै बालनलाई निरन्तरता दिन समस्या पर्ने गरेको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिए ।

यस समूहले २०७२ सालमा कृष्णबालन सुरु गरेको बताउँदै उनले त्यसका लागि ७०/८० जनासम्म कलाकार लाग्ने भएकाले त्यसलाई निरन्तरता दिन नसकिएपछि श्रीराम चरित्रमा आधारित बालन सुरु गरिएको उनको भनाइ थियोे ।

“कलाकारकै जोहो गर्न नसकेपछि हामीले ठूलो सङ्ख्यामा कलाकार चाहिने कृष्णबालन छोडेर त्यसभन्दा केही कम कलाकार लाग्ने श्रीराम चरित्रमा आधारित बालन देखाउन लागेका हौँ”, सचिव पौडेलले भने, “बालन सञ्चालनका लागि दीर्घकालीन आर्थिक स्रोत नभएका कारण पनि मुस्किल पर्ने गरेको हो ।” कृष्णबालनमा कलाकार सङ्ख्याको एक तिहाइ महिला कलाकार आवश्यक पर्दछ । कृष्णबालनमा गोपिनीहरूको सङ्ख्या धेरै चाहिने हुन्छ भने श्रीराम चरित्रमा आधारित बालनमा बाँदरका सेना तयार गर्न धेरै कलाकार आवश्यक पर्दछ ।

पौराणिक समयमा भारद्वाज ऋषिले आफ्नो आश्रममा प्रवेश गर्दा कृष्णलीलामा आधारित बालन खेल्न बालनेलाई निमन्त्रणा गरेको स्मरण गर्दै यो नाच नाच्ने चलन सुरु भएको विश्वास छ । श्रीकृष्णका मातापिताको जन्मदेखि कृष्णजन्म हुँदै कंश बधसम्मका घटनाक्रमलाई बालने कलाकारले जीवन्त चित्रण गर्दछन् । कृष्णबालनका लागि लगभग चार घण्टा समयावधि लाग्ने कलाकारहरू बताउँछन् । देवीदेवताको गुणगानमा आधारित बालन पृथ्वीको सृष्टिकालदेखिका भगवान्का लीला र अवतारको वर्णनमा आधारित हुँदै आएको संस्कृतिका रुपमा लिइन्छ । गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवान्का दस अवतारलाई लिएर बालन सञ्चालन गर्ने प्रचलन छ ।

समूहलाई दीर्घकालीन बालन सञ्चालनका लागि राज्यका तर्फबाट कुनै सहयोग प्राप्त नभएको अवस्थामा समाजसेवी झलकप्रसाद खनालले व्यक्तिगतरुपमा बालन सञ्चालनका लागि रु तीन लाखको अक्षयकोष स्थापना गरिदिएका कारण त्यसबाट केही राहत पुगेको उनले जानकारी दिए । खनालले समूहका लागि साउन्ड सिस्टमको पनि सहयोग गरेका छन् ।

समूहको मागअनुसार समय समयमा भजनकीर्तन प्रस्तुत गरी केही आर्थिक स्रोत जुटाएर कार्यक्रमहरू सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

एक पटक बालन देखाउनका लागि करिब एक महिनासम्मको अभ्यास गर्नुपर्दछ । त्यसैले समयको व्यवस्थापन पनि यसमा महत्वपूर्ण मानिएको छ । सुरुमा बालन सञ्चालन गर्न आवश्यक गरगहना, शृङ्गार सामग्री खरिदका साथै बालने कलाकार तयार गर्न तालिम अपरिहार्य हुने राधाकृष्ण सांस्कृतिक समूहका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष भुलाप्रसाद भण्डारीले बताए ।

आर्थिक अभावसँगै तालिमप्राप्त कलाकारमध्ये ज्येष्ठ नागरिक अशक्त हुनु, युवा वैदेशिक रोजगारीमा र महिला कलाकार विवाह भएर जानेलगायत कारण कलाकार जोगाउन चुनौतीपूर्ण बनेको उनको भनाइ थियो । पछिल्ला समयमा प्राचीन मौलिक संस्कृतियुक्त बालनहरू पाल्पा, गोरखा, बाग्लुङ, लम्जुङ, तनहुँ, स्याङ्जालागयतका जिल्लामा पनि देखाउन थालिएको बताउँदै भण्डारीले देशका अन्य भूभागमा पनि बालन जगेर्ना गर्न खोजिएको जानकारीमा आएको बताए ।

संस्कृतिको जगेर्नाका लागि प्रतियोगिता
  
राधाकृष्ण सांस्कृतिक समूहले प्राचीन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रत्येक वर्षको श्रीकृष्ण जन्माष्टमीका अवसरमा श्रीकृष्ण जन्माष्टमी महोत्सव तथा खुल्ला भजन चुड्का प्रतियोेगिता गर्दै आएको छ । संस्था स्थापनाको १२ वर्ष पुगेको जानकारी गराउँदै अध्यक्ष ढकालले यस वर्ष आठौँ संस्करणको महोत्सव, प्रतियोगितासँगै झाँकी प्रदर्शन गर्न लागिएको जानकारी दिए ।

प्रतियोगिताका लागि विभिन्न २४ वटा समूह सम्पर्कमा आइसकेको बताउँदै उनले कालीका गन्धर्व समाजको नचरी, नेपाल पुनमगर समाजको सोरठी, गगन नेवाः खलको लाखे नाचजस्ता विभिन्न झाँकी प्रदर्शन गर्न लागिएको जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु चार हजार पाँच सय, रु तीन हजार पाँच सय, रु दुईहजार पाँचसय र रु एक हजार पाँचसय पुरस्कार प्रदान गरिने जनाइएको छ । बर्सेनि गर्दै आएको यस प्रतियोगिताले प्राचीन मौलिक संस्कृतिको जगेर्नामा टेवा पुगेको अध्यक्ष ढकालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौरीशंकरको मार्बुमा ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रम हुँदै
गौरीशंकरको मार्बुमा ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रम हुँदै
भारतको ७० औँ गणतन्त्र दिवस : राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना
भारतको ७० औँ गणतन्त्र दिवस : राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना
समाजवादलाई आत्मसात् गर्ने खालको बजेट ल्याउन सरकारलाई सुझाव
समाजवादलाई आत्मसात् गर्ने खालको बजेट ल्याउन सरकारलाई सुझाव
डाक्टर केसीलाई काठमाडौं ल्याइयो, थापालाई पनि ल्याउने तयारी
डाक्टर केसीलाई काठमाडौं ल्याइयो, थापालाई पनि ल्याउने तयारी
स्मार्ट लाइसेन्स प्रकरणमा सर्वोच्चको अन्तरिम आदेशले निरन्तरता पायो
स्मार्ट लाइसेन्स प्रकरणमा सर्वोच्चको अन्तरिम आदेशले निरन्तरता पायो
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य बन्यो नेपाल
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य बन्यो नेपाल
गृह मन्त्रालयको कडा चेतावनी भित्र के के छन् ?
गृह मन्त्रालयको कडा चेतावनी भित्र के के छन् ?
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
२०१७ का लागि ‘स्क्रोपिओन किक’ उत्कृष्ट गोल
२०१७ का लागि ‘स्क्रोपिओन किक’ उत्कृष्ट गोल
टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै
टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै