आज नेपाल संवत् ११४४, र म्हः (आत्म) पूजा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०८०
|
|
३० पटक हेरिएको
Shares
आज नेपाल संवत् ११४४, र म्हः (आत्म) पूजा

सारांश

  • काठमाडौ्।
  • नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
  • यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।

काठमाडौ्। नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।

राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराएका थिए। नेपाल संवत्‌ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए।

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो” उनले भने।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्‌लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल संवत्‌लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्‌ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कार्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौंमा अझै छ। आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ।

म्हः (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ। कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ।

भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ। भक्तपुरमा आत्मपूजा पनि हिजो नै गरिएको जनाइएको छ। भक्तपुर नगरपालिकाको निर्णय अनुसार यसो गरिएको हो।

देशभरका धेरै नेवार समुदायले भने आज मंगलबार नेपाल संवत्को नयाँ वर्ष र म्हः (आत्म) पूजा गर्दै छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ। शास्त्रसम्मत् रुपमा आजै दुवै पर्व मनाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?