आस्थाको “उज्यालोकोे खोजी”मा प्रदीपको यस्तो “प्रयास”
सारांश
- काठमाडौं, २४ असार ।
- कवि, गजलकार आस्था केसीको गजलकृति “उज्यालोको खोजी” तथा प्रदीप थापाको “रुवाई” गीत, गजल कृति “प्रयास” र एल्बम “प्रयास”को सार्वजनिकरण गरिएको छ ।
- अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाजल परिर्वतनमा अहम् भूमिका खेल्ने बताए ।
काठमाडौं, २४ असार । कवि, गजलकार आस्था केसीको गजलकृति “उज्यालोको खोजी” तथा प्रदीप थापाको “रुवाई” गीत, गजल कृति “प्रयास” र एल्बम “प्रयास”को सार्वजनिकरण गरिएको छ । अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाजल परिर्वतनमा अहम् भूमिका खेल्ने बताए ।
गजलकार रावलले साहित्यका अन्य बिधा जस्तै गजलको रचना र संरचना प्रक्रियालाई समय क्रमसँगै स्रष्टाहरुले आफू अनुकूल व्याख्या गर्ने गरेको र रचना गर्न थालेको धारणा राखे । प्रमुख अतिथि बरिष्ठ गजलकार रावलले नेपाली शब्द हुँदाहँुदै आयातीत शब्द प्रयोग नगर्न सबै गजलकारहरुलाई आग्रह गरे । आयातित शब्द प्रयोग गर्दा नेपाली भाषा र साहित्यमाथि अन्याय हुने हुनाले त्यस्ता शब्द प्रयोग नगर्दा नै राम्रो हुने सुझाव दिँदै साहित्यकारले समाजमा भएका तमाम विकृति र व्यतिथिविरुद्ध लेख्नु पर्ने बताए ।
रुवाइ, गीत र गजल संग्रहका लेखक प्रदीप थापाले लेखन विधामा एकदम कलिलो भएपनि लेखनमा निरन्तर लागिरहने बताए । लेखक थापाले रचनामा माया, प्रेम सम्बन्धी बढी लेखिने भएकाले आफूले पनि यस्तै विषयलाई बढी जोड दिएको बताए ।
“उज्यालोको खोजी” संग्रहकी लेखक आस्था केसीले आफू १५÷१६ वर्षको किशोरी अवस्थामा जनयुद्धमा लागेको र त्यही समयबाट नै गीत, कविता र गजल पढ्न र लेख्न थालेको बताइन् । उनले आफूले गजल विधाको औपचारिक रुपले अध्ययन नगरे पनि हिजोका आँधी, हुरीमय जनयुद्धकालीन मुक्ति यात्रामा गजल लेख्न सिकेको बताइन् । जनयुद्धको मुक्ति यात्रामा देखेका सपना आँशिक रुपमा मात्र पूरा भएको बताउँदै उनले राजनैतिक रुपमा प्राप्त परिवर्तनलाई व्यवहारमा लागु गर्न नसक्नु बिडम्बना भएको धारणा व्यक्त गरिन् ।
जनयुद्धले दिएको सबैभन्दा ठूलो चेतना वर्गीय मुक्तिको चेतना रहेको भन्दै सञ्चारकर्मी समेत रहेकी केसीले हिजो आफूहरु वर्ग मुक्तिको यात्रामा लागेको र आज पनि साहित्य र पत्रकारिताको माध्यमबाट निमुखाको प्रतिनिधिको रुपमा लागिरहने बताइन् ।
पुस्तक तथा एल्बममाथि गजलकार तथा समालोचक प्रभातिकिरण, ज्ञानु विद्रोही, शैलेन्द्र अधिकारी, डा. भोजराज अधिकारी, बिश्लेषक नरेन्द्रजंग पिटर लगायतले बोलेका थिए । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका नेपाल च्याप्टर संयोजक भरत पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले गरेका थिए । पुस्तक कन्दरा पब्लिकेशन्सले प्रकाशन गरेको हो ।
प्रतिक्रिया