उच्च पडाडी भेगमा भारी हिमपात, जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
उच्च पडाडी भेगमा भारी हिमपात, जनजीवन प्रभावित

सारांश

  • पर्वत।
  • पर्वतका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको हो।
  •   शुक्रबार साँझदेखि जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, बाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकमा तीन फिट बाक्लो हिउँ परेको छ।
पर्वत। पर्वतका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको हो। 
शुक्रबार साँझदेखि जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, बाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकमा तीन फिट बाक्लो हिउँ परेको छ। धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयवासीले जनाएको छ। 
वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ। हिमपातले गहुँ, आलुलगायत विभिन्न जातका फलफूललाई समेत क्षति पुर्याएको स्थानीय कृषकले जानकारी दिएको छ। गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा गत सोमबार र मङ्गलबार वर्षा र शुक्रबार साँझदेखि हिमपात भएपछि उपल्लो बस्तीका हिउँदेबाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ । यद्यपि चिसोले जनजीवन भने प्रभावित भएको छ । 
समुद्र सतहदेखि दुई हजार मिटरभन्दा माथिल्ला भूभागका बस्तीमा हिमपात भएको छ, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए। जलजला गाउँपालिकाको लेकफाँट, मोहोरेडाँडा र बनौलगायत लेकमा भारी हिमपात भएको जलजला–९ का वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिए। 
मोदी गाउँपालिका–४ क्याङको उपल्लो खर्क र सहश्रधारालगायतमा पनि करीब तीन फिटसम्म हिमपात भएको क्याङका नरसिंह पुनले जानकारी दिए। फलेवास नगरपालिका–१ र २ मा पर्ने डहरेको लेक, महाशिलाको फलामखानी, देउरालीलगायतका लेकमा पनि हिमपात भएको लुङ्खुदेउरालीका एकबहादुर हमालले जानकारी दिए। धेरै वर्षपछि बाक्लो हिउँ परेपछि स्थानीयवासी घर बाहिरै निस्कन नसकेको उनले बताए। 
उपल्लो बस्तीमा हिमपात भइरहँदा तल्लो बस्तीमा भने चिसो बढेको छ । वर्षासँगै शीतलहर र तुवाँलोका कारण कुश्मा, ज्ञाँदी, फलेवास, बिहादी, रानीपानीलगायतका बस्तीमा बिहान शीत जमेर बाहिर निस्किनै नसक्ने अवस्था भएको स्थानीयवासीले बताएको छ । 
पाँच महीनायता पहिलोपटक वर्षा भएपछि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान भने खुशी भएका छन् । सुख्खा टारमा लगाइएको आलु, गहुँ, जौ, तोरीलगायतका बालीमा वर्षाले ठूलो राहत महसुस भएको किसानको दाबी छ । 
लगातार परेको वर्षाले बेँसीको बस्तीमा अत्यधिक चिसो बढेको छ । अस्पताल तथा स्वास्थ्य केन्द्रमा चिसोका बिरामी बढेका छन् । चिसो बढेपछि यो सातामा मात्रै रुघाखोकी, निमोनिया ज्वरोलगायतका बिरामीको सङ्ख्या ह्वात्तै बढेको पर्वत जिल्ला अस्पतालले जनाएको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?