उमेदवार तत्काल टुंगो लगाउन ओली र दाहालको निर्देशन ,
सारांश
- काठमाडौं ।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेशसभाको निर्वाचनमा कुन क्षेत्रमा को उमेदवार भन्ने टुंगो तत्काल लगाउन कार्यदललाई निर्देशन दिएका छन् ।
- वाम गठबन्धनले बनाएका दुईवटा कार्यदललाई दुई शीर्ष नेताले निर्देशन दिँदै तत्काल निर्वाचन क्षेत्र तय गरी उमेदवार सिफारिस गर्न र घोषणापत्र तयार पार्न निर्देशन दिएका हुन् ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेशसभाको निर्वाचनमा कुन क्षेत्रमा को उमेदवार भन्ने टुंगो तत्काल लगाउन कार्यदललाई निर्देशन दिएका छन् ।
वाम गठबन्धनले बनाएका दुईवटा कार्यदललाई दुई शीर्ष नेताले निर्देशन दिँदै तत्काल निर्वाचन क्षेत्र तय गरी उमेदवार सिफारिस गर्न र घोषणापत्र तयार पार्न निर्देशन दिएका हुन् ।
“कार्यदलले कसरी घोषणा पत्र बनाउने र कुन क्षेत्रमा को उमेदवार हुने भनेर तत्काल टुंगो लगाउन शीर्ष नेताहरुले निर्देशन दिनुभएको छ,” बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा दाहाल र ओलीले तत्काल उमेदवार र निर्वाचन क्षेत्र टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका थिए ।
बैठकपछि नेकपा एमालेका नेता वामदेव गौतमले दिएको जानकारीअनुसार शीर्ष नेताहरुले सकेसम्म छिटो टुंगो लगाउन निर्देशन दिएका छन् ।
यसअघि चुनावी तालमेल गरेर जाने सहमति गरेको एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि चुनावी घोषणा पत्र बनाउन र उमेदवार चयन गर्नका लागि कार्यदल गठन गरेको थियो ।
पार्टी एकता संयोजन समितिको बुधबार बसेको बैठकले उमेदवार चयनका लागि पनि ३ वटै पार्टी सम्मिलित निर्वाचन क्षेत्र उमेदवार निर्धारण समिति पनि बनाएको थियो ।
एमाले उपाध्यक्ष बामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बुधबार बसेको बैठकले ७ सदस्यीय निर्वाचन क्षेत्र उमेदवार निर्धारण कार्यदल बनाएको हो ।
उक्त कार्यदलमा तीनवटै पार्टीका अध्यक्ष भने सहभागी हुनेछन् ।
कार्यदललाई ६० प्रतिशत एमाले, ४० प्रतिशत माओवादी केन्द्र हुने गरी प्रत्यक्षतर्फको उमेदवार तय गर्ने जिम्मेवारी दिइएको छ ।
कार्यदलमा एमालेका महासचिव ईश्वर पोखरेल, नेताहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा, नेताहरु वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठ रहेका छन् ।
त्यसैगरी चुनाव घोषणा पत्र मस्यौदा कार्यदलमा एमालेबाट उपाध्यक्ष बामदेव गौतम, भीम रावल, प्रदिप ज्ञवाली, माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टी नेपालबाट डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा रहेका छन् ।
पार्टी एकता संयोजन समितिले समानुपातिकतर्फको उमेदवारी भने आ– आफ्नै दलको तर्फबाट दिने निर्णय पनि गरेको छ ।
समानुपातिक तर्फको उमेदवारी आ–आफनै पार्टीको तर्फबाट दिने निर्णय गरिएको पनि एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । आगामी असोज २९ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फका उमेदवारी निर्वाचन आयोगमा बुझाउनुपर्ने हुन्छ ।
तीन पार्टीले मंगलबार पत्रकार सम्मेलन गरी आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर जाने र त्यसपछि पार्टी एकता गर्ने सहमति गरेका थिए ।
प्रतिक्रिया