कञ्चनपुर १ मा बिना मगर दोब्बर मतान्तरले विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
कञ्चनपुर १ मा बिना मगर दोब्बर मतान्तरले विजयी

सारांश

  • कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नं १ बाट  वाम गठबन्धनकी उम्मेदवार बिना मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी भएकी छन् ।
  • बिना मगरले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
  • बिनाले दिवानभन्दा १९ हजार २ सय ४८ बढी मत पाएकी छन् ।

कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नं १ बाट  वाम गठबन्धनकी उम्मेदवार बिना मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी भएकी छन् ।

बिना मगरले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिनाले दिवानभन्दा १९ हजार २ सय ४८ बढी मत पाएकी छन् ।

८८ हजार ५९ मतदाता रहेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा ६३ हजार ३ सय १ मत खसेकोमा ६० हजार २ सय ६३ मत सदर भएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका दिवानसिंह विष्टसँग बिना मगर झिनो मतान्तरले पराजित भएकी थिइन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै बिना मगर कञ्चनपुरबाट केन्द्रीय संसदमा प्रत्यक्ष निर्वाचित भएर पुग्ने पहिलो महिला बनेकी छन् । यसपालिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेशबाट निर्वाचित हुने एक मात्र महिला बन्ने भएकी छन् ।

कैलालीको ५ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा रहेकी आरजु राणा देउवा पराजित भइसकेकी छन् भने कैलालीको १ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरीमा शाह पराजित हुने अवस्थामा पुगेकी छन् ।

बिना मगर विजयी भएको क्षेत्रबाट प्रदेशसभा १ बाट तारालामा तामाङ र प्रदेशसभा २ बाट कुलवीर चौधरी विजयी भएका छन् । कञ्चनपुरको १ नम्बर क्षेत्रमा वाम गठबन्धनले सानदार जीत हात पारेको छ ।

निर्वाचन जितेर संसदसम्म पुग्ने कञ्चनपुरकी पहिलो छोरी

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मजदुर परिवारमा २०४० मंसिर २२ गते जन्मिएकी बिना मगरलाई जन्मजात वामपन्थी बन्ने वातावरण मिल्यो । राज्यसत्ताको दमन, सामाजिक विभेद र शोषणलाइ नजिकबाट देखेकी बिना मगर १० वर्षे जनयुद्ध, माओवादी आन्दोलन हुँदै संसदमा निर्वाचित हुने कञ्चनपुरकी पहिलो छोरी बन्न पुगेकी छन् ।

कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले विजयी हुँदै बिना मगरले प्रत्यक्ष निर्वाचन जितेर केन्द्रीय संसदमा पुग्ने पहिलो कञ्चनपुरकी छोरीको रेकर्ड बनाएकी छन् ।

नेपालको पछिल्लो राजनीतिक र सामाजिक परिवर्तनमा सहभागी भएर राष्ट्रिय राजनीतिमा स्थापित हुन सफल भएको नाम हो बिना मगर । १० वर्षे जनयुद्धमा सहभागी हुँदा २७ महिने  हिरासत जीवन बिताएको तथा मृत्युको मुखबाट बचेर बिना मगर अहिले जन्मभूमिको सेवामा समर्पित भइरहेकी छन् ।

राष्ट्रिय राजनीतिमा स्थापित हुँदाहुँदै पनि जन्मभूमि कञ्चनपुरलाई दुःख, समस्या र पीडाबाट मुक्त गर्दै यस क्षेत्रको विकासको प्रत्यक्ष अनुभूति गराउन बिना मगर लगातार सक्रिय छिन् । बिनाले पुनर्वासको अरनिको वस्तीको अरनिको प्राविबाट शिक्षा आर्जन सुरु गरिन् ।  उनले गौरीशंकर निम्न मावि र जनता मावि पुनर्वासबाट माध्यमिक तहसम्मको शिक्षा आर्जन गरिन् ।

११ वर्षको कलिलै उमेरदेखि माओवादी आन्दोलनमा सक्रिय

समाज बुझ्ने चेतनाको विकास हुँदै जाँदा बिना मगरमा विद्रोह उत्पन्न हुँदै गयो । जन्मभूमिको पछौटेपन, गरीबी, असमानता, विभेद र राज्यको विभेदकारी नीतिले बिना मगरमा विद्रोही सोच जन्मायो । राज्यको विभेदकारी नीतिलाई फेर्ने उद्देश्य लिएर बिना मगर २०५१ सालमा ११ वर्षको कलिलै उमेरदेखि तत्कालीन नेकपा (माओवादी) को आन्दोलनमा सक्रिय भइन् ।

जनयुद्धको सुरूवाती चरणको सांगठनिक र सांस्कृतिक कार्यक्रममा उनले सक्रियता बढाउँदै राजनीतिक नेतृत्व लिन सुरु गरिन् । सुरुमा बिना मगरको सहभागिता जनकलाकारका रुपमा सांस्कृतिक कार्यक्रममा देखिएको थियो । आन्दोलनमा सहभागिता जनाउँदै गर्दा २०५६ सालमा बिना मगरले महिलाहरूको हक अधिकार प्राप्तिका साथै सांगठनिक र वैचारिक अवस्था विकास गराउन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको अध्यक्षको भूमिकामा योगदान गरिन् ।

राजनीति यात्रासँगै उच्च शिक्षा अध्ययनको लागि बिना मगर काठमाडौं प्रस्थान गरिन् । काठमाडौंमा पनि तत्कालीन अखिल क्रान्तिकारीको विद्यार्थी संगठनमा आवद्ध भएर भित्रि रूपमा नेकपा माओवादी पार्टीको पूर्णकालीन सदस्यको रूपमा उनले काम गरिन् ।

क्याम्पस जीवनमा जुझारू नेतृको रूपमा स्थापित हुँदै बिना मगर राजधानीमा पनि लोकप्रिय हुँदै गइन् । तत्कालीन रत्नराज्य क्याम्पसको स्ववियू सदस्य पदमा पाएको अत्यधिक मतले बिना मगर विद्यार्थीमाझ लोकप्रिय रहेको प्रमाणित भयो ।

विद्यार्थीका थुप्रै हकअधिकार र जनजीविकाको लागि संघर्ष गरिरहँदा उनलाई २०६० सालमा अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला अध्यक्षसम्मको जिम्मेवारी प्राप्त भयो । देशमा घनिभूत ढंगले माओवादी आन्दोलन अगाडि बढिरहेको र तत्कालीन सत्ताले संकटकाल घोषणा गरेको बेला समेत बिना मगर राज्यसत्ताको केन्द्र काठमाडौंमा माओवादी आन्दोलनको नेतृत्वदायी भूमिकामा रहेकी थिइन् ।

राज्यको ब्यापक धरपकड र दमनबीच बिना मगर २०६० सालमा तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा परिन् । मानव बधशाला भनेर चिनिएको भैरवनाथ गणमा उनले २७ महिना बेपत्ताको अवस्थामा रहनुपर्‍यो । जनताको मुक्ति, व्यवस्था परिवर्तन र जनताको स्वतन्त्रताको संघर्षसँग जोडिएको आन्दोलनको क्रममा बिना मगरले २७ महिनासम्म पाशविक यातना भोग्नुपर्‍यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?