नयाँ मोटरसाइकलको दर्ता रोकियो
सारांश
- काठमाडौं, १७ असाेज ।
- सरकारको लापरवाहीका कारण दशैंको मुखमा बाग्मतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ ।
- साविकको बाग्मती अञ्चलमा ९९ लटसम्म मोटरसाइकल दर्ता भइसकेको छ ।
काठमाडौं, १७ असाेज । सरकारको लापरवाहीका कारण दशैंको मुखमा बाग्मतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ । साविकको बाग्मती अञ्चलमा ९९ लटसम्म मोटरसाइकल दर्ता भइसकेको छ । अब १०० को लटमा प्रवेश गर्न कानुनी अड्चन परेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायकाअनुसार यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्म मात्रै लट नम्बर राखेर मोटरसाइकल दर्ता गर्न पाइने व्यवस्था कानुनमा छ । यही व्यवस्थाका कारण ९९ लटको सबै नम्बर सकिएपछि २ दिनदेखि नयाँ दर्ता रोकिएको हो ।
यातायात व्यवस्था नियमावलीमा २ डिजिटको लट नम्बर राखेर मात्रै सवारी दर्ता गर्नुपर्ने प्रावधान छ ।काठमाडौंमा ‘बा ९९ प’ मा ‘९९९९’सम्म बाइक वितरण भइसकेको छ । बाग्मतीमा दर्ता भइसकेका मोटरसाइकलको संख्या १० लाख पुगेको छ । कानुनले नयाँ दर्ता गर्न नदिने अवस्था आएपछि बुधबारबाट दर्ता बन्द भएको सतुंगलस्थित मोटरसाइकल कार्यालयका प्रमुख गणेश अर्यालले बताए । उनले केही दिनमा नै समस्या समाधान हुने बताए । कार्यालयले लट नम्बरको व्यवस्थाका कारण आउन सक्ने समस्याबारे यातायात व्यवस्था विभाग र मन्त्रालयलाई गत साउनमै जानकारी थियो ।
तर, दुबै निकायले समयमै ध्यान नदिँदा धेरै सवारी साधन खरिद हुने सिजनमै मोटरसाइकलको दर्ता बन्द भएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता उपाध्यायले नियमावली संशोधनका लागि प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको बताए । उनले अब तीन डिजिटमा पनि लट नम्बर राखेर सवारी दर्ता गर्न सकिने गरी नियमावली संशोधन हुने बताए । बेलैमा कानुन संशोधन नगरिँदा सेवाग्राही मर्कामा परेका छन् । धेरैले दशैंको मुखमा नयाँ मोटरसाइकल किन्ने गरेका छन् । दर्ता हुन रोकिएपछि आपूर्ति गर्ने कम्पनीलाई ठूलो समस्या परेको छ । स्रोतका अनुसार १४ असारमा मन्त्रिपरिषदको विधेयक समितिबाट नियमावली संशोधनको प्रस्ताव पास भइसकेको छ । मन्त्रिपरिषदबाट पास भएर राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुनेछ ।
प्रतिक्रिया