कसैको पनि बहुमत नआउने अनुमान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २६, २०७४
|
|
४० पटक हेरिएको
Shares
कसैको पनि बहुमत नआउने अनुमान

सारांश

  • ब्रिटेनमा बिहीबार मतदान सकिए लगत्तै प्रकाशित मत सर्वेक्षण (एक्जिट पोल) हरुले कुनै पनि दलको बहुमत नआउने संकेत गरेका छन्।
  • प्राप्त सर्वेक्षण नतीजाहरुमा प्रधानमन्त्री टरीजा मेको कन्जरभेटिभ पार्टीले ३१४ स्थान प्राप्त गर्ने अनुमान गरिएको छ।
  • त्यो साधारण बहुमत भन्दा १२ स्थान कम हो।

ब्रिटेनमा बिहीबार मतदान सकिए लगत्तै प्रकाशित मत सर्वेक्षण (एक्जिट पोल) हरुले कुनै पनि दलको बहुमत नआउने संकेत गरेका छन्।

प्राप्त सर्वेक्षण नतीजाहरुमा प्रधानमन्त्री टरीजा मेको कन्जरभेटिभ पार्टीले ३१४ स्थान प्राप्त गर्ने अनुमान गरिएको छ।

त्यो साधारण बहुमत भन्दा १२ स्थान कम हो।

त्यस्तै मुख्य विपक्षी लेबर पार्टीले २६६ स्थान प्राप्त गर्ने अनुमान गरिएको छ।

उसले दुई वर्ष अघि भएको आम चुनावभन्दा ३४ स्थान बढी प्राप्त गर्ने अनुमान गरिएको छ।

यदि यी अनुमान सही ठहरिएमा नयाँ सरकार गठन गर्न दुबै दलहरुलाई अरु साना दलहरुको सहयोग आवश्यक पर्नेछ।

आह्वान

प्रधानमन्त्री मे ले ब्रिटेन युरोपेली संघबाट बाहिरिने विषय ब्रेक्सिट मा ब्रसेल्स संग वार्ता गर्नकालागि आफ्नो हात बलियो बनाउन आह्वान गर्दै गत अप्रिल महिनामा मध्यावधि चुनाव गराउने घोषणा गरेकी थिइन्।

बीबीसीकी राजनीतिक सम्पादक लरा कुन्सवर्गले भन्छिन्, “प्रधानमन्त्री मेकालागि यो चुनाव गराउन आवश्यक थिएन। यद‌ि (एक्जिट पोलको) प्रक्षेपण सही ठहरियो भने यो चुनाव उनकालागि जुवा हारे सरह हुनेछ।”

बिहीबार सम्पन्न चुनावमा चार करोड साठी लाख भन्दा बढी मतदाता थिए।

कूल साढे ६ करोड जनसंख्यामध्ये १८ वर्ष उमेर पुगेका ८५ प्रतिशत जनतालाई मताधिकार प्राप्त थियो।

चुनावी मुद्दा

गएको तीन महिनामा ब्रिटेनमा तीन पटक आतंककारी हमलाहरु गरिएका कारण आतंकवाद तथा आन्तरिक सुरक्षाको विषय एउटा प्रमुख चुनावी मुद्दाको रुपमा आएको थियो।

त्यस्तै ब्रिटेन युरोपेली संघबाट बाहिरिने विषय ब्रेक्सिट पनि अर्को प्रमुख चुनावी मुद्दा रहेको थियो।

त्यसबाहेका स्वास्थ्य सेवा, शिक्षा र आप्रवसन आदि विषय पनि चुनावी अभियानमा प्रमुख रुपमा उठेका थिए।

कन्जरभेटिभहरुले ६५० मध्ये ३३१ सीट जितेको सन २०१५ को निर्वाचनमा करिब ६६.४ प्रतिशत मतदाताले मतदान गरेका थिए जुन संख्या सन २०१० को भन्दा बढी थियो।

धेरैजसो मतदान केन्द्रहरु विद्यालय र सामुदायिक भवनमा रहेका छन्।

परिणाम

स्थानीय समय अनुसार बिहीबार मध्यरातसम्ममा केही परिणाम घोषणा भइसक्ने ठानिएको छ।

शुक्रबार मध्यान्हसम्म अन्तिम परिणाम आउने ठानिएको छ।

यसपटक आम निर्वाचनसँगै स्थानीय निर्वाचन नगरिएकाले चुनावी परिणाम यसअघि भन्दा छिटो आउनसक्छ।

हाउस अफ कमन्समा बहुमत ल्याउन कुनै एउटा पार्टीले ३२६ सीट ल्याउनुपर्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?