कहिले आउला चीनबाट रेल !

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
३१ पटक हेरिएको
Shares
कहिले आउला चीनबाट रेल !

सारांश

  • काठमाडौं, २४ माघ – केरुङ रेलमार्ग निर्माण बल्ल सुरु गर्ने भएको छ ।
  • ५४० किमि लामो सो रेलमार्ग निर्माणपछि नेपाल–चीन (केरुङदेखि काठमाडौं) रेल यातायातमा जोडिने बाटो खुल्नेछ ।
  • ‘मलाई चिनियाँ अधिकारीले चाँडै रेल्वे निर्माण सुरु हुन्छ भन्ने जानकारी दिएका छन्, निर्माणका लागि तयारी अन्तिम चरणमा पुर्‍याइसकेको भन्ने जानकारी आएको छ,’ ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्की टेलिफोनमा नयाँ पत्रिकासँग भने ।

काठमाडौं, २४ माघ – केरुङ रेलमार्ग निर्माण बल्ल सुरु गर्ने भएको छ । ५४० किमि लामो सो रेलमार्ग निर्माणपछि नेपाल–चीन (केरुङदेखि काठमाडौं) रेल यातायातमा जोडिने बाटो खुल्नेछ ।

‘मलाई चिनियाँ अधिकारीले चाँडै रेल्वे निर्माण सुरु हुन्छ भन्ने जानकारी दिएका छन्, निर्माणका लागि तयारी अन्तिम चरणमा पुर्‍याइसकेको भन्ने जानकारी आएको छ,’ ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्की टेलिफोनमा नयाँ पत्रिकासँग भने । चिनियाँ योजनाअनुसार २०२० सम्म सीमावर्ती तिब्बती सहर केरुङसम्म रेल आइपुग्नेछ । त्यसपछिको दुई वर्ष अर्थात् सन् २०२२ मा रेल्वे लिंक काठमाडौंसम्म जोड्न सकिने चिनियाँ विज्ञले बताउँदै आएका छन् । नयाँ पत्रिकामा जीवन बस्नेतले खबर लेखेका छन् ।

निर्माण सम्पन्न भएपछि नेपाल र चीनबीचको पहिलो अन्तर्राष्ट्रिय रेलमार्ग हुनेछ । निर्माणपूर्वका सम्पूर्ण तयारी (सम्भाव्यता अध्ययन, विस्तृत आयोजना प्रतिवेदन) पूरा गरेको अर्थमा यसलाई लिनुपर्ने कार्कीले बताए । यसअघि २४ वैशाख ०७४ मा सिगात्से–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । त्यस्तै, ०७३ जेठमा चिनियाँ यातायात मन्त्रालय र राष्ट्रिय विकास तथा सुधार आयोगले चीन–नेपाल रेलमार्ग निर्माणलाई महत्वपूर्ण आयोजनाको स्वीकृत गरेको थियो । चीनको १३औँ पञ्चवर्षीय योजना (२०१६–२०२०) अवधिभित्रै निर्माण गर्ने निर्णय गरिसकेको छ ।

भौगोलिक अवस्थितिका कारण ढिलाइ हुन सक्ने
भौगोलिक अवस्थितिका कारण सिगात्से–केरुङ रेलमार्ग निर्माण अवधि बढ्ने अनुमान गरिएको छ । भौगोलिक कठिनाइका कारण तोकिएकै समयमा सम्पन्न हुन कठिन हुन सक्ने चिनियाँ पक्षले जानकारी दिएको महावाणिज्यदूत कार्कीले बताए । विशेषगरी रेलमार्गमा पर्ने लार्चे हिमाल ५ हजार २ सय मिटर उचाइमा रहेको छ । भौगोलिक कठिनाइका कारण समय लम्बिने भए पनि रेल्वे निर्माण सम्भव हुने चिनियाँ रेल अधिकारीले पहिले नै उल्लेख गरिसकेका छन् ।

यस्तो छ नेपालतर्फ तयारी
चालू आर्थिक वर्ष ०७४-७५ मै नेपाल–चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाइने भएको छ । चालू आवको बजेटमा विनियोजित पाँच करोड रुपैयाँले सम्भाव्यता अध्ययनको काम थालनी गर्ने तयारीमा रेल विभाग पुगेको महानिर्देशक अनन्त आचार्यले बताए । उच्च हिमाली भूभाग र हिउँका कारण तत्काल अध्ययन गर्न गाह्रो भएकाले फागुन अन्तिम वा चैतदेखि काम अघि बढाउन सकिने महानिर्देशक आचार्यको भनाइ छ । विभागका अनुसार केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न करिब सात करोड रुपैयाँ आवश्यक पर्छ । सरकारको उच्च प्राथमिकतामा परेको आयोजना भएको कारण काम गर्दै जाने र अपुग बजेट माग गरेर अध्ययन पूरा गर्न सकिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?