काठमाडौं १– अनिलको अनुहारमा मदन भण्डारीको झल्को !

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
काठमाडौं १– अनिलको अनुहारमा मदन भण्डारीको झल्को !

सारांश

  • काठमाडौँ ।
  • ‘आखिर एउटा सर्वहाराले गुमाउने कुरा के थियो र ?
  • जिते संसार हारे हत्कडी !

काठमाडौँ । ‘आखिर एउटा सर्वहाराले गुमाउने कुरा के थियो र ? जिते संसार हारे हत्कडी !’ त्यही एकथान हत्कडी लगाउने जोखिम मोल्दै कलिलो उमेरमा राइफलको बट र नाल समाउन राजी भएका अनिल शर्मा अहिले ब्यालेटको लडाईमा छन् । अर्थात, बुलेटको कोर्स सकेर ब्यालेटको कोर्समा ।

कुरा २०४७ सालतिरको हो, अनिल रुकुमको खलंगास्थित यमुनानन्द नमुना निम्नमाध्यमिक विद्यालयमा पढ्दै थिए । ठीक त्यतिबेला जननेता मदन भण्डारी काठमाडौं क्षेत्र नम्बर–१ बाट चुनाव लडेका थिए । भण्डारीले चावहिलमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै राजा विरेन्द्रलाई ठाडो चुनौती दिए, र भने, ‘मान सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्योस् महाराज, हात नलम्काई बक्सियोस्, आँखा नचम्काई बक्सियोस् । आफ्ना सन्ड–मुसन्डलाई नचलाई बक्सियोस्, यदि सन्ड–मुसन्डलाई नै अगाडि ल्याउने हो भने, महाराजले पनि श्रीपेच सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुपर्यो !’

राजा वीरेन्द्रलाई ‘मैदानमा आउन चेतावनी’ दिएसँगै काठमाडौंका जनताले बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराए, मदनले चुनाव जिते ।

त्यही ठाउँ हो, २०५१ सालमा मदनपत्नी विद्या भण्डारी चुनाव लड्दा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘मेलम्चीको पानी ल्याएर काठमाडौंका सड्क पखाल्ने’ भाषण गरे । तर, जनताले पत्याएनन्, विद्याले चुनाव जितिन् ।

मैदान त्यहीँ हो, समय र पात्र फेरिएका छन् । मदनले चुनाव जित्दा स्कुल पढ्दै गरेका युवा अनिल शर्मा अहिले सोही क्षेत्र (काठमाडौं–१) को चुनावी मैदानमा छन् । मदनको बिरासत सम्मालेका एमाले अध्यक्ष केपी ओलीले अनिललाई आर्शीवाद दिएका छन्, ‘हेभिवेटलाई लडाउनु ।’

पत्रकारिताबाट रिटायर्ड भएर राजनीतिको झण्डा उठाएका रवीन्द्र मिश्र र आफ्ना बुबाको बिडो थाम्न कस्सिएका काङ्ग्रेस नेता प्रकाशमान सिंह अनिलका प्रतिस्पर्धी हुन् ।

‘हेभिवेट’ मानिने प्रकाशमान सिंहसँग चुनावी मैदानमा उत्रिसकेका अनिल कसैलाई ‘हेभिवेट’ नै मान्दैनन् । भन्छन्, ‘हेभिवेट नै म हुँ, मेरो राजनैतिक पृष्ठभूमी, मैले सामाजिक क्रान्तिमा गरेको त्याग, तपस्या, बलिदानी अथवा लगानी, अरु कोही उम्मेदवारसँग छ जस्तो मलाई लाग्दैन ।’

खलंगादेखि काठमाडौँसम्म
अनिल रुकुमको मुसिकोट–खलंगा नगरपालिका–५ मा जन्मिए । यमुनानन्द नमुना निम्नमाध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा शुरु गरेका उनले काठमाडौंको आरआर क्याम्पसबाट उच्च शिक्षा लिएका छन् ।

२०४८ सालतिर बालसंगठनमा संगठित भएर राजनीतिको त्यान्द्रो समातेका अनिल प्रचण्डको नेतृत्वमा शुरु भएको जनयुद्धमा सहभागी भए । अखिल क्रान्तिकारीको ईकाई र जिल्ला अध्यक्ष हुँदै विद्यार्थी राजनीतिलाई निरन्तरता दिएका शर्मा पछिल्लो समय संगठनको उपाध्यक्षसम्म भए ।

मंसिर २१ गते हुने निर्वाचनमा काठमाडौं–१ का लागि बामगठन्धनबाट प्रतिनिधीसभाको टिकट पाएसँगै एकाएक चर्चामा आएका उनी राजनीतिमा नयाँ नाम भने पक्कै होईन् । लामो राजनीतिक संघर्षबाट आएका शर्मा चुनाव जित्नेमा ढुक्क देखिन्छन् । त्यसो त चुनाव यस्तो खेल हो, जहाँ नतिजा नआउदासम्म हार स्वीकार गरिदैन् ।

अनिल भन्छन्, ‘हाम्रो गठबन्धनले लिएको नीति कार्यक्रम, हिजो एमाले र माओवादी सरकारको कार्यकालमा भएका राम्रा, प्रगतिशिल र जनमुखी कामहरु नै मेरो चुनाव जित्ने आधार हुन् ।’

उनी अबको चुनावपछि देशले नयाँ कोर्स लिने मतदाताको विश्वासलाई पनि आफ्नो जितको सूत्र ठान्छन् । ‘कम्युनिष्टको स्थायी सरकार बनेमा देशको सम्बृद्धि हुन्छ भन्ने जनविश्वास बढेको छ’ अनिल भन्छन्, ‘त्यही संवृद्धिको कामलाई पुरा गर्न सक्ने संकल्प र अठोट बोकेर कुदिरहेको एउटा युवा हुनुको नाताले युवाप्रति मेरो विश्वास छ, मैले जित्छु भन्ने लागेको छ ।’

जन्मथलो रुकुम भएका कारण कत्तिपय विपक्षी दलका कार्यकर्ताले उनलाई ‘टुरिष्ट उम्मेदवार’ रुपमा प्रचार गर्न थालेका छन् । तर, अनिल कसैको जन्मथलो नै कर्मथलो नहुने बताउँछन् । भन्छन्, ‘जन्मथलो नै उसको कर्मथलो बन्छ भन्ने छैन, रुकुममा जन्मिएपनि मेरो राजनीतिक जीवनको सवैभन्दा ठूलो समय काठमाडौंमा वितेको छ, यहाँको सामाजिक परिवर्तनको आन्दोनल र जनआन्दोलनमा बितेको छ ।’

अनिलले काठमाडौंमा थुप्रै शैक्षिक अभियानको अगुवाई गरेका छन् । रुकुममा जन्मिए पनि उनी काठमाडौंबासी हुन, यहीँको नागरिक हुन् ।

‘काठमाडौं–१ का जनता को–कहाँ कसरी जन्मियो, भन्ने कुरा हेर्दैनन्’ उनले भने, ‘यहाँका बौद्धिक मतदाताले यहाँको समस्यालाई समाधान गर्ने मिसन, भिजन र क्यापीसिटी कसले राख्छ भन्नेकुरा बुझेका छन् ।’

हेभिवेट मै हुँ, प्रकाशमानभन्दा कम्ति योगदान छैन !
‘हेभिवेटलाई चुनावमा पल्टाउन त फलामे च्युरा होला नि ?’ पंक्तिकारको प्रश्न भुइँमा खस्न नपाउँदै अनिलले भने, ‘यो क्षेत्रमा हेभिवेट मै हुँ, मेरो राजनैतिक पृष्ठभूमी, मैले सामाजिक क्रान्तिमा गरेको त्याग, तपस्या बलिदानी अथवा लगानी, अरु कोही उम्मेद्वाहरुसँग छ जस्तो मलाई लाग्दैन ।’

प्रकाशमान र रवीन्द्र मिश्रले गरेका सामाजिक कामको तुलनामा आफुले कुनै कमी नगरेको दाबी गर्ने शर्माले बाम गठबन्धनले साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रनु नै ‘हेभिवेट’ भएको बताए ।

‘सामाजिक परिवर्तनको आन्दोनलमा रवीन्द्र मिश्र र प्रकाशमान सिंहले गरेको योगदान भन्दा मैले बढी गरेको छु’ उनी थप्छन्, ‘उमेर धेरै भएर हुन्छ र ? बाम गठबन्धन नै हेभिवेट हो भन्ने ठान्छु ।’

बिजुलीबजारस्थित प्रकाशमान सिंहको सम्पर्क कार्यालय र अनिल शर्माको सम्पर्क कार्यालय बीचको दुरी धेरै लामो छैन् । तर, मैदानमा वारपारको लडाईंमा छन् उनीहरु अहिले ।

आफु बिजयी भएर संसदमा पुगेपछि नयाँ संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा भूमिका खेल्ने योजना बनाएका उनले काठमाडौं विकासका पनि थुप्रै योजना बुनेका छन् ।

‘धुवाँ–धुलोरहित काठमाडौं बनाउने मेरो पहिलोे प्रतिबद्धता हो’ शर्माले भने, ‘तपाईं हामीले खाने फलफुल, तरकारी र अन्न अहिले विषादीयुक्त छ, यसको नियन्त्रण गर्ने र अर्गानिक सेन्टरको निर्माण गर्ने, जहाँबाट परिक्षण गरिएका अन्न, तरकारी र फलफुलहरु बेचिन्छन् । यो मेरो दोस्रो एजेन्डा हो ।’

बागमती र रुद्रमतीलाई शुद्ध र कञ्चन बनाउने सोच पनि उनमा छ । त्यसलाई स्टोरेज गरेर बोटिङ गर्नसक्ने तथा पौडी खेल्न सक्ने गरी विकास गर्ने योजनामा उनी दृढ देखिन्छन् ।

‘बाग्मती र रुद्रमती आसपास पार्क बनाउने, बुढापाका भजन–किर्तन युवा ब्यायाम गर्ने, बच्चा खेल्न सक्ने रमणिय पार्कको रुपमा विकास गर्ने अर्को महत्वपुर्ण एजेन्डा छ’ उनले भने, ‘काठमाडौं–१ लाई एउटा शैक्षिक केन्द्र बनाउन सकिन्छ र लाग्नुपर्दछ, त्यसको पहलकदमी मैले गर्छु ।’

बा–आमालाई घरमै बृद्धभत्ता, घरमै डाक्टर

टोल–टोलमा स्वास्थ्य सेवा दिनका लागि बामगठन्धनको घोषणा पत्रमा उल्लेख भएबमोजिम अनिलले टोल क्लिनिकको निर्माण गर्दै बृद्धभत्ता समेत घरमै लगेर दिने सिस्टमको विकास गर्ने योजना बनाएका छन् ।

‘वृद्ध बाबुआमाको लागि वृद्ध भत्ता मात्रै हैन, वृद्धहरुका घर लिस्टिङ गरेर घरमै नियमित चेकिङ गर्ने सुविधा दिन्छौं’ उनले भने, ‘राज्यले जग्गा खरिद गरेर भएपनि चिल्ड्रेनपार्क, थेरापी पार्क र योगा पार्क निर्माण गरेर कोठाभित्र थुनिएका बच्चा र वुवा–आमालाई फ्रेस हुने ठाउँ उपलब्ध गराउँछौं ।’

सुकुम्बासीवस्ती अप्ठेरो अवस्थामा बसिरहेको छ, उसलाई लालपुर्जाको कागज मात्रै हैन एउटा ब्यवस्थित र आधुनीक बस्तिको आवश्यक छ भन्नेमा अनिल सचेत देखिए । ‘सुकुम्बासीबस्तीलाई रोजगारीसहितको आधुनिकबस्तीको ब्यवस्था गर्नुपर्दछ त्यो जिम्मा राज्यले लिन सक्नुपर्छ’ अनिलले भने, ‘त्यसको लागि पहल गर्ने र लाग्ने मेरो प्रतिबद्धता छ ।’

खानेपानी, ढल र सड्कका असरल्ल तार काठमाडौंको अर्को समस्या हो । यस्ता अब्यवस्थित चिजहरुलाई मास्टर प्लानमार्फत मात्रै हल गर्न सकिन्छ । त्यही मास्टर प्लान बनाउने कुरामा अनिल सहमत छन् । भन्छन्, ‘एउटा गुरुयोजना निर्माण गरेर तारलाई अन्डरग्राउण्ड गर्ने, पानीलाई ब्यवस्थित गर्ने ढललाई सुदृढ गर्ने र सवैतिर धुलोरहित काठमाडौं बनाउँदै सुविधा सम्पन्न आधुनिक शहरको रुपमा काठमाडौँको–१ लाई निर्माण गर्ने मेरो लक्ष्य छ ।’

अर्को चाहीँ, अनिलले स्थानीय क्लबलाई भोट बैंक हैन, सिर्जनात्मक स्थानको रुपमा विकास गर्ने योजना पेश गरेका छन् । ‘विषयगत ढंगले कत्तिपय फिटनेश क्लवको रुपमा, कतिपय फुटसलको, कत्तिपय फुटवल, क्रिकेट अथवा कत्तिपय त्यहाँको आवश्यकता अनुसार विकास गर्नुपर्छ’ उनी भन्छन्, ‘क्लव मार्फत युवाको शारिरीक, मानसिक र विविध प्रतिभा प्रस्फुटन हुने ठाउँ बनाउने मेरो एजेन्डा रहेको छ ।’

सजिलो छैन काङ्ग्रेसको गढ भत्काउन

२०६४ सालमा देशभर माओवादीको लहर आउँदा पनि काठमाडौं–१ का जनताले लौहपुरुष गणेशमान पुत्र प्रकाशमानलाई जिताए । २०७० सालमा पनि सोही क्षेत्रबाट गणेशमानले जितेको हुनाले धेरैले यो क्षेत्रलाई काङ्ग्रेसको गढको रुपमा ब्याख्या गरेका छन् ।

जननेता मदन भण्डारी र विद्या भण्डारीले जित्दा यो क्षेत्रलाई धेरैले ‘कम्युनिष्ट किल्ला’ भनेर ब्याख्या पनि गर्ने गर्थे ।

‘काङ्ग्रेसको गढलाई कसरी भत्काउनु हुन्छ ?’ शर्माले भने, ‘कसैले लात हानेर भन्दा पनि एजेन्डाले भत्काउने कुरा हो, काठमाडौं बासीले स्थिरता चाहेका छन्, अबको स्थिरता भनेको बाम गठबन्धन सँग छ ।’

विगत कालमा एमालेको कार्यकालमा शुरु भएको सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ आफैं बनाऔं भन्ने कार्यक्रम, माओवादीको सरकारको समयमा शुरु भएको बाटो फराकिलो बनाउने कार्य जस्ता कार्यले गढ भत्काउन सहयोग उनिलको विश्वास छ ।

अनिलले भने, ‘अन्धकारमा डुबेको काठमाडौंलाई लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपालको शुरुवात गरिएको छ । त्यसको जगमा ठुलो आर्थिक वृद्धि डबल आर्थिक वृद्धिदरको संकेत गरिएको कुरा यहाँका सचेत र बौद्धिक मतदाताले बुझेका छन् ।’

‘यो संवृद्धिको गढ हो, परिवतर्न र प्रगति चाहनेकोे गढ हो, अरु कसैको हैन’ उनले भने, ‘यो क्षेत्र अरु कसैको बिर्ता हैन, जो दाईजो र पुस्तेनी सम्पतिको रुपमा हामीले ग्रहण गर्ने हो ।’

मनोनयन दर्ता गरेको भोलिपल्टदेखि घरदैलो, सभा र चुनावी जमघटमा ब्यस्त रहेका शर्मा काठमाडौं–१ का जनता उत्साहित रहेको बताउँछन् । ‘हाम्रो गठबन्धनले सार्वजनिक गरेको घोषणापत्र र कार्यत्रमले उनीहरुमा अर्को उत्साह थपेको छ’ उनले भने, ‘त्यसलाई लागु गर्न सक्ने तन्नेरी युवा ब्यक्ति यहाँ आएको छ भनेर झनै् उत्साहित र खुसी भएको मैले पाएको छु ।’

दायाँ हातमा हँसिया–हथौडा, बायाँ हातमा सूर्य !
अनिलको अहिलेसम्मको राजनीतिक जीवन हँसिया हथौडा अंकित भण्डामुनि बित्यो । अहिले काठमाडौं–१ मा को चुनावी माहोल हेर्न जाने हो भने, त्यहाँ सूर्य र हँसिया हथौडा प्रिन्टेड झण्डा एउटै पोलमा टाँगीएका भेटिन्छन् ।

‘दायाँ हातमा हँसिया–हथौडा बाँयाँ हातमा सूर्यचिन्ह बोक्दा कस्तो फिल हुँदैछ ?’ उनले भने, ‘खुसी लागेको छ, हामीले यी दुई झण्डा एउटा बनाउन खोजिरहेका छौं ।’

नेपाली कम्युनिष्ट आन्दोलनमा क्यान्सर जस्तै बनेको छ, टुटफुट । यस्तोमा बामगठबन्धन ती नेता कार्यकर्ताका लागि खुसीको कुरा होला ।

‘संवृद्धि, देशको सम्पन्नता, विकास बाहेक अरु सवै कुरा भ्रम हो’ अनिल भन्छन्, ‘ अहिले गोलाकार भित्रको हँसिया हथौडा र सूर्यचिन्ह, चुनावी चिन्ह मात्र होइनन् । यी त संवृद्धिका प्रतिक बनेका छन् । यसैले दुईओटा झण्डा बोक्दा कुनै हिनताबोध र लघुताभाष हुनुपर्ने कारण छैन । यसले हामीलाई उत्साहित बनाएको छ ।’

जनार्दन शर्मा उर्जा मन्त्री हुँदा अनिल मन्त्रीका स्वकीय सचिव थिए । जनार्दनकै पाला काठमाडौं लोडसेडिङमुक्त भयो । यो लोडसेडिङमुक्त मन्त्रीको सपना पूरा गर्न पर्दा पछाडि बसेर अनिलले काम गरेका थिए ।

काठमाडौंका अस्थित मतादातामाथि अनिलको ध्यान रहेछ । भन्छन्, ‘काठमाडौंमा मतदाता अस्थिर मानिन्छन् । कृष्णप्रसाद भट्टराईलाई हराउन सक्ने काठमाडौंले प्रकाशमानलाई हराउन पनि सक्छ । नानीमैयालाई जिताउन सक्ने काठमाडौंले अनिल शर्मालाई किन सक्दैन ।’ रातोपाटी

(Tramadol)

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Shyam Shubham Giri

    कता को राजाराम कता को…..?

    Comment Author

    Narbahadur Gharti

    यो जनता मारालाई भण्डारी जस्तो नेतासंग तुलना गर्नु भन्दा पचास पटक सोच्नु पर्थ्यो

    Comment Author

    Madhabprasad Karki

    Taraju

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?