कारोबार रकम र नेप्से दुवै घट्यो
सारांश
- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य घटेको छ ।
- नेप्से सामान्य घटे पनि अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम भने ४१ दशमलव १६ प्रतिशत घटेको छ ।
- विश्व सेयर बजारले नयाँ उचाइ कायम गरिरहेको अवस्थामा नेपाली सेयर बजार भने ओरालो लाग्ने क्रममा रहेको छ ।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य घटेको छ । नेप्से सामान्य घटे पनि अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम भने ४१ दशमलव १६ प्रतिशत घटेको छ । विश्व सेयर बजारले नयाँ उचाइ कायम गरिरहेको अवस्थामा नेपाली सेयर बजार भने ओरालो लाग्ने क्रममा रहेको छ ।
सफलतापूर्वक सम्पन्न भएको निर्वाचन र सोको परिणामले लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन् । अब आउने नयाँ सरकारले सेयर बजारमा प्रभाव पार्ने कस्ता नीति ल्याउने हो भन्ने पर्खाइमा लगानीकर्ता रहेका देखिन्छन् । अब बन्ने वाम गठबन्धनको सरकारले लगानीमैत्री वातावरण र आर्थिक समृद्धिका विषयलाई प्राथमिकता दिने लगानीकर्ताले अपेक्षा गरेका छन् । बजार खुलेको आधा घन्टा अवधिपछि ओरालो लाग्न थालेको नेप्से मध्याह्नपछि भने केही सुधार देखिएको थियो । नेप्से अघिल्लो दिनको तुलनामा २ दशमलव ७४ अंक घटेर १ हजार ५ सय २७ दशमलव ७५ बिन्दुमा पुगेर बन्द भएको छ ।
‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ६९ अंक घटेर ३ सय २१ दशमलव ९३ बिन्दुमा पुगेको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ५४ दशमलव ५९ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । यस दिन १ सय ५७ कम्पनीको ४ हजार १ सय १ पटकको कारोबारमा रु। ४६ करोड ४५ लाख ५० हजार ६ सय १८ बराबरको ८ लाख ५६ हजार १ सय १८ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
सोमबार पनि स्ट्यान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै रकमबराबरको सेयर खरिद–बिक्री भएको छ । यस दिन सो वाणिज्य बैंकको रु। ६ करोड ६ लाखभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । एक सय प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको कारण यस बैंकको सेयर खरिद चाप बढेको हो । एभरेष्ट बैंकको परिवर्तीय अग्राधिकार सेयरको मूल्य यस दिन सर्वाधिक ७ दशमलव ४७ प्रतिशत बढेको छ ।
नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य भने यस दिन करिब ६ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ५७ कम्पनीमध्ये ५२ कम्पनीको सेयरमूल्य बढेको छ भने ८२ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २३ कम्पनीको सेयरमूल्य भने यस दिन स्थिर रहेको छ ।
यस दिन कारोबारमा आएका ‘अन्य’ र उत्पादनमूलक समूहका परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव १ प्रतिशत बढेको छ भने उत्पादनमूलक समूहको शून्य दशमलव शून्य २ प्रतिशत बढेको छ । कारोबारमा आएको ट्रेडिङ समूहको परिसूचक १ दशमलव ११ प्रतिशत घटेको छ ।
त्यसैगरी, विकास बैंक समूहको परिसूचक शून्य दशमलव ५१ प्रतिशत, बिमा समूहको शून्य दशमलव ३३ प्रतिशत, होटेल समूहको शून्य दशमलव ३२ प्रतिशत, माइक्रोफाइनान्स समूहको शून्य दशमलव २९ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव १५ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव १४ प्रतिशत र वित्त समूहको शून्य दशमलव १२ प्रतिशत घटेको छ ।
प्रतिक्रिया