खुश्बुले बुझाईन प्रचण्डलाई ज्ञापनपत्र, ‘क’ देखि ‘ज्ञ’ सम्म सिकाउन माग
सारांश
- काठमाडौं, माघ ३ ।
- आश्रय सेल्टर नेपालकी अध्यक्ष खुश्बु ओलीले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएकी छन् ।
- ओलीले हालै प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै नेपालमा बालबालिकाको स्थिति अत्यन्तै कमजोर रहेकाले पर्याप्त बजेट र कार्यक्रम बनाउन माग गरेकी हुन ।
काठमाडौं, माघ ३ । आश्रय सेल्टर नेपालकी अध्यक्ष खुश्बु ओलीले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएकी छन् । ओलीले हालै प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै नेपालमा बालबालिकाको स्थिति अत्यन्तै कमजोर रहेकाले पर्याप्त बजेट र कार्यक्रम बनाउन माग गरेकी हुन ।
‘बालबालिका भविष्यका कर्णदार हुन्, भविष्यका राष्ट्रका नेतृत्वकर्ता हुन्, तर, लाखौं बालबालिकाले अहिले पनि भविष्य निर्माण गर्ने विद्यालयको ढोका देख्न नै पाएका छैनन् । कतिपय बालबालिकालाई ‘क’ देखि ‘ज्ञ’ सम्म लेख्न पनि आउँदैन । माघको जाडोमा धेरै बालबालिका खाली पेट सडको पेटीमा सुतिरहेको देखिन्छ’, ज्ञापन पत्रमा भनिएको छ – ‘अनेक समस्या र बाध्यताका बीच बालबालिकाहरु सडकमा बस्न र पढ्ने उमेरमा मागेर दैनिकी चलाउन बाध्य छन् ।
यो परिवेशको अन्त्य गर्न नै सेल्टर आश्रय नेपालको स्थापना गरिएको हो । सामाजिक सेवाको क्षेत्रमा कार्य गर्ने मुख्य लक्ष्य बनाएको संस्थाले सडकमा रहेका बालबालिकालाई सुन्दर भविष्य प्रदान गर्ने कोसिस गरिरहेको छ । तर, हाम्रो लक्ष्यमा केही अवरोध र चुनौतीहरु देखा परेका छन् । बालबालिकालाई मजदूरको रुपमा प्रयोग भइरहेको अवस्था छ ।’
मानव बेचबिखन, यौनशोषण लगायतका हिंसामा बालबालिकाको प्रयोग रोक्नका निम्ति सीमित कार्यक्रम बनेपनि त्यसको व्यावहारिक कार्यान्वयन हुनै नसकेको बताउँदै नेपालमा सडक, अनाथ तथा असहाय बालबालिकालाई संरक्षण र उचित शिक्षादिक्षाको प्रबन्ध गर्ने कार्य लक्ष्य अनुसार अघि बढ्न नसकेको अध्यक्ष ओलीले जनाएकी छिन् ।
‘नेपाल प्राकृतिक, सांस्कृतिक र अनेक आयामले धनी देश हो । तर, आर्थिक विपन्नताको अन्त्य हुने स्थिति अझै बनि सकेको छैन’, ज्ञापन पत्रमा भनिएको छ – ‘अध्यक्ष कामरेड, तपाईले नै नेतृत्व गर्नु भएको १० वर्षे जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनपछि संविधान निर्माणसँगै मुलुक आर्थिक समृद्धि र विकासतर्फ अघि बढिरहेको अवस्थामा सडकमा रहेका बालबालिकाको सुन्दर भविष्यका लागि तपाई र तपाईको पार्टी नेकपा माओवादी केन्द्रको पनि योगदान रहन्छ भन्ने हाम्रो अपेक्षा छ ।’
स्कूल जाने उमेरका स–साना बालबालिकाहरु सडकमा बटुको बोकेर माग्न उभिने स्थिति रहेसम्म देशको उन्नति हुन नसक्ने ओलीको धारणा छ । ‘त्यसैले सडक बालबालिकाको व्यवस्थापन पनि आवश्यक छ भन्ने हाम्रो धारणा हो । यही लक्ष्यका साथ सेल्टर आश्रय नेपालले सन् २०१८ मा रुसमा हुने फिफा विश्वकपभन्दा अगाडि (सन् २०१८ को मे १९ देखि २७ तारिखसम्म) आयोजना हुन लागेको सडक तथा असहाय बालबालिकाका निम्ति विश्वकप फुटबल मा नेपालको सहभागिता सुनिश्चित गरेको हो ।’
ज्ञापन पत्रमा भनिएको छ – ‘यो विश्वकपमा २२ देशबाट २४ टिमको सहभागिता रहनेछ । जसमा छात्र र छात्रामा समान १२/१२ टिम छन् । नेपालले पहिलो पटक छात्र टिममा भाग लिन लागेको हो। आगामी विश्वकपमा छात्रालाई पनि सहभागी गराउने हाम्रो लक्ष्य छ।’
यो विश्वकपको नारा ‘हरेक अनाथ, असहाय तथा सडक बालबालिकाले जन्मदर्ताको अधिकार पाउनु पर्छ’ रहेको ज्ञापन पत्रमा जनाइएको छ। ‘तर, हाम्रै संस्थामा रहेका धेरै बालबालिका अहिले पनि पहिचानविहीन छन् । संयुक्त राष्ट्र संघले अगाडि सारेको यो नाराको नेपालमा पनि कार्यान्वयन हुनसके विश्वकै लागि उदाहरणीय कार्य हुने थियो । र, असहाय तथा पहिचानविहीन बालबालिकालाई विश्व फुटबलको अनुभवसँगै आत्मविश्वास बृद्धि हुन गई राष्ट्र निर्माणमा योगदान दिन सक्ने थिए भन्ने हाम्रो विश्वास हो ।’
ज्ञापन पत्रमा भनिएको छ – ‘तर, राष्ट्रको प्रतिनिधित्व गर्दै जाने खेलाडीको समेत जन्मदर्ता र नाबालक परिचयपत्र नहुनु आफैँमा गम्भीर छ । त्यसमाथि बालबालिकाको संरक्षणको क्षेत्रमा क्रियाशील संस्था मात्रै होइन, बालकल्याण समिति तथा अन्य संघ–संस्थाहरु बजेट अभावकै कारण काम गर्ने सक्ने अवस्थामा छैनन् । त्यसैले अब बन्ने सरकारले मुख्यतः सडक बालबालिकाका लागि जन्मदर्ता, नाबालक परिचयपत्र र ती बालबालिकाको व्यवस्थापनका लागि यथेष्ट बजेट विनियोजन गर्नेमा हाम्रो संस्था विश्वस्त छ ।’
सेल्टर आश्रय नेपालले बालबालिकालाई खेलकुदको माध्यमबाट सशक्तिकरण गर्ने लक्ष्य राखेको जनाउँदै ज्ञापनपत्रमा बालबालिका खेल्नका बढी रुची राख्ने भएकाले पनि उनीहरुको मानसिकतालाई बदल्नका लागि खेलकुदलाई प्राथमिकता दिइएको उल्लेख छ ।
‘त्यसैले सेल्टर आश्रय नेपालको पहलमा हाम्रो राष्ट्र टोलीले उल्लेखित विश्वकपमा पहिलो पटक सहभागिता जनाउने अवसर पाएको हो’, अध्यक्ष ओलीले ज्ञापन पत्रमा भनेकी छिन् – ‘यही सन्दर्भमा सेल्टर आश्रय नेपालले सडक बालबालिकाका लागि खेलकुद एकाडेमी निर्माण गर्ने अठोट लिएको छ । यसमा राज्यको तर्फबाट र अब बन्ने वामपन्थी सरकारबाट पूर्ण सहयोगको अपेक्षा गरिएको छ ।’ जवाफमा अध्यक्ष प्रचण्डले आफूले हरसम्भव कोसिस गर्ने बताएका छन् ।
प्रतिक्रिया