गाउँमा रमाउँदै कांग्रेस, दलितलाई ब्राम्हणको घरमा भित्राइँदै, मठमन्दिरमा सामूहिक पूजाआजा
सारांश
- गुल्मी, २ जेठ ।
- चुनावमा ठूलो पराजयको सामना गर्नुपरेपछि नेपाली कांग्रेस यतिबेला गाउँतिर फर्किएको छ ।
- नेपाली कांग्रेस गुल्मीले नयाँ वर्ष २०७५ बैशाख १ गतेबाट सुरु गरेको “गाउँ जाउँ, गाउँ मै रमाऔं” नारासहितको ५० दिने महाअभियानको पहिलो चरणको ३ हप्ते कार्यक्रम सम्पन्न गरेको छ ।
गुल्मी, २ जेठ । चुनावमा ठूलो पराजयको सामना गर्नुपरेपछि नेपाली कांग्रेस यतिबेला गाउँतिर फर्किएको छ । नेपाली कांग्रेस गुल्मीले नयाँ वर्ष २०७५ बैशाख १ गतेबाट सुरु गरेको “गाउँ जाउँ, गाउँ मै रमाऔं” नारासहितको ५० दिने महाअभियानको पहिलो चरणको ३ हप्ते कार्यक्रम सम्पन्न गरेको छ ।
पहिलो चरणको अभियानले सकारात्मक सन्देश दिन सफल भएको गुल्मी कांग्रेसको निष्कर्ष रहेको छ । जिल्लाका ९३ वटै वडामा पुगेका कांग्रेसका जिल्ला प्रतिनिधिहरु दलित र जनजाति समुदायको घरमा बस्ने, खाने र त्यहींबाट अभियान सञ्चालन गरेका थिए । दोस्रो चरणमा चाहिँ दलितलाई ब्राम्हणको घरमा प्रवेश गराएरै अगाडि बढ्ने बताएको छ । दोस्रो चरणको अभियानमा ९३ वटै वडामा ब्राम्हण, क्षेत्री र जनजाति समुदायको घरमा दलित समुदायलाई प्रवेश गराउने निर्णय गुल्मी कांग्रेसले गरेको छ ।
पूर्वनिर्धारित ७ हप्ते अभियानमा ३ हप्ताको अभियान सकेर चौथो हप्तामा जिल्ला कार्यसमितिले आयोजना गरेको समीक्षा बैठकले यस्तो निर्णय गरेको जिल्ला पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिए । सचिव पन्थीले भने, “पहिलो चरणमा दलित र गरिवीको नजिक पुगेर उनीहरुसँग हेलमेल गर्दै अध्ययन ग¥यौं । सामाजिक कुरीति र विभेदको कसरी अन्त्य गर्न सकिन्छ ? भनेर बैठकमा समीक्षा पनि गरेका छौं । हामी व्यहारतः पहिलो चरणमा दलितको घरमा व्राम्हण क्षेत्री, जनजातिहरु बस्यौं र खायौं । अबको अभियानमा तिनै व्राम्हण क्षेत्री लगायतको समुदायको घरमा दलितलाई प्रवेश गराउँदैछौं ।”
सचिव पन्थीले अझै पनि समाजका सार्वजनिक मठ–मन्दिरमा दलितहरुलाई प्रवेश नगराइएको बताउँदै भने, “अब हामी ती मठ–मन्दिरभित्र पनि दलितहरुलाई प्रवेश गराई सबै जातजातिले सामूहिकरुपमा पूजापाठ समेत गराउँदै छौं ।” पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले यस कार्यलाई सघाउ नपुराउने अर्थात दलितहरुलाई विभेदकै नजरले हेर्ने कार्यकर्ताको पार्टी सदस्यता नै खारेज गरिने र त्यस्ता मानसिकता भएका नागरिकलाई पार्टी सदस्यता नै नदिने चेतावानी दिएका छन् ।
“हामी राजनीतिक फाइदाका लागि होइन, सामाजिक सुधारको अभियान लिएर अगाडि बढेका हौं सभापति श्रेष्ठले भने, “यो चुनौतीपूर्ण पक्कै हो तर पनि समाज सुधारका लागि कसै न कसैले चुनौती मोल्नै पर्छ । जसलाई हामी अवसरका रुपमा लिएका छौं ।” सभापित श्रेष्ठले गाउँ टोलको नाम समेत दलित समुदायको उपहास गर्ने गरी नामकरण गरिएको आफूहरुले पाएको बताए । उनले थपे “कतै कामी टोल, कतै दमै र सार्की टोल त कतै धोवी र कुमाल जस्ता नामकरण गरेर उपहास गरिएको छ । अब हामी ती गाउँ टोलको नाम समेत फेर्ने अभियानमा छौं ।”
Bhakta Bdr Sodari
Kam Gar kangress Aaba