जापानले २ घन्टा समय बढाउने
सारांश
- जापानमा यसपटकको गर्मीले हालसम्म एक सय २० जनाको ज्यान लिइसकेको छ ।
- यस्तोमा एकवर्षपछि यसै समय सुरु हुने ०२० टोकियो ओलम्पिकमा खेलाडीहरूलाई अत्यधिक तापक्रमबाट बचाउन जापानी सरकारले समय परिवर्तन गर्ने योजना बनाइरहेको बताएको छ ।
- यसअन्तर्गत घडिलाई हालको भन्दा दुई घन्टाले छिटो बनाइने प्रस्ताव अघि ल्याइएको बताइएको छ ।
जापानमा यसपटकको गर्मीले हालसम्म एक सय २० जनाको ज्यान लिइसकेको छ । यस्तोमा एकवर्षपछि यसै समय सुरु हुने ०२० टोकियो ओलम्पिकमा खेलाडीहरूलाई अत्यधिक तापक्रमबाट बचाउन जापानी सरकारले समय परिवर्तन गर्ने योजना बनाइरहेको बताएको छ । यसअन्तर्गत घडिलाई हालको भन्दा दुई घन्टाले छिटो बनाइने प्रस्ताव अघि ल्याइएको बताइएको छ ।
यसो गर्नाले खेलाडीहरूले बिहानको शीतलमै खेल्न पाउने विश्वास गरिएको छ । तर, अझै पनि यो मुद्दा निश्चित भइसकेको छैन भने प्रमुख विपक्षी पार्टीले पनि सो प्रस्ताव अस्वीकार गरिरहेको छ । उता सामाजिक सञ्जालमा पनि सर्वसाधारणले यसले काम गर्ने समयलाई लम्ब्याइदिने भन्दै विरोध जनाइरहेका छन् । गर्मी र ताप लहरले खेलाडीहरूको ज्यानसमेत लिन सक्ने खतरा देखिएपछि यसअघि ओलम्पिक आयोजक समूहले प्रधानमन्त्री सिन्जो आबेसँगै भेट गरी यस्तो सुझाव दिएको थियो । त्यसैले दिउँसोको समयलाई कम गराउन सरकारले यस्तो उपाय अपनाउन लागेको बताइएको छ ।
यसका साथै सरकारले हरियाली थप गर्ने र गर्मी अवरोधक फुटपाथ पनि निर्माण गर्ने योजना बनाएको प्रमुख क्याबिनेट सचिव योसहिहिदे सुगाले बताएका हुन् । २०२० को ओलम्पिक खेल जुलाई र अगस्टका बीच सुरु हुने तय भइसकेको छ जसलाई सबैभन्दा गर्मी हुने समय मानिन्छ ।
तर, अर्कोतर्फ टोकियो भ्रमणमा आउने विदेशीहरूका लागि भने यो प्रक्रिया निकै अनौठो हुनेछ र कति पर्यटकका लागि समस्यासमेत बन्न सक्ने बताइएको हो । कुनै पनि व्यक्ति बिहान ४ बजे उठ्दासमेत बाहिर घाम लागिरहेको हुने हुँदा जोकोही पनि आश्चर्यमा पर्नेछ । अहिलेको अवस्थामा बिहानको १० बजेदेखि नै त्यहाँको तापक्रम ३० डिग्री नाघ्न सुरु गर्ने गरेको छ ।
यसै कारण जापानी सरकारले यो उपायको परीक्षण गर्न अर्को वर्ष जुन र अगस्टका बीच दुई घण्टाले समय बढाउने बताएको हो । जसपछि ओलम्पिकका लागि पनि उपयुक्त निर्णय लिन सहज हुने बताइएको छ । तर, यसले साँच्चिकै सर्वसाधारणमा भने गम्भीर प्रभाव पार्ने हुँदा धेरै विचार पुर्याएर मात्र निर्णय गर्न मिल्ने बताइएको हो ।
किनकी जापानले यसअघि पनि सो तरिका अपनाइसकेको छ । त्यसवेला कामदारहरूले अबेरसम्म घाम लागिरहँदा कम्पनीले लामो समय काम लगाएर राख्ने गरेको गुनासो गरेका थिए । (बिबिसी )
प्रतिक्रिया